आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
काममा लापरबाही

त्रिवि क्रिकेट मैदान : जरिवाना तिर्दै काम गर्दै ठेकेदार कम्पनी

दैनिक २ लाख बढी जरिवाना
बुधबार, ३२ असार २०८२, १४ : २२
बुधबार, ३२ असार २०८२

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट जडान गर्ने काम नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना तिराइएको छ । तोकिएको मितिमा काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीलाई पूर्ववत् सम्झौताअनुसार जरिवाना तिराइएको हो । 

सम्झौताअनुसार योजनाको कुल रकमको शून्य दशमलव शून्य ५ प्रतिशत दैनिक जरिवाना तिर्नुपर्नेछ । जुन करिब दैनिक २ लाखभन्दा बढी हुने शहरी विकास मन्त्रालयले जनाएको छ । 

मैदानको प्यारापिट बनाउन बीकेओआई केसीडीसी बीजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले फागुन १९ र २२ गते मन्त्रालय मातहतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय सानो गौचरनसँग सम्झौता गरेका थिए ।

प्यारापिट बनाउन ४९ करोड २५ लाख रुपैयाँ र फ्लडलाइट जडानका लागि ४७ करोड ३७ लाख रुपैयाँमा सम्झौता भएको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ । 

कार्यालयका प्रमुख चक्रवर्ती कण्ठले असारर ३० गते नै ठेकेदार कम्पनीलाई निर्धारित समयमा काम नसकेपछि जरिवाना लाग्ने जानकारी गराइसकिएको बताए । 

‘असार ३० गते नै निर्माण कम्पनीहरूलाई पूर्वनिर्धारित क्षतिपूर्ति (जरिवाना)बारे जानकारी गराइसकेका छौँ । मंगलबार देखि उहाँहरू दैनिक जरिवाना तिरेर काम गरिरहनुभएको छ । अब काम नसक्दासम्म दैनिक जरिवाना लाग्नेछ,’ उनले भने ।

यसरी जरिवाना तिरेर बढीमा २ सय दिनसम्म अर्थात आयोजनको कूल रकमको १० प्रतिशत जरिवाना हुने अवधिसम्म काम गर्न पाइने कानुनी व्यवस्था रहेको पनि उनले बताए । सो अवधिमा पनि काम नसके निर्माण कम्पनीलाई कालोसूचीमा राखिने व्यवस्था छ । 

तर, निर्माण कम्पनीले १ महिनामा काम सक्ने प्रतिबद्धता जनाएको छ ।  ४ हजार कुर्सी फिटिङ भइसकेको छ भने ६ वटा फ्लडलाइटमध्ये ३ वटा पोल आइसकेको छ ।

प्यारापिटतर्फ वित्तीय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७७ प्रतिशत भएको छ भने फ्लडलाइट जडानतर्फ २९ प्रतिशत वित्तीय प्रगति र ४५ प्रतिशत भौतिक प्रगति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप