मधेसवादी दल : न मधेस आन्दोलन चिनाए, न अन्तर्राष्ट्रिय सम्बन्ध नै बढाए
सारांश
- मधेसवादी दलहरूको अन्तर्राष्ट्रिय सम्बन्ध भारतमा सीमित रहेको र प्रभाव विस्तार गर्न नसकेको चर्चा छ।
- विभिन्न मधेसकेन्द्रित दलहरूले प्रवासी संगठनहरू बनाए पनि औपचारिक कूटनीतिक सम्बन्ध कमजोर छ।
- जनमत पार्टीले प्रवासमा संगठन विस्तार गरी आर्थिक सहयोग र मत प्राप्त गरेको देखिन्छ।
काठमाडौँ । मधेसवादी दलहरूको अन्तर्राष्ट्रिय सम्बन्ध भारतमा सीमित रहेको र त्यसभन्दा बाहिर आफ्नो प्रभाव विस्तार गर्न नसकेको बारम्बार चर्चा र टिप्पणी हुने गर्छ ।
नेपालमा संगठित रूपमै मधेसकेन्द्रित राजनीति सुरु भएको तीन दशकभन्दा बढी भए पनि अधिकांश दलहरूको परराष्ट्र नीति भने स्पष्ट छैन र उनीहरूमा विदेश मामिला हेर्ने संयन्त्रको समेत अभाव छ ।
गजेन्द्रनारायण सिंहदेखि उपेन्द्र यादवसम्मका नेताहरूले चीनजस्ता देशसँग सम्बन्ध विस्तार गर्ने केही प्रयास गरे पनि ती संस्थागत हुन सकेनन् । मधेस आन्दोलनपछि विश्वकै नजर मधेसतिर तानिएको थियो र विभिन्न देशले चासो पनि देखाएका थिए, तर मधेसी दलका नेताहरूले त्यो अवसरको फाइदा उठाउन सकेनन् ।
दलगत रूपमा अन्तर्राष्ट्रिय सम्बन्ध कमजोर रहे पनि जसपा नेपाल, जनमत पार्टी, लोसपालगायत केही दलहरूले खाडी मुलुक, युरोप र अमेरिकामा आफ्ना प्रवासी भ्रातृ संगठनहरूलाई केही हदसम्म भने सक्रिय बनाएका छन् ।
यद्यपि यी संगठनहरू आर्थिक सहयोग र सांगठनिक विस्तारमा मात्र केन्द्रित हुँदा दलहरूको औपचारिक कूटनीतिक सम्बन्ध भने कमजोर नै छ । जसकारण मधेसका एजेन्डाहरूले आवश्यक अन्तर्राष्ट्रियकरण पाउन सकेका छैनन् ।
मधेसलाई नै मुख्य थलो बनाएर उदय भएका राजनीतिक दल र उनीहरूका अवस्थासँगै उनीहरूको अन्तर्राष्ट्रिय सम्बन्धबारे यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।

०००
स्वायत्त मधेस प्रदेशको घोषणा र त्यसको भाषा हिन्दी हुनुपर्ने, राज्यका हरेक निकायमा मधेसको सम्मानजनक प्रतिनिधित्वको माग गर्दै बलदेव दास र कुलानन्द झाले सन् १९५१ मा ‘नेपाल तराई कांग्रेस’ नामक दल गठन गरेका थिए । छोटो समयमै पार्टीले निकै चर्चा पनि पाएको थियो । यसले एक वर्षमै ६० हजारभन्दा बढी सदस्य बनाएको थियो ।
तर सन् १९६० मा वेदानन्द झाले आफ्नो पार्टी राजासमक्ष सुम्पिदिए र पञ्चायत पक्षधर भए । उक्त पार्टीका केही नेताहरू नेपाली कांग्रेसमा विलय भए भने बाँकी वामपन्थी धार बोकेकाहरूले ‘तराई मुक्ति मोर्चा’ गठन गरेर आत्मनिर्णयको अधिकारसहित स्वायत्त मधेस प्रदेशको माग राखी आन्दोलन सुरु गरे ।
तर राज्यको दमनका कारण थुप्रै नेताहरू मारिएपछि यो विस्तारै समाप्त भयो । त्यसपछि रघुनाथ ठाकुरले मधेसी जनक्रान्ति दल गठन गरे । यसको माग पनि आत्मनिर्णयको अधिकारसहित स्वायत्त मधेस प्रदेश नै थियो । सन् १९८१ मा रघुनाथ ठाकुरको हत्या भएसँगै यो दल पनि समाप्त भयो ।
त्यसपछि नेपाली कांग्रेसमा रहेका गजेन्द्रनारायण सिंहले २०४० सालमा ‘नेपाल सद्भावना परिषद्’ गठन गरे । सो परिषद्मार्फत लामो समय मधेसको अधिकार र पहिचानका लागि संघर्ष गरेका सिंहले २०४६ को जनआन्दोलन सफल भएपछि २०४८ सालमा त्यही परिषद्लाई नेपाल सद्भावना पार्टीको रूपमा दर्ता गराए ।

मधेसकेन्द्रित राजनीति सुरु भएको ३४ वर्ष मात्र भयो । २०४८ सालमा गजेन्द्रनारायण सिंहले गठन गरेको नेपाल सद्भावना पार्टीबाट मधेसमा विधिवत् रूपमा राजनीति अगाडि बढेको हो । त्यसअघि पनि मधेसलाई केन्द्र बनाएर राजनीतिक दलहरू नबनेका भने होइनन्, तर छोटो समयमै उनीहरू समाप्त भए ।
२०५८ सालमा सिंहको निधन भयो । त्यसपछि पार्टी पनि टुटफुटको सिकार भयो । र विस्तारै यो पार्टी पनि हरायो ।
सिंह नेपाल सद्भावना पार्टी लिएर राजनीतिमा सक्रिय रहेकै वेला २०५४ सालमा उपेन्द्र यादवले ‘मधेसी जनअधिकार फोरम नेपाल’ जन्माएका थिए । मधेसको अधिकार र पहिचानका लागि संघर्ष गर्न माओवादीले यो संगठन बनाउन लगाएको भनिए पनि यादवले त्यसलाई इन्कार गरे । र त्यही फोरमबाट मधेस आन्दोलन सुरु भयो । र मधेस आन्दोलनपछि यसलाई पार्टीको रूपमा दर्ता गराइयो । मधेस आन्दोलन चलिरहेकै वेला २०६४ सालमा नेपाली कांग्रेस छाडेर महन्थ ठाकुरले पनि ‘तराई मधेस लोकतान्त्रिक पार्टी’ (तमलोपा) गठन गरेका थिए ।
फोरमले आन्दोलनको तयारी गरिरहेको थियो, यसैवेला अमेरिकामा रहेका डा. सीके राउतले २०६२ सालमा स्वतन्त्र मधेस गठबन्धन गठन गरे । राउतको सोच नेपालबाट मधेस टुक्राउने थियो । उनको त्यो आन्दोलन लामो समय चल्यो तर सफल नभएपछि सरकारसँग वार्ता गरेर २०७४ चैतमा जनमत पार्टी गठन गरे ।

नेपाल सद्भावना पार्टीबाट सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय सद्भावना पार्टी, संघीय सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) बनेको थियो; मधेसी जनअधिकार फोरमबाट मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), राष्ट्रिय समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम (मधेस) बनेको थियो; तमलोपाबाट तमलोपा नेपाल बनेको थियो ।
अर्थात् मधेसवादी दलहरू टुक्रा–टुक्रामा विभाजित भइसकेका थिए । पछि ६ वटा दल मिलेर राजपा नेपाल बनेको थियो । त्यसपछि राजपा नेपाल र तत्कालीन समाजवादी पार्टीबिच एकता भयो र जसपा नेपाल बन्यो । जसपा नेपाल विभाजित भएर लोसपा, जसपा, नेपाल समाजवादी पार्टी बन्यो ।
लोसपा विभाजित भएर राष्ट्रिय मुक्ति पार्टी बन्यो । तत्कालीन अवस्थामा राजपा नेपालबाट अलग भएर वृषेशचन्द्र लालले तमलोपा पुनर्गठन गरेका थिए भने हृदयेश त्रिपाठीले जनता प्रगतिशील पार्टी गठन गरेका थिए ।
राजपाबाट २०७४ सालको निर्वाचन जितेका रेशम चौधरीले कैलाली घटनामा जेलमा रहेका वेला २०७८ पुसमा नागरिक उन्मुक्ति पार्टी गठन गरे । तराई मधेसमा अरू पनि सानातिना पार्टीहरू छन्, जो आ–आफ्नो ठाउँबाट संघर्ष गरिरहेका छन् ।
यसरी तराई मधेसमै रहेका दर्जनभन्दा बढी दलको अन्तर्राष्ट्रिय सम्बन्ध, विदेश मामिला, परराष्ट्र नीति स्पष्ट छैन । सांगठनिक रूपमा क्रियाशील रहेका दलहरूमध्ये उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा मात्र विदेश विभाग छ । अन्य दलहरूमा विदेश विभाग वा विदेश मामिला हेर्ने अरू कुनै संयन्त्रसमेत छैन ।

- मधेसी दल र अन्तर्राष्ट्रिय सम्बन्ध
माथि उल्लिखित दलहरूले कुनै पनि देशका दलहरूसँग दलगत सम्बन्ध बनाउन सकेका छैनन् । विभिन्न देशमा ती दलहरू प्रवासी कमिटीहरू भ्रातृ संगठनकै भरमा छन् । तर अन्तर्राष्ट्रिय सम्बन्ध कसैको पनि छैन ।
उपेन्द्र यादवले भारतमा भूमिगत रहेकै वेला मधेसी जनअधिकार फोरम गठन गरेका थिए भने सीके राउत अमेरिकामा कार्यरत रहँदा स्वतन्त्र मधेस गठबन्धन गठन गरेका थिए । तर उनीहरूले पार्टी बनाइसकेपछि न भारतसँग सम्बन्ध राम्रो बनाउन सके न त अमेरिकासँग नै ।
जनमत पार्टीबाहेक फोरमसहित अन्य जति पनि मधेसवादी दलहरू छन्, ती सबै भारतमै गठन भएका हुन् वा भारतनिकट रहेर गठन भएका हुन् । कतिपय दलहरू त भारतमै बसेर गठन भएका छन् । त्यहीँ बैठकदेखि लिएर विभिन्न सहयोग आदान–प्रदान हुने गरेका छन् ।

महन्थ ठाकुर नेतृत्वको तमलोपा पनि भारतले नै गठन गर्न लगाएको चर्चा त्यतिवेला निकै हुने गरेको थियो । जसपा नेपालका अध्यक्ष यादव स्वयंले वेलावेला यो गुनासो गर्ने गरेका थिए, तर त्यसलाई ठाकुर र उनीनिकट नेताहरूले सधैँ इन्कार गर्दै आए ।
मधेसवादी दलका नेताहरूमा अहिले पनि आफूलाई अरू देशभन्दा भारत निकट देखाउने होडबाजी नै चलेको छ । एक पटक नेपाल सद्भावना पार्टीमा यतिसम्म भएको थियो कि, सो पार्टीका तत्कालीन नेता रामेश्वर राय यादव आईएसआई (पाकिस्तान) निकट रहेको भनी त्यही पार्टीका केही नेताले लिखित रूपमै सन्देश दिल्ली पुर्याएका थिए ।
सो सन्देशपछि रामेश्वर रायलाई पार्टीमा निकै गाह्रो भएको थियो । दिल्ली गएर उनले पटक–पटक सफाइ दिए तर लिखित उजुरी नै आएको कारण भारतले पत्याइरहेको थिएन । निकै पछि सम्बन्ध सुधार भएको थियो । हाल माओवादीमा रहेका रामेश्वर राय भन्छन्, ‘यो निकै पुरानो कुरा हो, त्यतिवेला पार्टीकै साथीहरूले मेरो विरुद्धमा दिल्लीलाई गलत सूचना दिनुभएको थियो, त्यसलाई चिर्न मलाई निकै समय लाग्यो । आखिर त्यो सूचना गलत नै थियो ।’
नेपाल सद्भावना पार्टीका तत्कालीन नेता हृदयेश त्रिपाठीको नाम पनि पाकिस्तानसँग जोडिएर आएको थियो । त्यसले गर्दा उनको सम्बन्ध पनि भारतसँग त्यति सुमधुर थिएन तर ती आरोप कहीँबाट हालसम्म पुष्टि भएका छैनन् ।
- चीन र उपेन्द्र यादव सम्बन्ध
त्यसो त उपेन्द्र यादव नेतृत्वको पार्टीलाई पनि चिनियाँनिकटको ट्याग लाग्ने गरेको छ । २०६५ माघ ५ गते तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको वीरगञ्जमा भएको पहिलो महाधिवेशनमा चिनियाँ अतिथिहरूलाई सहभागी गराएपछि उनीमाथि यो आरोप अझ बलियोगरी लागेको थियो ।
_AfBLzQ7jLJ.jpg)
पत्रकार सुधीर शर्माले लेखेको ‘प्रयोगशाला’ पुस्तकमा लेखिएको छ– ‘प्रचण्डको चीन भ्रमणले दुई पक्षबिच विश्वासको आधार खडा गर्यो । माओवादी मात्र होइन, सत्ता साझेदार एमाले र मधेसी जनअधिकार फोरमको पनि चीनसँग सहकार्य झाँगिँदै गयो । त्यसबिच एमाले नेतृत्वमा आएका झलनाथ खनाल व्यक्तिगत रूपमै चीनमैत्री मानिन्थे भने फोरमका अध्यक्ष उपेन्द्र यादव परराष्ट्रमन्त्री थिए । वामपन्थी पृष्ठभूमिका यादवले भारतकेन्द्रित परराष्ट्र सम्बन्धलाई विविधता दिँदै चीनदेखि ब्राजिलसम्म सम्पर्क विस्तार गरेका थिए ।’
पुस्तकमा लेखिएको छ– ‘उनले २०६५ वैशाखमा चीनको ६ दिने भ्रमण गरे र समकक्षी याङ जेइछीसहित अन्य अधिकारीहरूसँग वार्तालाप गरे । चिनियाँहरूले पनि यादवमार्फत मधेस राजनीतिमा प्रभाव बढाउन खोजेका थिए । फोरमको वीरगञ्जमा भएको त्यो महाधिवेशनमा अतिथिका रूपमा सहभागी हुन सीपीसीको दक्षिण एसिया मामिला प्रमुख आई पिङको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल वीरगञ्ज पुगेको थियो । तराईसम्म झरेको चिनियाँ राजनीतिक रुचिबाट कोही सबभन्दा बढी सशंकित देखिन्थ्यो भने त्यो सीमापारिको भारत थियो ।’
तर यादवले चीनसँग जोडेर आफ्नो पार्टीबारे गलत प्रचार भइरहेको टिप्पणी गरे । आफ्नो पार्टीको चीन र भारत दुवै देशसँग राम्रो सम्बन्ध रहेको दाबी गर्दै उनले भने, ‘चीनसँग राम्रो भन्दा पनि के मानेमा राम्रो भन्ने ? हाम्रो सम्बन्ध चीनसँग पनि राम्रै छ, भारतसँग पनि राम्रै छ, अमेरिकासँग पनि राम्रै छ, अन्य युरोपेली मुलुकहरूसँग पनि राम्रै छ । सबैसँग राम्रो सम्बन्ध छ हाम्रो । कसैको विरुद्ध, कसैको पक्षमा हामी कहिल्यै गएनौँ । कूटनीतिक सम्बन्ध सबैसँग राम्रो राख्नुपर्छ र देशको हितमा काम गर्नुपर्छ ।’
जसपा नेपाल प्रोग्रेसिभ एलायन्स (विश्वभरिका समाजवादी, समाज–प्रजातान्त्रिक र प्रगतिशील राजनीतिक दलहरूको एक अन्तर्राष्ट्रिय संगठन) को सदस्य पनि हो । जसमा १३२ वटा पार्टीहरू छन् । र उनीहरूसँग आफ्नो पार्टीको राम्रो सम्बन्ध रहेको बताएका अध्यक्ष यादवले एलायन्समार्फत आफूहरूले मधेसका कुराहरू विश्वस्तरको मञ्चमा पुर्याइरहेको दाबी गरे ।
कुनै वेला जसपा नेपालमा रहेका हालका खानेपानीमन्त्री प्रदीप यादव (हाल जसपामा रहेका) स्वतन्त्र तिब्बत पक्षधरले युरोपेली मुलुक लात्भियामा आयोजना गरेको कार्यक्रममा सहभागी हुँदा पार्टीबाट ६ महिनाका लागि साधारण सदस्यसमेत नरहने गरी निलम्बनमा परेका थिए । उनको निलम्बनमा चीनको दबाब रहेको त्यतिवेला चर्चा भएको थियो ।
- गजेन्द्रनारायण सिंहको अन्तर्राष्ट्रिय सम्बन्ध
भारतसँग विशेष सम्बन्ध राखेका नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहले चीनसँग सम्बन्ध बनाउन नखोजेका होइनन् । नेपाल सद्भावना पार्टीका तत्कालीन महासचिव देवेन्द्र मिश्र भन्छन्, ‘त्यतिवेला भारतसँग हाम्रो सम्बन्ध राम्रो थियो, त्यो स्वाभाविक पनि हो तर हामीले चीन, दक्षिण कोरियालगायत देशसँग पनि सम्बन्ध बनाउने प्रयास गरेका थियौँ ।’
नेपाल सद्भावना पार्टीमा अन्तर्राष्ट्रिय विभागको जिम्मेवारीमा रहेर पटक–पटक चीन गई दलगत सम्बन्ध सुधार गर्ने प्रयास गरेका मिश्र भन्छन्, ‘म अन्तर्राष्ट्रिय विभागमा आएपछि चिनियाँ एम्बेसीसँग रिलेसन बनेको थियो र विभिन्न कार्यक्रमको निमन्त्रणा पार्टीलाई आउन थालेको थियो, कोरियन एम्बेसीसँग पनि त्यस्तै सम्बन्ध बनेको थियो ।’

पार्टीको तर्फबाट पटक–पटक चीन र दक्षिण कोरियाको भ्रमण गरेका मिश्र पार्टी अध्यक्ष सिंहको पनि अन्तर्राष्ट्रिय सम्बन्ध राम्रै रहेको तर आफू हटेपछि ती सम्बन्ध समाप्त भएको बताउँछन् ।
नेपाल सद्भावना पार्टीलाई नजिकबाट नियालेका पुराना पत्रकार सुकेश्वर पाठक भन्छन्, ‘मधेसवादी दलहरू नेपालभन्दा बाहिर जान सकेनन्, अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो उपस्थिति देखाउन सकेनन् ।’ नेपाल सद्भावना पार्टीमा देवेन्द्र मिश्रले अन्तर्राष्ट्रिय विभाग सम्हालेपछि पार्टीमा अन्तर्राष्ट्रिय गतिविधिहरू सुरु भएको थियो तर पछि भारतमा मात्र सीमित भएको उनले आफ्नो अनुभव सुनाउँछन् ।
नेपाल सद्भावना पार्टीमा लामो समय काम गरेका विकास तिवारी मधेसवादी दलहरूको अन्तर्राष्ट्रिय सम्बन्ध निकै कमजोर रहेको बताउँछन् । जबसम्म आफ्नो मुद्दा, एजेन्डा अन्तर्राष्ट्रियकरण हुँदैन, तबसम्म त्यो प्राप्तिमा गाह्रो हुने र मधेसवादी दलहरूले पनि फराकिलो सोच बनाएर बाहिरको दुनियाँ पनि हेर्नुपर्ने उनको सुझाव छ ।
भारतसँग त मधेसकेन्द्रित दलको राम्रै सम्बन्ध भए पनि यसले मात्र मधेस अगाडि जान नसक्ने तिवारी तर्क गर्छन् । ‘भारत मित्र शक्ति हो, छिमेकी हो, परिवारजस्तै हो तर सम्बन्धलाई अझै फराकिलो बनाउन आवश्यक छ,’ उनी भन्छन्, ‘नेपाल सद्भावना पार्टीमा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि केही प्रयासहरू भएका थिए तर किन अगाडि बढ्न सकेन, त्यो थाहा छैन ।’
- विश्वको नजरमा मधेस
यद्यपि मधेस आन्दोलनपछि विश्वले नै मधेसलाई नोटिसमा राखेको छ । मधेसबारे बुझ्न आउने विदेशीहरू अझै नेपाल आइरहेका छन् । जसपा नेपालका अध्यक्ष यादव भन्छन्, ‘अन्तर्राष्ट्रिय जगतले अहिले पनि मधेसलाई आफ्नो नोटिसमा राखिरहेको छ । विभिन्न मुद्दामा हामीसँग चासो लिइरहेका हुन्छन् । कहिलेकाहीँ कार्यक्रमहरू हुँदा पनि हामीलाई निमन्त्रणा दिएर बोलाएका हुन्छन् । हामी पनि वेलावेलामा उनीहरूलाई बोलाएर अन्तरक्रिया गरेका हुन्छौँ ।’

राजनीतिक रूपमा मधेसको एजेन्डा र विषयबारे जानकारी गराउने काम पहिलो पटक रघुनाथ ठाकुरले गरेका थिए । सन् १९६० मा भारतको संसद् अगाडि टाउकोमा पेट्रोम्याक्स जलाएर उनी उभिएका थिए । जुन घटनाले तत्कालीन समयमा निकै चर्चा पाएको थियो ।
यसबारे उपेन्द्र यादवले आफ्नो पुस्तक ‘नेपाली जनआन्दोलन और मधेसी मुक्तिका सवाल’ मा लेखेका पनि छन् । ‘६० को दशकमा उहाँले दिनको उज्यालोमा पेट्रोम्याक्स जलाएर, आफ्नो टाउकोमा राखी भारतीय संसद् भवनको अगाडि चक्कर लगाइरहनुभयो, त्यसपछि भारतीय नेता आचार्य कृपलानी एवं अन्य सांसदले उहाँसँग प्रश्न गर्नुभएको थियो कि तपाईंले यो के गर्नुभएको हो ? अनि रघुनाथ ठाकुरले जवाफ दिनुभयो – भारत र नेपालबाट न्याय हराएको छ । म दिनको उज्यालोमा पेट्रोम्याक्सको सहयोगले यसको खोजीमा छु,’ पुस्तकमा उल्लेख छ ।
यसरी मधेस आन्दोलन भारतसँगै विश्वकै ध्यान खिच्न सफल भइसकेको थियो । त्यसपछि पनि विदेशका कतिपय अनुसन्धानकर्ताहरूले मधेसलाई केन्द्र बनाएर अध्ययन गरेका थिए ।
मधेस मुद्दामा विश्वको ध्यानाकर्षण गराउन माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले निकै ठुलो भूमिका खेलेका थिए । मधेस आन्दोलनताका उनले काठमाडौँमा यूएनका प्रतिनिधिहरूलाई एक ठाउँमा राखेर मधेसका मुद्दा र एजेन्डाबारे कुरा राखेका थिए । त्यसमा परराष्ट्रविज्ञ विजयकान्त कर्णको पनि भूमिका थियो । मधेसबारे पहिलो पटक अन्तर्राष्ट्रिय रूपमा यसरी जानकारी गराइएको थियो ।
_7EF38402Yh.jpg)
राजदूतसमेत रहिसकेका विज्ञ कर्ण भन्छन्, ‘मधेस आन्दोलनको समयमा मैले कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई बोलाएर पटक–पटक ब्रिफिङ गरेको थिएँ, कतिपय ठाउँमा लगेर घुमाएको थिएँ, तर मधेसवादी दलका नेताहरूले त्यसको फाइदा लिन सकेनन् ।’
आफू अझै यही क्षेत्रमा काम गरिरहेको बताउने उनी थप्छन्, ‘मधेसवादी दलका नेताहरू कुनै अन्तर्राष्ट्रिय मञ्चमा देखिँदैनन्, अरू–अरू कुरामा डिबेट गरेको सुनिन्छ, कुरा छलफल गरेको सुनिन्छ, तर अन्तर्राष्ट्रिय सम्बन्धबारे आजसम्म बोलेको सुनिएको छैन ।’
उनका अनुसार मधेसकेन्द्रित भनिएका नेताहरू चीन र भारतमा मात्र सीमित छन् । ‘अमेरिका, मलेसिया, कतारजस्ता देश पनि गएको देखिन्छ, तर त्यहाँ आफ्नो पार्टी वा कुनै संगठनको कार्यक्रममा सहभागीबाहेक अरू कुनै गतिविधि देखिँदैन,’ कर्ण बताउँछन्, ‘त्यहाँ उच्चस्तरीय भेटघाट गर्नुपर्यो, पार्टी–टु–पार्टी रिलेसन बनाउनुपर्यो । सम्बन्ध विस्तार गर्नुपर्यो तर त्यस्तो देखिएको छैन ।’
मधेस आन्दोलनतापछि केही देशले यसबारे चासो लिए पनि मधेसवादी दलका नेताहरूले भने त्यसलाई बुझ्न नसकेको उनको भनाइ छ । ‘मधेसी दलहरू सत्तामा यसरी संलग्न भए कि, बाहिरी दुनियाँसँग मतलब नै राखेनन् । पछि उनीहरू टुक्रा–टुक्रामा विभाजित भए, शक्ति कमजोर भयो । त्यसपछि अन्तर्राष्ट्रिय शक्तिहरूले नोटिसमा राख्न पनि छाडे,’ उनी विस्तारमा बताउँछन् ।
मधेस आन्दोलनपछि उपेन्द्र यादव दुई पटक परराष्ट्रमन्त्री भए । विभिन्न देश भ्रमण पनि गरे । त्यस दौरान उनले मधेसलाई केही हदसम्म चिनाउने प्रयत्न गरेका थिए । यादव अझै पनि आफू परराष्ट्रमन्त्री भए मधेसका मुद्दा र विचार विश्वभर पुर्याउन चाहन्छन् ।
तर विस्तारै मधेसका गतिविधि शून्यःप्राय हुँदै गए । गजेन्द्रनारायणदेखि उपेन्द्र यादवसम्मका नेताहरूले आन्दोलन गरेको मधेस भूमिलाई नेताहरूले पहिचान नै गर्न सकेनन् ।
- उच्च तहमा मधेसको प्रतिनिधित्व
प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय समितिको सभापतिमा जसपा नेपालका राजकिशोर यादव मधेसी समुदायबाटै हुन् । त्यसैगरी मधेसबाटै केही राजदूतहरू पनि बनेका छन् । परराष्ट्रमा सहसचिवसम्म पनि पुगेका छन् । पछिल्लो समय परराष्ट्र सेवामा मधेसीहरूको पनि आकर्षण बढेको छ । अर्को महत्त्वपूर्ण कुरा, वैदेशिक रोजगारमा सबैभन्दा बढी श्रमिक मधेसबाटै छन् । युरोपेली मुलुकहरूतिर पनि त्यस्ता श्रमिकहरू बढ्न थालेका छन् ।
ठुला–ठुला उद्योगमा पनि मधेस पृष्ठभूमि भएका उद्योगीहरूको लगानी छ । तर अन्तर्राष्ट्रिय मञ्चमा मधेसको उपस्थिति नगन्य छ ।
- विदेशमा कहाँ–कहाँ छन् संगठन ?
मधेसकेन्द्रित दलको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको नाममा केवल भ्रातृ संगठनको भर छ । ती दलहरूले आ–आफ्ना संगठन भारतलगायत विभिन्न देशमा बनाएका छन् र नेताहरू ओहोर–दोहोर पनि गरिरहन्छन् ।
जनमत पार्टीका अध्यक्ष सीके राउत अमेरिकामा कार्यरत रहँदा वेला मधेसीहरूलाई विदेशमा संगठित गर्न गैरआवासीय मधेसी संघ गठन गरेका थिए । ती संघलाई अहिले अध्यक्ष राउतले पार्टीको भ्रातृ संगठनका रूपमा चलाइरहेका छन् ।
जनमत पार्टीले त सुरुदेखि नै विभिन्न खाडी मुलुकलगायत अन्य देशमा संगठन क्रियाशील राखेको जनाएको छ । राउतले स्वतन्त्र मधेस गठबन्धन सञ्चालन गर्नुभन्दा पहिलादेखि नै विदेशमा गैरआवासीय मधेसी संघ (एनआरएमए) गठन गरेका थिए । प्रवास संगठनबाट मधेसी दलमध्ये सबभन्दा बढी फाइदा लिनेमा जनमत पार्टी नै हो । जनमत पार्टीको मुख्य आर्थिक स्रोत नै गैरआवासीय मधेसी संघ (एनआरएमए) हो ।
जनमत पार्टीलाई २०७९ को मतदानमा सबभन्दा बढी सहयोग विदेशबाटै भएको थियो । त्यहाँबाट आर्थिक सहयोगका साथै मत पनि प्राप्त गरेको थियो । जनमत पार्टीका अनुसार सो संघ ४४ वटा देशमा फैलिएको छ । संघमा दुई लाखभन्दा बढी सदस्य रहेको जनमत पार्टीको दाबी छ ।
तराई मधेसमा सीमित जसपा नेपाल, जनमत पार्टी, लोसपालगायत मधेसकेन्द्रित दलहरू विदेशका केही ठाउँमा संगठन बनाएका छन् ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पनि कम छैन । युरोपेली देशलगायत विभिन्न ११ वटा देशमा जसपा नेपालको संगठन भएको दाबी गरिएको छ । जसपा नेपालको आर्थिक स्रोतमध्ये प्रवास कमिटीहरू पनि पर्छन् । संगठन निर्माण तथा सम्मेलनमा भाग लिन जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव वेलावेलामा विदेश गइरहेका हुन्छन् । पार्टीका विदेश विभाग प्रमुख अर्जुन थापा भन्छन्, ‘विदेशमा रहेका नेपालीलाई आइपर्ने कठिनाइमा सहयोग गर्ने उद्देश्यले यी संगठनहरू बनाइएको हो ।’
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको पनि विभिन्न २२ वटा देशमा संगठन छ । मुख्य संगठनसँग अन्तर्राष्ट्रिय सम्बन्ध बनाउन यस्ता संगठनहरूले काम गरिरहेको पार्टीका महासचिव मो. इस्तियाक राई बताउँछन् ।
लोसपा नेपालको पनि साउदी, कतार, भारत, दुबई लगायत देशमा संगठन छन्, तर जसपा नेपाल र जनमत पार्टी जतिको सक्रिय छैनन् । यस पार्टीबाट लोसपा वरिष्ठ नेता शरतसिंह भण्डारी श्रममन्त्री छन् । भ्रमणमा रहँदा आफ्नो पार्टीसँग आबद्ध गराउने काम गरिरहेको उनी बताउँछन् ।
पार्टीका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ल भन्छन्, ‘केही देशमा हाम्रो पनि संगठन छन् तर त्यो त्यति क्रियाशील छैन, पार्टीको संगठन निर्माणका कामहरू अगाडि बढिरहेको छ । प्रवास कमिटीलाई पनि सुदृढ बनाउँदै अगाडि बढ्ने कुरा भइरहेको छ ।’
राजेन्द्र महतोले राष्ट्रिय मुक्ति पार्टी नेपाल भर्खरै गठन गरेका छन् । उनले पनि प्रवासमा कमिटीहरू बनाउन सुरु गरेका छन् । पार्टीले अमेरिका र कतारमा आफ्नो संगठन बनाइसकेको बताएको छ भने अन्य देशमा बनाउने तयारी गरिरहेको नेता सन्तोष मेहता बताउँछन् । ‘दुबई, साउदी, मलेसिया, बेलायत, दक्षिण कोरिया, भारतलगायत देशमा सम्पर्क व्यक्ति तयार भइसकेका छन्,’ भन्छन्, अब विस्तारै ती देशहरूमा संगठन बनाउनेछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण