आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

शनिबार, ०३ साउन २०८२, १८ : ४३
शनिबार, ०३ साउन २०८२

काठमाडौं, साउन ३ — मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्।

  • हुम्ला — सिमकोट गाउँपालिका–१ बैजीबाडास्थित सडक खण्डमा दोजामबाट खार्पुनाथतर्फ जाँदै गरेको क.प्र.०२–००१ त ३५३ नम्बरको ट्याक्टर शुक्रबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार खार्पुनाथ गाउँपालिका–२ का २८ वर्षीय मिलन बोहोराको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनलाई जिल्ला अस्पताल हुम्ला ल्याइएको थियो जहाँ उपचारको क्रममा मृत्यु भयो। उक्त दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्, जसमध्ये ८ जनाको हुम्लामै र ४ जनालाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ।
  • दाङ — गढवा गाउँपालिका–२ महादेवा पुलस्थित सडकमा गोबरडिहाबाट सिसहनिया जाँदै गरेको रा.२ प ६२६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा राप्ती गाउँपालिका–३ मसुरिया बस्ने ४३ वर्षीय खेम बहादुर पुनको मृत्यु भएको छ। उनको लमही अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
  • रूपन्देही — लुम्बिनी साँस्कृतिक नगरपालिका–१ भगवानपुरमा युपी ५५ एबी ३६६७ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा कपिलवस्तु शुद्धोधन गाउँपालिका–५ का १४ वर्षीय गोबिन्द शुक्ला (राहुल पण्डित) को मृत्यु भएको हो। उनी सिटि अस्पताल भैरहवामा उपचारका क्रममा ज्यान गुमाएका हुन्। दुर्घटनामा घाइते भएका दुई जना साइकल यात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • त्यसैगरी, रूपन्देहीकै मायादेवी गाउँपालिका–६ वेथरी पुलमा लु.८३ प ७६६७ नम्बरको मोटरसाइकललाई बा.१७ च ५८९९ नम्बरको स्कारपियोले ठक्कर दिँदा सम्मरीमाई गाउँपालिका–६ की २० वर्षीया सिमा प्रजापती कहारको मृत्यु भएको छ। उनको भैरहवाको मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • रौतहट — गरुडा नगरपालिका–८ जिगडियामा बीआर ३० यू ४४१४ नम्बरको मोटरसाइकललाई ना.५ च १५८ नम्बरको पिकअपले ठक्कर दिँदा माधवनारायण नगरपालिका–३ निवासी ४० वर्षीय दिनानाथ साहको मृत्यु भएको छ। उनको बेटर नेपाल हस्पिटलमा उपचारको क्रममा ज्यान गएको हो। दुर्घटनामा घाइते अर्का मोटरसाइकल यात्रीको अनामिका अस्पतालमा उपचार भइरहेको छ। घटनापछि फरार रहेका पिकअप चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सवारी दुर्घटनासम्बन्धी घटनामा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप