‘राम्रो कलाकार बनेर दर्शकको मनमा बस्नु छ’
सारांश
- सनिशा भट्टराईले फिल्म '१२ गाउँ' बाट नेपाली रजतपटमा डेब्यु गरिन् र रातारात चर्चा पाइन्।
- उनले फिल्म क्षेत्रमा प्रवेश गर्दाको अनुभव र चुनौतीबारे कुरा गरिन्, जसमा उनले संघर्ष र प्रतिस्पर्धाको कुरा गरिन्।
- भट्टराईले आफ्नो लक्ष्य राम्रो कलाकार बन्ने र दर्शकको मनमा बस्ने बताएकी छिन्।
सनिशा भट्टराई गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’बाट नेपाली रजतपटमा डेब्यु गरेकी अभिनेत्री हुन् । म्युजिक भिडियो हुँदै फिल्ममा भित्रिएकी उनको डेब्यु फिल्म हिट भयो । उनी रातारात ‘स्टार’ बनिन् । त्यसो त ‘१२ गाउँ’मा उनको भूमिका छोटो तर सशक्त थियो । जसलाई दर्शकले रुचाए ।
फिल्मी पारिवारिक पृष्ठभूमि बाहिरकी उनी रहर र लगावले यो क्षेत्रमा होमिएकी हुन् । ‘१२ गाउँ’ लगत्तै उनी ‘नरसिंहाः अवतार’मा अभिनय गर्न सफल रहिन् । यतिवेला उनी केही फिल्मको स्क्रिप्ट अध्ययन गरिरहेकी छन् । डेब्यु फिल्मबाटै सफलता र चर्चा पाउन सफल उनी डेब्युअघि भन्दा अहिले बढी चुनौती महसुस गरिरहेकी छन् । फिल्म डेब्यु र त्यसपछिको चुनौती विषयमा नवअभिनेत्री भट्टराईलाई रातोपाटीले राखेका केही प्रश्न यस्ता छन्ः
- समाजमा डाक्टर, इन्जिनियर, पाइलट लगायत पेसा प्रतिष्ठित मानिन्छ । मानिसहरू यही पेसामा आउन खोज्छन् । तपाईंले किन फिल्म रोज्नुभयो ?
– मलाई त यो क्षेत्र रहरले नै तानेको हो । सुरुमा अभिनेत्री नै बन्छु भन्ने सोच त थिएन, पढ्दै थिएँ । एउटा गीतमा अभिनय गर्ने अवसर मिल्यो । त्यसलगत्तै फिल्म ‘१२ गाउँ’को अफर आयो । यो फिल्मको चर्चा र सफलताले फिल्मबाट अझ राम्रो हुने देखेर यसमै होमिएँ ।
पहिलो फिल्म नै चल्यो । पहिलो फिल्ममा सबै जनाले रुचाइसकेपछि मलाई यही क्षेत्रमा केही राम्रो गर्न सक्छु भन्ने लाग्यो । एक किसिमले भन्ने हो भने मलाई यसको लत लागे जस्तो भयो । दुई फिल्म गर्दा त धेरै राम्रो गर्न सक्छु भन्ने लागेर आयो । यो मेरो आफ्नो रोजाइ हो । अहिले म यो क्षेत्रमा रमाइरहेकी छु, मेरो परिवारलाई खुसी मिलेको छ भने मैले यही नै गर्नुपर्यो नि !
_9wXNG7xoED.jpg)
- त्यो हो भने कुनै फिल्म, कलाकार वा रोल मोडलबाट प्रेरित हुनुभएको होइन ?
– त्यस्तो ठ्याक्कै त होइन । बच्चादेखि नै फिल्महरू हेर्दै हुर्किएकी हुँ । कलाकारहरूलाई पर्दामा देख्दा ‘म पनि त्यहाँ पुग्न पाए हुन्थ्यो’ भन्ने एक किसिमको भावना सानैदेखि मनमा हुन्थ्यो । मलाई नाच्न–गाउनमा सानैदेखि रुचि थियो । मनोरञ्जनको क्षेत्रमा अलि सक्रिय भएको हिसाबले पनि कताकता फिल्मको लोभ लुकेको रहेछ । सबै कलाकारहरूबाट केही न केही प्रेरणा त मिलिरहेकै हुन्छ ।
- भित्रिनु पहिले बाहिरबाट हेर्दा फिल्म क्षेत्र कस्तो लाग्थ्यो ? भित्रिएपछि कस्तो पाउनुभयो ?
– बाहिरबाट हेर्दा राम्रै लाग्थ्यो । यसको चर्चा देख्दा त ‘कस्तो होला है !’ भन्ने कौतुहलता हुन्थ्यो । तर पनि समाजमा यो क्षेत्रबारे खासै राम्रो धारणा थिएन । विभिन्न नकारात्मक टीकाटिप्पणी हुन्थे । त्यसले यो क्षेत्र राम्रो नराम्रो केही मूल्याङ्कन गर्न सकेकी थिइनँ । जब फिल्ममा भित्रिएँ, बाहिरको हल्ला मिथ्या लाग्यो । सबै कुरा आफूमा भर पर्ने रहेछ । जसरी आफूलाई बनायो, त्यसरी नै बनिने हो । बाहिरबाट सोचेको भन्दा यो क्षेत्र एकदमै फरक र भिन्न पाएँ ।
आफ्नो कमीकमजोरीलाई नियालेर जति सक्दो राम्रो काम र अभिनय गर्ने प्रयास गर्छु । आगामी दिनहरूमा अझै राम्रो बनाउने कोसिस गर्छु ।
- तपाईंले कलाकारिता रोज्नुको कारण पैसा, चर्चा, सन्तुष्टि कि कलाकारिताप्रतिको हुटहुटी ?
– कलाकारितामा लागेपछि चर्चा एकपटक अवश्य मिल्छ । पैसा पनि जीवनयापनका लागि आवश्यक कुरा नै हो । तर मैले यो क्षेत्र पैसाका लागि रोजेकी होइन ।
यो क्षेत्रमा भित्रिएपछि कलाको लत लाग्यो । त्यसपछि आफ्नो कामलाई नै राम्रो बनाउने, कामले नै चिनाउने र राम्रो चर्चा कमाउने हुटहुटी हुँदो रहेछ । दर्शकहरूले मलाई एक राम्रो कलाकारको रूपमा चिनिदिउन्, मेरो अभिनयको प्रशंसा गरिदिउन्, मेरो चर्चा होस् भन्ने लाग्छ । अन्य कुरोभन्दा पनि म कलाकारको रूपमा चिनिन चाहन्छु ।
- त्यसो भए कलाकारिताको लागि कुन हदसम्म जान तयार हुनुहुन्छ ?
– पहिलो त म अहिलेभन्दा बढी आफूलाई निखार्छु । आफ्नो कमीकमजोरीलाई नियालेर जति सक्दो राम्रो काम र अभिनय गर्ने प्रयास गर्छु । आगामी दिनहरूमा अझै राम्रो बनाउने कोसिस गर्छु । अभिनयमा, नृत्यमा राम्रो गर्छु, नजानेका कुराहरू सिक्छु । मैले अभिनयका लागि जाने हद भनेको यही हो ।
- फिल्ममा डेब्यु गर्न कत्ति दुःख गर्नुपर्यो ?
– एक किसिमले भन्ने हो भने म भाग्यमानी हुँ । किनभने अभिनयमा सहजै डेब्यु गर्न पाएँ । त्यस्तो केही सङ्घर्ष गर्नु परेन । गीतमा काम गर्दागर्दै सामाजिक सञ्जालमा राखेका फोटो र भिडियोहरूबाटै मलाई फिल्मको अफर आयो । ट्राई गरौँ भनेर होमिएँ । अहिले फिल्मका अफरहरू धेरै छन् । छान्न चुनौती भइरहेको छ ।
- फिल्म अभिनयका लागि तयारी के–के गर्नुपर्यो ?
– तयारीका लागि मलाई समय मिलेन । अहिलेसम्म दुईवटा फिल्ममा अभिनय गरिसकेपछि तेस्रो फिल्म गर्नुअगाडि मसँग केही समय छ । यो समयलाई मैले कक्षा लिएर सदुपयोग गरिरहेकी छु । अब सबै तयारी गर्छु ।
_WjUM7czbjN.jpg)
- पहिलो फिल्मको पहिलो टेकको अनुभव नि ?
– अनुभव एकदमै राम्रो रह्यो । मलाई त केही पनि थाहा थिएन, फिल्ममा कसरी अभिनय गर्ने भन्नेमा ममा ‘जिरो नलेज’ थियो । त्यतिवेलासम्म फिल्मको लाइभ सुटिङ पनि देखेकी थिइनँ । तर केही भिडियो र विज्ञापनमा काम गरेको अनुभवले क्यामेरा फेस गर्न, बोल्न र भावना व्यक्त गर्न त्यति धेरै गाह्रो भएन ।
फिल्मका लागि म त ‘र’ नै थिएँ, कुनै कक्षा लिएकी थिइनँ । पहिलो फिल्म ‘१२ गाउँ’ । फिल्म अभिनेता विराज भट्ट सरको थियो भने अभिनय पनि उहाँसँगै थियो । उहाँले एकदमै सहयोग र हौसला दिनुभयो । राम्रो मार्गनिर्देशक पाएकाले असहज परिस्थितिको सामना गर्नु परेन ।
- पहिलो टेकमा डर लागेन ?
– त्यसको त कुरै नगरौँ । डेब्यु, त्यसमाथि पनि केही थाहा नभएको विषयमा । मैले अभिनय कक्षा लिएको भए केही आइडिया हुन्थ्यो होला । कताबाट के गर्दा राम्रो हुन्छ, कसरी गर्ने भन्ने कुरामा गाह्रो भयो, तर समग्रमा त्यस्तो धेरै गाह्रो भएन ।
अब पो चुनौती धेरै रहेछ । एक त टिक्नुपर्यो, अर्को बिक्नुपर्यो । राम्रो कथा छान्न सक्नुपर्यो, कस्तो टिमसँग काम गर्ने भन्ने कुरा महत्त्वपूर्ण भयो ।
- अहिलेसम्मको अनुभवको आधारमा के रहेछ फिल्म क्षेत्र ?
– फिल्म क्षेत्रका विषयमा बाहिर सङ्घर्षका धेरै कथाहरू सुनिन्छ, जस्तै वर्षौँ धाएर बल्ल अवसर पाएको, थिएटर गरेर आएको, पैसा लगाएर पनि चर्चित बन्न नसकेको आदि । यी कुराले एक किसिमको दबाब महसुस गराउँछ । मेरो पनि मन ढक्क फुलेको थियो । तर, त्यस्तो गाह्रो भएन । मैले सहजै डेब्यु गर्न पाएँ । अफर आएर, सबै कुरा मिलेर नै फिल्म गरेकी हुँ । त्यसैले म आफूलाई भाग्यशाली महसुस गर्छु ।
अहिले आएर पो फिल्मको सङ्घर्ष के हो भन्ने कुरा थाहा हुँदै छ । डेब्यु फिल्म राम्रो भयो, हिट भयो । अब त्यो स्तरलाई कायम राख्दै अझै राम्रो काम देखाउनुपर्ने चुनौती थुप्रै देखेकी छु । अब काम छनोट गर्न र आफूलाई प्रमाणित गर्नचाहिँ गाह्रो हुँदो रहेछ भन्ने महसुस भएको छ ।
- त्यसो भए डेब्यु गर्दैगर्दा भन्दा गरेपछि चुनौती धेरै रहेछ ?
– हो । अब पो चुनौती धेरै रहेछ । एक त टिक्नुपर्यो, अर्को बिक्नुपर्यो । राम्रो कथा छान्न सक्नुपर्यो, कस्तो टिमसँग काम गर्ने भन्ने कुरा महत्त्वपूर्ण भयो । पहिलो फिल्म राम्रो भएपछि अब आउनेमा कसरी राम्रो दिने भन्ने दबाब हुँदो रहेछ । डेब्यु गर्नुभन्दा अबको समय बढी चुनौतीपूर्ण लागेको छ । प्रतिस्पर्धाको जमाना छ, त्यसमाथि आफूलाई स्थापित गर्न गाह्रो छ । कहिलेकाहीँ कुरा चलेको काम पनि अगाडि नबढ्ने, अरूले नै फुत्काउने अनुभव गरिसकेँ । यी सबै कुराले यो क्षेत्र डिफिकल्ट रहेछ भन्ने महसुस गराउँछ ।
- प्रतिस्पर्धा कस्तो छ ?
– प्रतिस्पर्धाको कुरै नगरौँ, एकदमै छ । मसँगसँगै धेरै नयाँ कलाकारहरू डेब्यु गरिरहनुभएको छ । उहाँहरूसँगको प्रतिस्पर्धा त स्वाभाविक हो । हामीभन्दा अघिल्लो पुस्ताका कलाकारहरू पनि अहिले सक्रिय हुनुहुन्छ । उहाँहरूसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । त्यसैले नयाँ आएका हामीलाई अभिनयमा टिक्नु र बिक्नु भनेको फलामको चिउरा चपाए सरह हो ।
_vofsazJaaW.jpg)
- अहिलेसम्मको अनुभवले के भन्छ, फिल्ममा अवसर पाउन प्रतिभा चाहिन्छ कि सम्बन्ध र अन्य ?
– प्रतिभा भएकाले अवसर त अवश्य पाउँछ, ढिलो–चाँडो मात्र हो । तर कतिन्जेल यो राजनीति र सम्बन्ध टिक्ला र ? जस्तो लाग्छ । हुन त यहाँ सम्बन्धले धेरै म्याटर गर्दो रहेछ । भर्खर आएको र कुनै पारिवारिक पृष्ठभूमि नभएको मान्छेलाई एकदमै गाह्रो छ । एक्लै बढ्नुपर्दा, मान्छे चिन्नुपर्दा र सबै कुरा आफैँले गर्नुपर्दा गाह्रो हुँदो रहेछ । कहिलेकाहीँ मेरो पनि कोही यो क्षेत्रमा भइदिएको भए हुन्थ्यो भन्ने लाग्छ ।
कलाकारितामा सफलता भनेको राम्रो फिल्म गरेर, राम्रो कथा छानेर दर्शकले रुचाइदिनु नै हो
- अबको लक्ष्य के छ ?
– अबको लक्ष्य जेजस्तो बाधा आए पनि अगाडि बढेर राम्रो कलाकार बन्नु हो । आफ्नो काममार्फत आफूलाई प्रमाणित गर्नु छ । दर्शकको मनमा बस्नु छ ।
- फिल्ममा छाइरहन टिक्न र बिक्न जरुरी छ । टिक्ने र बिक्ने कुनै रणनीति बनाउनुभएको छ ?
– त्यस्तो केही छैन । आफ्नो कामले गर्दा टिक्ने हो र त्यही काम देखाएर बिक्ने हो भन्ने मेरो विश्वास छ । राम्रो काम गर्दै जानेछु, राम्रा प्रोजेक्टहरू गर्ने कोसिस गर्नेछु । धैर्यचाहिँ यो क्षेत्रमा एकदमै आवश्यक रहेछ । म उचित समय कुर्न सक्छु ।
- तपाईंको विचारमा सफलताको परिभाषा के हो ?
– कलाकारितामा सफलता भनेको राम्रो फिल्म गरेर, राम्रो कथा छानेर दर्शकले रुचाइदिनु नै हो । रेगुलर काम पाउनु, गरेको कामको चर्चा हुनु, सबैको मनमा बस्न सक्नु नै सफलता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण