बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘मधेसी दलहरू कतै पनि प्रभावकारी देखिएनन्’

चीनले मधेसमा स्पेस बनाउन खोजिरहेको छ : विजयकान्त कर्ण, पूर्वराजदूत
बिहीबार, ०८ साउन २०८२, १० : ०७
बिहीबार, ०८ साउन २०८२

सारांश

  • पूर्व राजदूत विजयकान्त कर्णले अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश मामिलामा अध्ययन गरिरहेका छन्।
  • उनका अनुसार मधेसका राजनीतिक दलहरू अन्तर्राष्ट्रिय सम्बन्धमा पछाडि छन्, जसले अवसर गुमाएको छ।
  • चीनले मधेसमा गतिविधि बढाइरहेको छ, तर मधेसवादी दलहरूले सम्बन्ध विस्तारमा ध्यान दिएको देखिएन।

प्राध्यापक विजयकान्त कर्ण पूर्वराजदूत हुन् । विगतमा विभिन्न संघसंस्थामा आबद्ध भएर मधेसको अधिकार र पहिचानका लागि वकालत गर्ने राजदूत कर्ण पछिल्लो समय सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी स्थापना गरेर विदेश मामिला, अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रमा विभिन्न अध्ययन अनुसन्धान गर्दै आएका छन् । मधेसको राजनीति बुझेका पूर्वराजदूत कर्ण मधेससँग अन्तर्राष्ट्रिय सम्बन्ध खासै नरहेको बताउँछन् । 

मधेसका राजनीतिक दल अन्य कुरामा इन्गेज देखिन्छन् तर अन्तर्राष्ट्रिय क्षेत्रमा निकै पछाडि रहेको उनको बुझाइ छ । यस्तो किन त, मधेसवादी दलहरूले अन्तर्राष्ट्रिय सम्बन्ध किन बढाउन चाहेका छैनन्, कहाँ छ समस्यालगायत विषयमा सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसीका प्रमुख एवं पूर्वराजदूत विजयकान्त कर्णसँग गरिएको कुराकानीको सम्पादित अंशः

  • पछिल्लो समय तपाईंले अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश मामिलाको विषयलाई निकै छलफलमा ल्याउनुभएको छ, परराष्ट्रको विषयमा के–के गरिरहनुभएको छ ?

अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरेको सात वर्ष हुन लागेको छ । हामीले सन् २०१८ देखि विभिन्न मुलुकहरूसँग नेपालको कस्तो सम्बन्ध छ, खासगरी चीन, भारत, अमेरिका र नेपालको भू–राजनीतिबारे अध्ययन गर्छौँ । नेपालको इकोनोमी, नेपालको पोलिटिक्स र अहिले जुन परिवर्तनहरू भइरहेका छन्, त्यसबारे अध्ययन अनुसन्धान गरिरहेका छौँ । 

अन्तर्राष्ट्रिय राजनीतिमा देखिएका परिवर्तनहरूले नेपालमा के गर्नुपर्ने हो ? नेपालले कहाँ गर्न सकिरहेको छैन ? यसबारे सरकारलाई नीतिगत सल्लाह सुझावहरू पनि दिने गरेका छौँ । हामीले सांसद, प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति, परराष्ट्र मन्त्रालयका अधिकारी, यस क्षेत्रका अरू स्टेकहोल्डरसँग काम गरिरहेका छौँ ।

नेपालको इकोनोमिक ग्रोथ किन हुन सकिरहेको छैन, त्यसमा जियोपोलिटिकल कारणहरू के–के छन्, त्यसबारे पनि अध्ययन अनुसन्धान गरी सम्बन्धित निकायलाई सुझाव दिएका छौँ । त्यसैगरी चीनसँगको सम्बन्धबारे हामीले विस्तृत अध्ययन गरेका छौँ । चीनले इन्फ्रास्ट्रक्चरमा के काम गरिरहेछ नेपालमा, त्यो पनि अध्ययन गरेका छौँ, बीआरआईको बारेमा अध्ययन गरेका छौँ ।

अन्तर्राष्ट्रिय राजनीतिमा, भू–राजनीतिमा जब चुनौतीहरू थपिन्छन्, त्यही वेला मौकाहरू पनि जन्मिन्छन् । हामीले मौकाको उपयोग गर्न सकेका छैनौँ ।

चीनका जुन युनिभर्सल रणनीतिहरू, खासगरी राष्ट्रपति सी जिनपिङ आएपछि, बीआरआई सम्झौता भयो । त्यसपछि ग्लोबल सेक्युरिटी इनिसिएटिभ भयो । त्यसपछि ग्लोबल सिभिलाइजेसनल इनिसिएटिभ भयो । यी इनिसिएटिभहरू चीनले किन ल्यायो ? यसले नेपालमा के इम्प्याक्ट परिरहेछ ? र यसले नेपालको आफ्नो अवस्था, भारतसँगको सम्बन्धलाई के प्रभाव पार्दैछ, अमेरिकासँगको सम्बन्धमा के प्रभाव पार्दैछ लगायतका विषयमा अध्ययन गरेका छौँ । हामीले अमेरिकी स्ट्र्याटेजी एमसीसीको बारेमा पनि अध्ययन गरेका छौँ ।

त्यस्तै आतंकवादको विषयमा पनि हामीले अध्ययन गरेका छौँ । नेपालमा त्यसको सम्भावना कति छ, नेपाल कति जोखिममा छ लगायत विषयमा विस्तृत अध्ययन गरेका छौँ । नेपालमा पनि आतंकवादीहरू रहेका छन् । नेपालमा पनि आतंकवादीहरू समातिएर भारतलाई बुझाइएको छ । 

१८ सय किलोमिटर भारतसँग नेपालको बोर्डर जोडिएको छ । भारतमा आतंकवादी गतिविधि भए भने नेपालीहरू असुरक्षित हुन्छन् । पुलवामाको आतंकवादी हमलामा नेपाली पनि मारिएका छन् । त्यसैगरी सन् २००७ मा मोरङका आठ जना मुसहरहरू मारिएका थिए । ओपन बोर्डरका कारण भारतमा हुने यस्ता आतंकवादी गतिविधिले नेपालमा पनि प्रभाव पार्छ । यस्ता विषयहरूमा पनि अध्ययन गरेका छौँ । हामीले अध्ययन मात्र गर्दैनौँ, यसबारे सरोकारवालाहरूलाई बोलाएर जानकारी पनि गराउँछौँ ।

  • यतिका अध्ययन गर्नुभएको छ, देशको विदेश मामिला कतातिर गइरहेको छ ?

हामीले धेरै मौका गुमाउँदै गइरहेका छौँ । अन्तर्राष्ट्रिय राजनीतिमा, भू–राजनीतिमा जब चुनौतीहरू थपिन्छन्, त्यही वेला मौकाहरू पनि जन्मिन्छन् । हामीले मौकाको उपयोग गर्न सकेका छैनौँ । उदाहरणका लागि, एमसीसीमा नेपालीहरू आफैँमा डिभाइडेड भए । आखिर एमसीसी लागु भयो, तर अहिले कस्तो अवस्थामा छ भनी सबैलाई थाहै छ । 

मधेसमा यत्रो राजनीतिक उथलपुथल भयो, आन्दोलन भयो तर त्यसलाई अन्तर्राष्ट्रिय सम्बन्धसँग जोड्ने, अन्तर्राष्ट्रिय समर्थन लिनेजस्ता कुरामा उहाँहरूको (मधेसवादी नेता) ध्यान कहिल्यै गएन ।

समयमा त्यो सम्झौता भएको भए धेरै काम भइसकेको हुन्थ्यो । तर हामीले मौकालाई पहिचान गर्न सकेनौँ । एमसीसीलाई लिएर यहाँका राजनीतिक दल, सांसदहरू आफैँमा झगडा गरेर बसे । त्यस्तै बीआरआईमा पनि भयो । सन् २०१७ मा चीनसँग बीआरआई सम्झौता भयो, तर त्यसलाई लामो समय थन्काएर राख्ने काम भयो । त्यसलाई हामीले अवसरको रूपमा लिएनौँ ।

भारतसँग १० हजार मेगावाट बिजुलीको सम्झौता कति मुस्किलले भयो, त्यो सबैलाई थाहा भएकै कुरा हो । १० हजार मेगावाटको सम्झौता गरिसकेपछि भारतीय कम्पनीहरूलाई नेपालमा ल्याउने कि के गर्ने भन्नेतिर सोच्न छोडेर हामी अदालतमा मुद्दा लिएर पुग्यौँ । अर्थात् यस्ता धेरै अवसर नेपालका लागि पर्खिरहेका छन् तर नेपाल आफैँमा स्पष्ट छैन । भारतबारे नेपालमा एकखालको न्यारेटिभ छ । नेपाल, भारत र बंगलादेशबिच ४० मेगावाटको बिजुली पठाउने सम्झौता भयो । यो धेरै ठुलो काम हो तर कसैले एक शब्द धन्यवाद पनि भनेनन्, बरु कतै–कतैबाट विरोध पनि भयो ।

  • जसरी नेपालको अन्तर्राष्ट्रिय गतिविधिमा विभिन्न खेल भइरहेको भनी सुनाउनुभयो, त्यो खेलमा तपाईं मधेसलाई कहाँ देख्नुहुन्छ ? 

यसमा मधेस कहीँ पनि छैन । मधेसका दलहरू २०६५ अघि खासै थिएनन् । मधेस आन्दोलनपछि केही मधेसवादी दल तथा नेताहरू पनि देखिन थाले । मधेस आन्दोलनको क्रममा म आफैँले केही डिप्लोम्याटहरूलाई राखेर मधेस आन्दोलनबारे ब्रिफिङ गरेको थिएँ । मधेस के हो, मधेसमा किन आन्दोलन भयो, त्यस कुराको विशेष जानकारी गराएको थिएँ । तर त्यही काम पोलिटिकल लिडरहरूले गरेनन् । 

मधेसवादी दलहरूलाई लाग्दो होला कि, भारतसँग राम्रो सम्बन्ध छ । तर मलाई त्यस्तो लाग्दैन ।

मधेसमा यत्रो राजनीतिक उथलपुथल भयो, आन्दोलन भयो तर त्यसलाई अन्तर्राष्ट्रिय सम्बन्धसँग जोड्ने, अन्तर्राष्ट्रिय समर्थन लिनेजस्ता कुरामा उहाँहरूको (मधेसवादी नेता) ध्यान कहिल्यै गएन । कहिलेकाहीँ एम्बेसीहरूको रिसेप्सनमा उहाँहरूलाई देख्छु, त्यसबाहेक उनीहरूले कुनै गतिविधि गरेको मैले देखेको छैन । 

सायद राजनीतिमा अन्तर्राष्ट्रिय सम्बन्धको महत्त्वलाई उहाँहरूले बुझ्नु नै भएको छैनजस्तो लाग्छ । मधेसी दलहरू संसद्मा पनि इफेक्टिभ छैनन्, सडकमा पनि इफेक्टिभ छैनन् । र अरू ठाउँहरूमा पनि मैले खासै इफेक्टिभ देखेको छैन । 

इन्टरनेसनल पोलिटिक्सको सबभन्दा ठुलो महत्त्वपूर्ण कुरो के हो भने तपाईं कति बलवान् हुनुहुन्छ, त्यसमा भर पर्छ । तपाईं जति शक्तिशाली हुनुभयो, तपाईंलाई त्यति नै अन्तर्राष्ट्रिय जगतले खोजी गर्छ । त्यसपछि मात्र तपाईंलाई इन्गेज गर्छन् । अहिले मधेसका राजनीतिक दलहरूको युनिफाइड भ्वाइस आएको छैन ।

  • तपाईंले जुन अन्तर्राष्ट्रिय सम्बन्धको कुरा गर्नुभयो, त्यहाँ मधेसवादी दलहरू कतै इन्गेज छैनन् त ?

मलाई त लाग्दैन । म यही क्षेत्रमा काम गरिरहेको छु । कहीँकतै बाटोघाटोमा पनि भेटघाट हुँदैन । मधेसवादी दलहरूसँग अरू–अरू कुरामा डिबेट गरेको सुनिन्छ, छलफल गरेको सुनिन्छ, तर अन्तर्राष्ट्रिय सम्बन्धबारे आजसम्म बोलेको, काम गरेको देखिएको छैन । अलिअलि चीन घुमेको देख्छु । भारतमा पनि गइरहेका हुन्छन् । अमेरिका, मलेसिया, कतारजस्ता देश पनि गएको देखिन्छ तर त्यहाँ गएर आफ्नो पार्टी वा कुनै संगठनको कार्यक्रममा सहभागीबाहेक अरू कुनै गतिविधि गरेको देखिँदैन । त्यहाँ गएर उच्चस्तरीय भेटघाट गर्नुपर्‍यो । पार्टी–टु–पार्टी रिलेसन बनाउनुपर्‍यो । सम्बन्ध विस्तार गर्नुपर्‍यो, तर त्यस्तो देखिँदैन ।

  • मधेसवादी दललाई भारतसँग जोडेर हेरिन्छ, भारतसँग राम्रो सम्बन्ध होला नि, होइन ?

भारत छिमेकी देश भएका कारण आउजाउ भइरहेको देखिन्छ । व्यक्तिगत चिनजानको आधारमा त्यहाँ आउजाउ गरेको देखिन्छ । तर राज्य पक्ष वा पार्टी संगठनसँग जुन प्रकारको सम्बन्ध हुनुपर्ने हो, त्यो प्रकारको सम्बन्ध देखिएको छैन । भारतले पनि मधेसवादी दललाई खासै इन्गेज गराएको जस्तो लाग्दैन । 

मधेसवादी दललाई भारतले युज गरेको होजस्तो मलाई लाग्दैन । एउटा कुरा स्पष्ट के छ भने, कुनै पनि पावरफुल कन्ट्रीले आफ्नो इन्ट्रेस्टमा काम गरिरहेका हुन्छन् ।

मधेसवादी दलहरूलाई लाग्दो होला कि, भारतसँग राम्रो सम्बन्ध छ । तर मलाई त्यस्तो लाग्दैन । मधेस आन्दोलनताका विभिन्न देशले मधेसको राजनीतिप्रति चासो लिएका थिए । उनीहरू पनि मधेससँग इन्गेज हुन चाहेका थिए, तर मधेसवादी दलका नेताहरूले त्यसलाई पहिचान नै गर्न सकेनन् । उनीहरू सत्तामा यसरी इन्गेज भए कि बाहिरी दुनियाँसँग मतलब नै राखेनन् । पछि उनीहरू टुक्रा–टुक्रामा विभाजन भए, शक्ति कमजोर भयो । त्यसपछि अन्तर्राष्ट्रिय शक्तिहरूले नोटिसमा राख्न पनि छाडिदिए ।

  • भनिन्छ, गजेन्द्रनारायण सिंहसँग भारतको राम्रो सम्बन्ध थियो, के साँच्चै हो ?

तपाईंले भनेको जस्तो त थिएन । तर अहिलेका दलभन्दा उहाँको सम्बन्ध राम्रो थियो । गजेन्द्रनारायणलाई भारतले सम्मानजनक नजरले हेथ्र्यो, गजेन्द्रनारायण सिंहले पनि त्यसरी महत्त्व दिनुभएको थियो । नेपाल सद्भावना पार्टीपछि बनेका दलहरू सुरुमा शक्तिमा आउँदा विभिन्न देशले महत्त्व दिन थालेका थिए । तर उनीहरूको शक्ति कमजोर भएपछि महत्त्व दिन छाडे । 

भारतसँग राजनीतिक सम्बन्ध मात्र होइन, सामाजिक र पारिवारिक सम्बन्ध भएका कारणले पनि मधेसवादी दलहरूले थोरबहुत सम्बन्ध बनाएर राखेका छन् । तर राजनीतिक रूपमा, सांगठनिक रूपमा त्यस्तो सम्बन्ध छैन ।

  • वेलावेलामा भारतले मधेसवादी दललाई राजनीतिक घटनाक्रममा प्रयोग गरेको सुनिन्छ, के त्यो साँच्चै हो त ?

मधेसवादी दललाई भारतले युज गरेको होजस्तो मलाई लाग्दैन । एउटा कुरा स्पष्ट के छ भने, कुनै पनि पावरफुल कन्ट्रीले आफ्नो इन्ट्रेस्टमा काम गरिरहेका हुन्छन् । त्यो सबैले गर्ने हो । नेताहरूको व्यक्तिगत सम्बन्ध भारतसँग छ । त्यसले गर्दा अरूलाई त्यस्तो लाग्दो होला, त्यो बेग्लै कुरा हो तर भारतले त्यसरी युज गरेको कुरामा मलाई विश्वास लाग्दैन ।

अन्तर्राष्ट्रिय एजेन्सीहरूको पोलिसी चेन्ज भएको हो, नभएको होइन ।

मधेसीलाई त्यतिकै पनि भारतीय नजरले हेर्छन् । मधेसी भारतीय हुन् भन्ने बुझाइ खसवादीहरूको दिमागमा छ । त्यसरी युज गरेको भए त्यसका लक्षणहरू देखिन्थे, तर केही पनि देखिएको छैन । तर कुरा के हो भने, मधेसी दलहरूले आफ्नो अन्तर्राष्ट्रिय सम्बन्धका पारामिटर्सहरू डिफाइन गर्नुपर्‍यो । 

के हुनुपर्ने हो ? कसरी गर्ने हो ? अन्तर्राष्ट्रिय सम्बन्ध बनाउँदाखेरि मधेसको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने, त्यसका लागि सपोर्ट जेनेरेट कसरी गर्ने, त्यो कुरामा विशेष ध्यान दिनुपर्छ । पछिल्लो समय स्विस, अमेरिकन र अरू एजेन्सीहरू, यूएसएआईडीलगायत एजेन्सीहरू जसरी मधेस प्रदेश सरकारसँग काम गरिरहेका छन्, त्यो सकारात्मक कुरा हो । त्यसरी काम गरेको कोसी र लुम्बिनी प्रदेशमा पनि देखिएको छ ।

अन्तर्राष्ट्रिय एजेन्सीहरूको पोलिसी चेन्ज भएको हो, नभएको होइन । तर त्यसको फाइदा मधेस वा मधेसवादी दलहरूले लिन सकेका छैनन् । भारत, चीनले पनि आ–आफ्नो तरिकाले मधेसमा काम गरिरहेका छन् तर त्यसमा मधेसको राजनीति र नेताहरू कतै इन्गेज भएको पाइँदैन ।

  • पछिल्लो समय चीनले मधेसमा स्पेस बनाउन खोजेको हो त ?

हो, चीनले मधेसमा आफ्नो स्पेस बनाउन विभिन्न गतिविधि गरिरहेको छ । त्यसमा पनि हामीले रिसर्च गरेका छौँ । चीन गाउँ–गाउँ, स्कुलहरूमा गएर विद्यार्थीलाई साइकल बाँड्छ, झोला बाँड्छ । अन्य सामग्री पनि दिइरहेको देखिन्छ । 

विभिन्न एनजीओ, आईएनजीओको नाममा चीन भित्री मधेस छिरिसकेको छ । उसले सीधै जनतासँग सम्बन्ध बनाउन चाहेको छ । तर राजनीतिक दलसँग खासै सम्बन्ध छैन । मधेसका कुनै लोकल व्यक्तिलाई समातेर गाउँमा जान्छ, कुनै स्कुल तथा संस्थालाई विभिन्न सामग्री दिएर आफ्नो सम्बन्ध बनाउन चाहेको देखिन्छ । 

चीन मधेसमा मात्र होइन, मधेसीहरू पनि चीन जान थालेका छन् । मधेसवादी दलका विभिन्न नेताहरू पटक–पटक चीन गएका छन् ।

पछिल्लो समय नेपाल हुँदै भारत छिर्न लाग्दा यो दुई–तीन सालमा २०–२५ जना चिनियाँ समातिएका छन् । त्यसले पनि प्रस्ट हुन्छ कि चिनियाँहरू मधेस किन छिर्न खोजिरहेका छन् ।

  • राजनीतिक दलसँग सम्बन्ध नै नबनाई चीन कसरी छिर्‍यो मधेस ?

मधेसमा रहेका एमाले र माओवादी केन्द्रका नेताहरूले चिनियाँहरूलाई सहयोग गरिरहेका छन् । हाम्रो रिसर्चले त्यही भन्छ । चिनियाँहरूले मधेस छिर्नका लागि कम्युनिस्ट पार्टीलाई टुल बनाएको देखिन्छ ।

  • चीनले मधेसका दलहरूसँग रिलेसन बनाउन नखोजेको हो कि मधेसवादी दलहरू त्यतातिर जान नखोजेका हुन्, के भन्छ तपाईंको रिसर्चले ?

चीन मधेसमा मात्र होइन, मधेसीहरू पनि चीन जान थालेका छन् । मधेसवादी दलका विभिन्न नेताहरू पटक–पटक चीन गएका छन् । खासगरी जसपा नेपाल, जसपा, जनमतलगायत दलका नेताहरू चीन भ्रमणमा जाने–आउने गरेका छन् । उनीहरू चीन भ्रमणमा मात्र जान्छन् कि त्योअनुसार रिलेसन पनि बनाएर आउँछन्, त्यो भन्न सकिँदैन । तर नेपालको गतिविधि हेर्दा मधेसवादी दलका नेताहरूले चीन गएर सम्बन्ध बनाएर आएका छन् जस्तो लाग्दैन । 

कहिलेकाहीँ चिनियाँ राजदूत मधेसवादी दलका नेताहरूसँग भेटघाट गरिरहेका हुन्छन् । तर त्यसले रिलेसन कस्तो बन्यो त्यो मुख्य कुरा हो । अर्को कुरा के हो भने, चीनले नेपालका पोलिटिकल पार्टीसँग समान सम्बन्ध बनाएको छैन । कम्युनिस्टसँग एकखालको सम्बन्ध छ भने कांग्रेससँग अर्को खालको र मधेसवादी दलसँग फरक खालको सम्बन्ध छ । यो चिनियाँहरूको विशेषता हो ।

  • के जसपा नेपालसँग चीनको व्यक्तिगत वा छुट्टै खालको सम्बन्ध छ ? 

हामीले यसबारे अहिले अध्ययन गरिरहेका छौँ । जसपा नेपालसँग चिनियाँको अलि फरकखालको सम्बन्ध छ । अन्य मधेसवादी दलभन्दा जसपा नेपालसँग छुट्टै सम्बन्ध छ । चीन भ्रमण टोलीमा देखिएको पार्टिसिपेसनले त्यो कुरा देखाउँछ । चीन भ्रमणमा अन्य मधेसवादी दलभन्दा जसपा नेपालबाट अलि बढी नै गएको देखिन्छ । त्यो रिलेसन र सम्बन्धविना सम्भव छैन । चीनले अन्य मधेसवादी दलबाट पनि नेताहरूलाई चीन भ्रमण गराउने प्रयास गरिरहेको छ ।

  • मधेसवादी दल, खासगरी मधेसले अन्तर्राष्ट्रिय सम्बन्ध बनाउनुपर्छ कि पर्दैन ? बनाउन के गर्नुपर्छ ?

राजनीति गर्न अन्तर्राष्ट्रिय सम्बन्ध एकदमै जरुरी छ । अन्तर्राष्ट्रिय रूपमा इन्गेज हुने हो, इन्गेज गर्ने हो, आफ्नो कुरा भन्ने हो । देश–विदेशको भ्रमण गर्दा त्यहाँका नेता, राजनेताहरूसँग सम्बन्ध बनाउने हो । आफ्नो कुरा राख्ने हो । पहिलो कुरा त अन्तर्राष्ट्रिय सम्बन्ध किन, केका लागि, त्यो स्पष्ट हुनुपर्छ । त्यो उद्देश्य स्पष्ट भएपछि आफ्नो पार्टीको लाइन र विचारअनुसार सम्बन्ध विस्तार गर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप