‘सबैसँग राम्रो सम्बन्ध छ, भारतको स्थान अरू देशले लिन सक्दैन’
सारांश
- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनले विश्वको ध्यान खिचेको बताए।
- अन्तर्राष्ट्रिय सम्बन्ध र मधेसको अवस्थाबारे यादवसँगको कुराकानीमा मधेसलाई विश्वले कसरी बुझेको र दलहरूको सम्बन्धबारे चर्चा गरियो।
- यादवले मधेसको भारतसँग विशेष सम्बन्ध रहेको र चीन लगायत अन्य देशहरूसँग पनि राम्रो सम्बन्ध रहेको बताए।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव परराष्ट्रमन्त्री भइसकेका छन् । आफू परराष्ट्रमन्त्री भएपछि विश्वले पनि मधेसलाई चिन्न थालेको जिकिर गर्ने उनी मधेस आन्दोलनले विश्वको ध्यान खिचेको दाबी गर्छन् ।
परराष्ट्रमन्त्रीका रूपमा विदेश जाँदा उनीसँग मधेसको अवस्था, आन्दोलन र अधिकारलगायत भएका कुराकानी, पछिल्लो समय विभिन्न देशको मधेसप्रतिको नजर कस्तो छ ? मधेसका दल तथा व्यक्तिहरूसँग वैदेशिक सम्बन्ध कसरी बढेको छ ? लगायत विषयमा उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः
- तपाईं परराष्ट्रमन्त्री पनि हुनुभयो, त्यसबखत मधेससँग अन्तर्राष्ट्रिय सम्बन्ध कस्तो पाउनुभयो ?
– देश–देशको बिचमा अन्तर्राष्ट्रिय सम्बन्ध हुन्छ । मधेस पनि नेपालमै छ । कुनै पनि देशले नेपाललाई हेर्ने दृष्टिले नै मधेसलाई हेर्ने गरेको छ । मधेसलाई अलग र देशलाई अलग तरिकाले हेर्ने कुरा हुँदैन । कुनै मुद्दाका आधारमा फरक दृष्टिले हेर्ने कुरा अलग हो तर समग्रमा देशसँग जुन व्यवहार हुन्छ, त्यही व्यवहार देशका हरेक जातजाति, समुदायसँग पनि हुन्छ । तर मधेस भनेको त एक किसिमले अहिले पनि आन्तरिक उपनिवेश नै हो । औपनिवेशिक जनताले जुन–जुन उत्पीडनहरू भोग्छन्, त्यो मधेसीहरूले भोग्नुपरेको छ । यो आन्तरिक उपनिवेश हो ।
मधेसको आर्थिक शोषण, सामाजिक प्रभुत्व (सोसियल डोमिनेसन), आर्थिक दोहन (इकोनोमिक एक्सप्लोइटेसन) र सीमान्तीकरण (मार्जिनलाइजेसन), बहिष्करणमा पार्ने काम भइरहेको छ । उनीहरूलाई देशमा मधेसी समुदाय, जनजाति, दलित, थारु, मुस्लिम पनि छन् भन्ने जस्तो लागेको छैन ।
उनीहरूको देशको स्रोत र साधनमा पहुँच छैन । पहुँच अर्कै समुदायको स्रोत–साधनमा छ । आफ्नो पहिचानको मान्यता नै छैन । आफ्नो भाषा प्रयोग गर्न पाउँदैनन् । मैले मेरो भाषामा स्कुलमा पढ्न पाउँदिनँ, मेरा बच्चाले मेरो भाषामा पढ्न पाउँदैनन् भने यो, यो, योचाहिँ उपनिवेश होइन ? यो आन्तरिक औपनिवेशिक उत्पीडनबाट देशमा जनजातिहरू, मधेसीहरू, उत्पीडित समुदायहरू शोषित र पीडित रहेका छन् । यसको अन्त्य नभईकन मुलुक कसरी अगाडि बढ्छ त ?
_ogybVHedQ1.jpg)
- विश्वजगत्ले नेपालमा रहेको मधेसलाई कसरी बुझेको छ ?
– विश्वले पनि बुझ्दै गएको छ कि नेपालमा मधेसी समुदाय वा आदिवासी जनजातिलगायतप्रति राज्यको नीति नस्लवादी छ, जातिवादी छ र विभेदकारी छ । यो कुरा अन्तर्राष्ट्रिय जगत्मा स्थापित भइसकेको छ । नेपालका शासकले मधेसलाई कसरी हेरेका छन्, कसरी हेपेका छन्, कसरी किनारामा पारेका छन् भन्ने कुरा अन्तर्राष्ट्रिय जगतलाई राम्रोसँग थाहा छ । ती देशका अनुसन्धानकर्ताहरूले अनुसन्धान नै गरेका छन् । विभिन्न प्रतिवेदनहरू नै बाहिर आएका छन् । किताबहरू नै प्रकाशन भएका छन् ।
मधेस आन्दोलनको समयमा विश्वको नजर हामीतिर थियो । विश्वका पत्रकार तथा अनुसन्धानकर्ताहरू नेपाल आएर मधेस आन्दोलनको बारेमा अध्ययन गरेका थिए ।
- मधेसमा विभिन्न संगठनहरू छन्, दलहरू पनि छन्, ती संगठन र राजनीतिक दलहरूको सम्बन्ध अन्य देशहरूसँग कस्तो छ?
– संगठन र राजनीतिक दलहरूको सम्बन्ध देशसँग हुँदैन । विभिन्न देशसँग सम्बन्ध बनाउने काम राज्यले कूटनीतिक हिसाबले गरेको हुन्छ । तर राजनीतिक रूपमा त्यहाँका राजनीतिक दल, व्यक्ति, संघसंस्थासँग आफ्नो तरिकाले सम्बन्ध बनाएका हुन्छन् । वेलावेलामा एक–अर्का देशमा भ्रमण भइरहेका हुन्छन् । कार्यक्रमहरूमा अतिथिको रूपमा बोलाउने काम भएको हुन्छ । यो एक खालको सम्बन्ध हो ।
- तराई मधेसकेन्द्रित दलहरूको सम्बन्ध त्यस्तो खालको छ र ?
– छन् नि । विभिन्न देशमा प्रवासी संगठनहरू छन् । ती संगठनहरूले एक खालका सम्बन्धहरू बनाइरहेका हुन्छन् । खासगरी समाजवादी संगठनहरूले पनि नेपालमा जातीय, लैङ्गिक, धार्मिक, सामाजिक, आर्थिक विभेद र असमानता छ र त्यहाँ उत्पीडन छ भन्ने कुरालाई स्वीकारेका छन् । यो ठुलो कुरा हो ।
हामी प्रोग्रेसिभ एलायन्सको सदस्य हौँ, र त्यो प्रोग्रेसिभ एलायन्समा १३२ वटा पार्टीहरू छन् । तिनीहरूसँगको बिचमा हाम्रो राम्रै सम्बन्ध छ ।
- मधेस आन्दोलनको क्रममा मधेसलाई अन्तर्राष्ट्रिय जगतले निकै नोटिस गरेको थियो । मधेस आन्दोलनलाई अन्तर्राष्ट्रियकरण गर्न तपाईंको पनि भूमिका थियो, त्यो वेला के–के भएको थियो ?
– मधेस आन्दोलनको समयमा विश्वको नजर हामीतिर थियो । विश्वका पत्रकार तथा अनुसन्धानकर्ताहरू नेपाल आएर मधेस आन्दोलनको बारेमा अध्ययन गरेका थिए । मधेस के हो, मधेसी कस्ता हुन्छन् भन्ने कुरा त्यसअघि विदेशीहरूलाई थाहा थिएन । मधेसीहरूको अधिकार के हो, केका लागि आन्दोलन गरिरहेका छन् भनेर बडो चासोपूर्वक उनीहरूले खोजिरहेका थिए । हामीले ती सबै कुराहरू अवगत गरायौँ । मधेसमा रहेका विभिन्न नागरिक समाज तथा परराष्ट्रका जानकारहरूले पनि यी कुराहरूलाई उजागर गरेर देशसम्म पुर्याएका थिए । युएनदेखि लिएर विभिन्न एजेन्सीहरूले मधेसमा चासो लिएका थिए ।
- त्यो अहिलेसम्म कायम छ कि छैन ?
– अन्तर्राष्ट्रिय जगतले अहिले पनि मधेसलाई आफ्नो नोटिसमा राखिरहेको छ । वेलावेलामा अहिले पनि हामीसँग सोधिरहेका हुन्छन् । विभिन्न मुद्दामा हामीसँग चासो लिइरहेका हुन्छन् । कहिलेकाहीँ कार्यक्रमहरू हुँदा हामीलाई पनि निमन्त्रणा दिएर बोलाएका हुन्छन् । हामी पनि वेलावेलामा उनीहरूलाई बोलाएर अन्तरक्रिया गरेका हुन्छौँ । समग्रमा भन्ने हो भने मधेस आन्दोलनपछि मधेसलाई पनि अन्तर्राष्ट्रिय जगतले नोटिसमा राखेको छ र सम्बन्ध बनाउने प्रयासहरू गरिरहेका हुन्छन् ।
- जसपा नेपालको दलगत हिसाबले कुन–कुन देशसँग सम्बन्ध छ ?
– देशसँगको सम्बन्ध हाम्रो हुँदैन । दलगत, संस्थागत हुन्छ । हामी प्रोग्रेसिभ एलायन्सको सदस्य हौँ, र त्यो प्रोग्रेसिभ एलायन्समा १३२ वटा पार्टीहरू छन् । तिनीहरूसँगको बिचमा हाम्रो राम्रै सम्बन्ध छ । त्यो एलायन्समार्फत हामीले मधेसका कुराहरू विश्वस्तरको मञ्चमा पुर्याइरहेका छौँ ।
- चीन, भारत, अमेरिकालगायत देशहरूले मधेस आन्दोलनपछि मधेसलाई पछ्याइरहेको देखिन्छ, मधेसमा उनीहरूको पनि उपस्थिति ठाउँ–ठाउँमा देखिन्छ । पछिल्लो समय चीनले पनि मधेसलाई एकदमै नोटिसमा लिएको जस्तो देखिन्छ, मधेसलाई साँच्चै ती देशहरूले बुझिसकेका छन् कि अझै बुझ्ने प्रयास गरिरहेका छन् ?
– होइन, नबुझेको त होइन, बुझिसकेका छन् । तर उहाँहरूको सीमा हो । यो मधेस भनेको नेपालको आन्तरिक मामिला हो । आन्तरिक मामिला भएर बोल्न सकेका छैनन् । तर बुझ्नलाई सबै कुरा उनीहरूलाई थाहा छ । मधेसमाथि विभेद छ भन्ने कुरा अधिकांश देशहरूलाई थाहा छ । हामीसँगको भेटघाटमा भनिरहेका हुन्छन् । तर उनीहरू खुलेर बोल्न मिल्दैन, हस्तक्षेप गर्न मिल्दैन । देशको आन्तरिक मामिला हो भनेर उनीहरूले बुझेका छन् ।
_AfBLzQ7jLJ.jpg)
- मधेसको झुकाव भारततिर बढी देखिन्छ, चीनतिर त्यति देखिँदैन, किन त्यस्तो ?
– भारत र चीन दुवै हाम्रा छिमेकी हुन् । तर मधेसीसँग भारतको विशेष सम्बन्ध छ । त्यस्तो हुनुको कारण त्यहाँको भाषा, संस्कृति, रङ–रूप, रहन–सहन सबै मिल्छ । त्यही भएर त्यतातिर अलि बढी झुकाव राखेको जस्तो देखिन्छ । नेपालमा बसोबास गर्ने परम्परागत समुदायहरू र भारतका समुदायहरू एउटै समुदाय त हुन् । त्यसमा केही फरक छैन । त्यसैले भारतसँग हाम्रो विशेष सम्बन्ध रहेको छ । र त्यो स्वाभाविक पनि हो ।
राम्रोभन्दा पनि के मानेमा राम्रो भन्ने ? हाम्रो सम्बन्ध चीनसँग पनि राम्रै छ, भारतसँग पनि राम्रै छ, अमेरिकासँग पनि राम्रै छ, अन्य युरोपेली मुलुकहरूसँग पनि राम्रै छ ।
भारतसँगको यो सम्बन्ध राजनीतिकभन्दा, कूटनीतिकभन्दा धेरै माथिको सम्बन्ध हो । यो कूटनीतिसँग जोडिँदैन । राजनीतिक रूपले समयमा कोही कता, कोही कता होला, तर मधेसी समुदायलगायतको जुन सम्बन्ध छ, नेपालीहरूको जुन सम्बन्ध भारतीय समुदायहरूसँग छ, चाहे त्यो धार्मिक होस् वा जातीय वा सामाजिक होस्, त्यो सम्बन्ध विश्वका अरू देशसँग छैन । भारतको इतिहास पनि खोज्दै जाने हो भने, इतिहास पनि, प्राचीन इतिहास पनि साझा नै छ । भनेपछि त्यहाँ झुकाव हुनु र गहिरो सम्बन्ध हुनु त स्वाभाविक नै हो ।
- तर पछिल्लो समय मधेसको आकर्षण चीनतिर पनि देखिएको छ, घुम्न पनि जान्छन्, त्यहाँ संवादहरू पनि गर्न जान्छन्, त्यो कसरी परिवर्तन भयो ?
– नेपाल–भारतको बिचको जुन सम्बन्ध छ, ऐतिहासिक सम्बन्ध, त्यसको ठाउँ अरूले लिन सक्दैन । भारतको ठाउँ नेपालमा अरूले लिन सक्दैन । यद्यपि, हामीले हाम्रा अन्य छिमेकी मित्रहरू र हाम्रा सहयोगी मित्र राष्ट्रहरू, मित्रहरूसँग पनि सम्बन्ध राम्रो राख्नुपर्छ । मैले अघि पनि भनेँ नि, कि मधेसलाई अरू–अरू देशले पनि बुझ्न थालेका छन्, मधेसमा काम गर्न थालेका छन् । तर जेजस्तो भए पनि भारतको ठाउँ अरू देशले लिन सक्दैन ।
- तपाईं र तपाईंको पार्टीको सम्बन्ध अरू देशभन्दा चीनसँग राम्रो छ भनिन्छ नि ?
– राम्रोभन्दा पनि के मानेमा राम्रो भन्ने ? हाम्रो सम्बन्ध चीनसँग पनि राम्रै छ, भारतसँग पनि राम्रै छ, अमेरिकासँग पनि राम्रै छ, अन्य युरोपेली मुलुकहरूसँग पनि राम्रै छ । सबैसँग राम्रो सम्बन्ध छ हाम्रो । कसैको विरुद्धमा, कसैको पक्षमा हामी कहिल्यै गएका छैनौँ । कूटनीतिक सम्बन्ध सबैसँग राम्रो राख्नुपर्छ । र देशको हितमा काम गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण