आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सेटिङमा टेन्डर दिलाउने गाउँपालिका पूर्व अध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

शुक्रबार, २० असार २०८२, १६ : ५७
शुक्रबार, २० असार २०८२

काठमाडौँ । धनुषाको धनौजी गाउँपालिकाका पूर्व अध्यक्ष बद्रीनारायण सिंहसहित ९ जनाविरूद्ध मुद्दा दायर गरिएको छ ।

नाला निर्माण र फोहोरमैला व्यवस्थापनका नाममा एकै निर्माण व्यवसायीको नाममा सेटिङमा तीन कम्पनीबाट टेन्डर भर्न लगाइ कमिसन लिएको आरोपमा शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहसहित उपाध्यक्ष रामवती देवी मण्डल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर मण्डल र सावनकुमार चौधरीसहित कन्स्ट्रक्सन प्रालिसमेत ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा बजार नाला तथा फोहरमैला व्यवस्थापन शीर्षकबाट बिना कुनै निर्णय बजार सेड निर्माण कार्यमा गोप्य रूपमा एउटै निर्माण व्यवसायीबाट तीन वटा निर्माण व्यवसायीको नामले टेन्डर भर्न लगाइ कमिसन लिई बिना प्रतिस्पर्धा एक रुपैयाँको मात्रै फरक पारी एकता सप्लाईसँग मिलेमतोमा गुणस्तरहीन बजार सेड निर्माण गरिएको आरोप अख्तियारको छ ।काम भन्दा बढी नापी किताब तयार गरी भुक्तानी दिई बजेट रकम हिनामिना गरेको आरोपपत्रमा दाबी गरिएको छ ।

गाउँपालिकाबाट नाला निर्माणमा ५० लाख र फोहोरमैला व्यवस्थापनमा ४२ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।  तीन वटा कम्पनीले पेस गरेको दररेटमा सिमेन्ट स्यान्ड आइटमबाहेक सबै आईटमको दररेट एउटै पेस भएको थियो । 

सेटिङमा टेन्डर दिलाइ ३१ लाख ३४ हजार रुपैयाँ बराबरको सरकारी सम्पत्ति हिनामिना तथा हानीनोक्सानी गरेको अख्तियारको आरोपपत्रमा उल्लेख गरिएको छ ।

अख्तियारले गाउँपालिका पूर्व अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित सब इन्जिनियर छोटे मण्डल, नासु नरेशकुमार मण्डल, लेखापाल राधेश्याम राय, सहलेखापाल विनोदकुमार मण्डल, एकता कन्स्ट्रक्सन र उक्त कम्पनीका इन्द्रेशकुमार सिहंलाई प्रतिवादी बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप