ज्वाइँ र देवर तुइनबाटै झरे, छोरालाई पनि तुइनले लग्यो
सारांश
- दार्चुलाका एक व्यक्तिको तुइनबाट खसेर मृत्यु, श्रीमती गर्भवती छिन्।
- मृतकले पसल चलाएर परिवारको गुजारा चलाउँदै आएका थिए, छोरा र आमाको विचल्ली।
- घटनापछि परिवारलाई आर्थिक र सामाजिक समस्या, स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
धनगढी । दार्चुलाको व्यास गाउँपालिका–२ निवासी नारायण बुढाथोकी र जानकीले बिहे गरेको ११ वर्ष पुग्दैछ । तीन वर्ष यता नारायणले गाउँमा एउटा सानो पसल चलाउँदै आएका थिए । त्यही पसलको कमाइले नारायणको परिवारले गुजारा चलाउँदै आएको थियो ।
गर्भवती अवस्थाकी जानकी पतिशोक झेल्न बाध्य भइन् । सुखका दिन आउलान् कि भन्ने हुँदानहुँदै उनीमाथि पीडा थपियो । गर्भमा रहेको सन्तानलाई जन्माइ–हुर्काइ कसरी गर्ने, १० वर्षको छोरालाई पढाइ–लेखाइ गराउनमात्र होइन, सासुको हेरचाह, नन्दको भविष्यको चिन्ता पनि उनकै काँधमा आइलागेको छ ।
असार ३१ गते गर्भवती श्रीमतीका लागि खानेकुरा र लुगाकपडा किन्न नारायण सदरमुकाम खलङ्गा जान निस्किए ।
‘कपडा र खानेकुराहरू ल्याउँछु भनेर उहाँ सदरमुकाम निस्कनुभयो,’ जानकीले भनिन् । सदरमुकाम जान उनले महाकाली नदी तर्नुपरथ्यो । सधैँजस्तै उनी तुइनको सहारामा नदी तर्दै थिए । त्योभन्दा दुई–तीन दिनअघि पनि उनले त्यही तुइनबाट पसलको सामान ल्याएका थिए । कैयौँ पटक उनले त्यो तुइन तरिसकेका थिए ।

घटनाको दिन बिहानै उठेर नारायण पसलमा गए । पसल घरबाट अलि टाढा छ । तल सडक छेउमा टिन लगाएर उनले पसल थापेका थिए । नारायणले पसलमा चिया बनाए । आफूले पिए, छोरालाई पनि दिए । छोरालाई ‘तँ यहीँ बस् बाबु, म जान्छु’ भनेर नारायण बिहान ८ बजेतिर सदरमुकाम खलङ्गा जान निस्किए ।
‘साढे आठ बजेतिर मलाई फोन गर्नुभएको हो । म जान्छु, बेलुका छिट्टै आउँछु भन्नुभएको थियो,’ जानकीले भनिन् ।
दुम्लिङ घाटमा महाकाली तर्नुपर्ने भयो । बिहान करिब नौ बजेतिर तुइनको डोरी चुँडियो र उनी महाकालीमा खसे । उता घरमा गर्भवती श्रीमती भने श्रीमान् कता पुगे होलान् भन्दै फोन गर्थिन्, तर सम्पर्क हुन सकेन ।
‘बिहानको खाना बनाएँ, फोन त लागिरहेको छैन, एकचोटि पसलतिर जाउँ कि भनेर सोचिरहेकी थिएँ । त्यतिवेला घरमा मान्छेहरू आएर यस्तो–यस्तो भयो भने,’ जानकीले सुनाइन् ।
_GEtyF7uJiH.jpg)
दुम्लिङमा महाकाली तर्न झुलुङ्गे पुल छैन । त्यही तुइनको सहारामा त्यहाँका मान्छे महाकाली तर्छन् । नारायण पनि धेरै पटक त्यही तुइन तरेर आउजाउ गर्थे । पसलको सामानका लागि उनको आवतजावत बढी हुन्थ्यो । वैशाखसम्म पैसा लिएर तुइन चलाउने मान्छे हुन्छन्, तर अहिले बर्खामा भने जाने–आउनेले आफैँ तुइन तान्नुपर्छ । जोखिम मोल्नु त्यहाँका स्थानीयको बाध्यता हो ।
हाल नारायणको पसल १० दिनदेखि बन्द छ । पसलमा उनी चाउमिन, चिया, अण्डा, बिस्कुट, मिठाइहरू बिक्री गर्थे । घरमा रहेको पसललाई उनले सडक सुविधा पुगेपछि त्यहाँ सारेका थिए । रोड बनाउँदा उनको जमिन पनि मासियो । बचेको आफ्नै जमिनमा उनले पसल थापे । त्योभन्दा अघि उनी बाख्रा पाल्थे ।
‘बाख्रामात्रै कति चराउने ? अब सक्दिनँ म जङ्गलैजङ्गल जान । अब घरमै बस्ने भनेर उहाँले पसल खोल्नुभएको थियो,’ जानकीले भावुक हुँदै भनिन् ।
यार्सा टिपेर बिक्री गरेको पैसाबाट नारायणले पसल थापेका थिए । सानैमा बाबा गुमाएका नारायणले पैसा नभएर पढाइ गर्न पाएनन् । जेनतेन उनले कक्षा ८ पास गरे । त्यसपछि काममै लागे । श्रीमती जानकीले भने १० कक्षासम्म पढेकी छन् ।
_3bTkYlu7jV.jpg)
‘हामी दुवैले पैसाको अभावमै पढ्न पाएनौँ । त्यसमाथि बिहे भयो, जिम्मेवारी थपियो,’ जानकीले भनिन् ।
नारायणकी आमा कुसमा देवीले पनि जीवनमा धेरै दुःख र अभाव भोगेकी थिइन् । पछिल्लो समय नारायणले आमाको जीवनमा पनि खुसी ल्याइदिएका थिए । तर, घरको खम्बा ढल्दा नारायणकी आमा कुसमा देवी पनि असह्य पीडामा छिन् ।
२२ वर्षअगाडि कुसमाका श्रीमान (नारायणका बुबा) बिते । त्यसपछि दुई वटा छोरा बिमारले च्यापेर उपचार अभावमा बिते । उनीहरू नारायणका भाइ थिए । अहिले फेरि जेठो छोरा नारायणलाई पनि सधैँका लागि गुमाउँदा कुसमाको सर्वस्व लुटिएको छ । उनी वेलावेलामा बेहोस हुन्छिन् ।

‘मेरो त एउटा होइन, दुईटा होइन, तीन वटा छोरा गए, बुढा पनि गए,’ कुसमा देवीले रुँदै भनिन् ।
श्रीमान बितेपछि अर्काको भारी बोक्दै तीन छोरा र एक छोरीको लालनपालन कुसमा एक्लैले गरिन् । ‘भारी बोकेर हुर्काएर पालेका तीनै छोराहरू दैवले मबाट पालैपालो चुँडेर लग्यो,’ उनी भन्छिन् ।
कुसमाका चार सन्तानमध्ये २२ वर्षकी छोरी साथमा छिन् । गर्भवती बुहारी, १० वर्षको नाति र छोरीलाई सम्हाल्नुपर्ने जिम्मेवारी फेरि कुसमाको काँधमा आएको छ । छोरी भावनाले एसईई पास गरेपछि पढाइलाई निरन्तरता दिन पाएकी छैनन् ।
बुहारी जानकीको बिहीबार सुत्केरी हुने समय दिइएको थियो । उनलाई खलङ्गा जिल्ला अस्पताल, दार्चुला लैजाने तयारी छ । गाउँबाट दुई घण्टा पैदल हिँडाएर मालघाटसम्म पु-याउने, त्यहाँबाट झोलुङ्गे पुल तरेर पारी भारत पुग्ने र गाडी चढेर सदरमुकाम खलङ्गा अस्पताल पु-याउने उनीहरूको तयारी छ ।
‘बुहारीसँग छोरी पठाउँछु । घरमा हिजोअस्ति त छोरा बितेको । घर कसरी छोड्ने ? म जाउँ कि कसो गरौँ भन्ने दोधारमै परेकी छु,’ कुसमा देवीले भनिन्, ‘बच्चा पाउने वेला म पनि जानुपर्ला । घरमा गाई छ ।’
घटनापछि उनको घरमा सान्त्वना दिन वडा अध्यक्षलगायत जनप्रतिनिधिको टोली आएको थियो । वडा अध्यक्षले ६ हजार रुपैयाँ सहयोग दिएका थिए ।
लगातार एकपछि अर्को घटना घरमा हुँदा कुसमा तर्सिएकी छन् । ‘घरको माटो पनि राम्रो छैन भन्छन् । घरको माथि ठुलो ढुङ्गा छ, त्यही ढुङ्गाको दोष छ भन्छन् गाउँलेहरू । त्यो घरबाट सर्नुपर्छ भन्छन्, तर अर्को ठाउँमा जाने अवस्था छैन, जमिन पनि छैन । पहिला अर्काको जमिन किनेर बनाएको घर हो,’ कुसमाले भनिन् ।
उनको आफ्नो कमाइखाने जग्गा जमिन छैन । माइतीले दिएको गाई पालेकी उनले माइतीकै जमिनमा खेतीपाती गर्दै गुजारा चलाउनु परेको छ ।
ब्यास गाउँपालिका–२, तल्लो दुम्लिङका स्थानीय राज्यका सेवा–सुविधाको पहुँचमा पुग्न सकेका छैनन् । यहाँका मान्छे पारी भारततिर नगइ गुजारा चलाउन असम्भवजस्तै हुन्छ । भारततिर जान बिचमा महाकाली छ । महाकाली तर्नका लागि तुइन लगाउनुपर्छ ।
_21Rfwo1aZs.jpg)
कुसमा भन्छिन्, ‘नुन, तेलका लागि पनि इन्डिया जानुपर्छ, तुइन नलगाई हुन्न । मेरो एउटा ज्वाइँ (बहिनीको श्रीमान्) तुइनबाटै झरे, देवर पनि तुइनबाटै झरे । मेरो छोरा पनि अहिले यस्तै भयो । २०–२२ जना मान्छे त्यो तुइनबाट झरेर मरे ।’
उनका अनुसार महाकाली तरेर पारी भारत जान पनि सुख छैन । भारतीय सुरक्षाकर्मी (एसएसबी) ले कहिले तल भगाउने, कहिले माथि भगाउने, गाली गर्ने र कुट्ने गर्नाले मान्छेहरू सुटुक्क राति हिँड्न बाध्य रहेको उनको भनाइ छ ।
‘दुई दिनअघि मेरो छोरा राति तुइन चढेर पारी गएको थियो । छोराले धेरै दुःख गर्थ्यो । तुइन तरेर पारी नगए यहाँ केही रोजगारी चल्दैन । खान–लाउन पुग्दैन,’ कुसमा देवीले भनिन् ।
घरको आडभरोसा बनेको छोराकै मृत्युपछि कुसमालाई घरपरिवार कसरी चलाउने भन्ने चिन्ता छ । गर्भवती बुहारीको सुत्केरी हुने समय नजिकिँदै छ । १० वर्षको नाति र २२ वर्षकी छोरीको भविष्य अन्धकारमा छ । उनी सहयोगको खोजीमा छिन् ।

‘बुहारी त अहिले काम गर्न सक्दिनन्, छोरीका लागि केही काम पाए हुन्थ्यो । म धेरै समस्यामा छु, यो वेलामा कसले सहयोग गर्छ र ?’ उनले भनिन् ।
ब्याँस गाउँपालिकाका उपाध्यक्ष विनोह सिंह कुवरका अनुसार यस्ता घटनाबाट प्रभावित परिवारलाई गाउँपालिकाले क्रिया खर्च भनेर २५ हजार दिने गरेको थियो । यसअघिका घटनामा सहयोग रकम दिए पनि अहिले खाता बन्द हुँदा उपलब्ध गराउन नसकिएको उनको भनाइ छ ।
‘हामीले पहिला त्यस्ता घटनाहरूबाट प्रभावित भएकालाई कुनै न कुनै कार्यक्रममा जोडेका थियौँ, गाउँपालिकाबाट प्रदान हुने तालिममा प्राथमिकता दिएका छौँ,’ उनले भने ।
पीडित परिवारको घर छैन भने आवासको व्यवस्था गर्ने, आवश्यकताका आधारमा जागिर पनि दिने भन्ने रहेको र नारायणको मृत्युपछि परिवारको आर्थिक अवस्था नाजुक भएको कुवरको भनाइ छ । ‘त्यहाँ अहिले बाटोका कारण जान सकिएको अवस्था छैन, हामी पालिकाबाट हुने सहयोग गर्छौं,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लंका प्रिमियर लिगमा तीन नेपाली खेलाडी अनुबन्ध
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण