तुइन तर्ने क्रममा महाकालीमा खसेर नारायणजस्तै २४ जनाले ज्यान गुमाइसके, सदरमुकाम जोड्ने न बाटो बन्यो, न पुल
सारांश
- दार्चुलामा तुइनबाट खसेर एक युवक बेपत्ता भए, स्थानीयहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
- महाकाली नदीमा पुल नहुँदा स्थानीयले भारत हुँदै यात्रा गर्नुपर्ने बाध्यता छ, जसका कारण दुर्घटनाहरू भइरहेका छन्।
- स्थानीयहरूले झोलुंगे पुल निर्माणको माग गरे पनि भारतको असहमतिका कारण समस्या यथावत् छ।
कैलाली । दार्चुलाको व्याँसस्थित महाकाली नदीमा तुइनबाट खसेर एक युवक बेपत्ता भएका छन् । मंगलबार व्याँस गाउँपालिका–२ तल्ला दुम्लिङ्गका २८ वर्षीय नारायण बुढाथोकी तुइन तर्ने क्रममा तार चुँडिएर बेपत्ता भएका हुन् ।
गाउँपालिकाका उपाध्यक्ष विनोद सिंह कुवरका अनुसार उनी सामान किनमेलका लागि घरबाट सदरमुकामतर्फ हिँडेका थिए । महाकाली तरेर पारी भारत जाने र त्यहाँबाट फेरि दार्चुलाको सदरमुकाम जान उनले तुइनको बाटो रोजे । सोही क्रममा तुइन चुँडिएपछि उनी बेपत्ता भए । उनको खोजी गर्न अहिले निकै सकस छ ।
‘बर्खायाममा महाकाली नदीमा खोजीकार्य गर्न सकिँदैन, छेउछाउमा खोज्नसमेत घाँसपातले अप्ठ्यारो हुन्छ, नदी एकदम बढेको हुन्छ,’ उपाध्यक्ष कुवरले भने । उनका अनुसार व्याँस गाउँपालिका वडा नम्बर ६, ५, ४, २ बाट भारततिर जान महाकाली नदीमाथि झोलुंगे पुल छन् । तीन नम्बर वडामा भने पुल छैन । दुई नम्बर वडाको माल भन्ने ठाउँमा अहिले झोलुंगे पुल बनेको छ, तर तल्ला दुम्लिङ्गबाट त्यहाँ जान तीन घण्टा हिँड्नुपर्छ । दुम्लिङ्गबाट तुइन तरेर भारत जान आधा घण्टामात्रै लाग्छ ।
समय कम लाग्ने भएकाले दुम्लिङ्गका स्थानीयहरू तुइनबाट भारत जाने गर्दछन् । व्याँसमा लगातार तुइनबाट खसेर दुर्घटना भएपछि अहिले तुइनबाट तर्न अनुमति छैन ।
‘हामीले तुइन सञ्चालन गर्न दिएका छैनौँ, तर स्थानीयले सजिलोका लागि लुकीछिपी तुइन लगाएर नदी वारपार गर्ने गर्छन्, छिटो पुगिन्छ भन्ने हिसाबले तुइन लगाउँछन्,’ उपाध्यक्ष कुवरले भने ।
आफूहरूले झोलुंगे पुल निर्माणका लागि धेरै पटक काठमाडौँ धाएर माग गरेको उनको भनाइ छ । नेपाल सरकारले पुल निर्माणका लागि स्वीकृति दिए पनि भारतीय पक्षले स्वीकृति नदिएका कारण अहिलेसम्म नागरिकले जोखिम मोलेर तुइन प्रयोग गर्नुपरेको उनले बताए ।
‘झोलुंगे पुल निर्माणमा भारतको सहमति लिन कूटनीतिक हिसाबले नेपाल सरकारले पहल गर्नुपर्थ्यो,’ कुवरले भने, ‘यो दुखद् घटना हुनुमा हामी सबै जिम्मेवार छौँ । स्थानीयहरूलाई पनि घण्टौँ हिँड्नुपर्ने बाध्यता छ । त्यही भएर जोखिम मोलेरै तुइन प्रयोग गर्छन् ।’ स्थानीय सरकारले यसबारे केही गर्न नसक्ने उनको भनाइ छ ।
पाँच वर्ष अघि साउन १५ गते ३३ वर्षका जयसिंह धामी महाकाली नदीमै तुइन तर्ने क्रममा बेपत्ता भए । भारतीय सुरक्षाकर्मी (एसएसबी)ले तुइन काट्दा जयसिंह महाकाली नदीमा बेपत्ता भएको घटनाका प्रत्यक्षदर्शीले बताएका थिए । उक्त घटनापछि विभिन्न राजनीतिक दल, अधिकारकर्मी लगायतले भारतसँग यसबारे सशक्त ढंगले आवाज उठाउन सरकारलाई दबाबसमेत दिएका थिए ।
स्थानीय राजेन्द्रसिंह धामीका अनुसार त्यो घटनापछि मालमा अहिले झोलुंगे पुल बनेको छ । ‘हाम्रो बाजेको पालादेखिको तुइन अहिले त्यो ठाउँबाट विस्थापित भयो । त्योभन्दा पहिले पनि मालमा तुइनबाट खसेर धेरैले ज्यान गुमाएका छन्,’ उनले भने ।
२०७८ सालमा वडा नम्बर २, दुम्लिङ्गका १८ वर्षीय सचिन बुढाथोकी भारतको गर्बाधारबाट सामान लिएर घर फर्किने क्रममा तुइन चुँडिएर महाकाली नदीमा बेपत्ता भएका थिए ।
‘दुम्लिङ्गमा कति ज्यानको बलिदानपछि पुल बन्ने हो ? पटक पटक गुहार्दा पनि नसुन्ने सरकारलाई हामी के भनौँ ?’ धामीले आक्रोश पोखे । जनताको दुःख नदेख्ने नेतालाई चुनावमा जिताएर पठाउनु स्थानीयको ठुलो गल्ती रहेको उनको बुझाइ छ ।
‘हाम्रो दुःख नदेख्ने नेतालाई चुनावमा बारम्बार जिताएर पठाउनु हामी सबैको ठुलो गल्ती हो । कहिलेसम्म पराईको भूमिमा टेक्दै तुइन तरेर आफ्नो भूमिमा जानुपर्ने ? किन हाम्रो दुःख बुझ्दैन यो सरकारले ?’ धामीले प्रश्न गरे ।

व्याँस गाउँपालिका–२ मा मात्र २०४९ साल यता महाकालीमा तुइन तर्ने क्रममा खसेर २४ जनाको ज्यान गएको स्थानीय तहको तथ्याङ्क छ । नेपाली भूमिमा बाटो नभएकाले महाकाली नदीमा तुइन तरेर भारतीय भूमि हँुदै सदरमुकाम जानुपर्ने बाध्यतामा स्थानीय छन् ।
महाकालीमा तुइन तर्नेक्रममा नदीमा खसेर वडा नम्बर २ कामात्रै २४ जनाले ज्यान गुमाए पनि व्याँसबाट सदरमुकाम जान न अहिलेसम्म बाटो बन्यो, न पुल ।
स्थानीय स्वास्थ्य चौकीमा औषधि र जनशक्तिको अभाव भएकाले यहाँका नागरिक बिरामी, सुत्केरी, दुर्घटनामा परेको खण्डमा बोकेर सदरमुकाम ल्याउन भारतकै बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।
केही वर्ष अघि व्याँस गाउँपालिका–२, तल्ला दुम्लीङकी चनु बुढाथोकी सुत्केरी हुन तुइन प्रयोग गरेर भारतकै भूमि हुँदै दार्चुला सदरमुकाम जानुपरेको थियो । पारी सडकमा पुग्नासाथ जिपमै उनले छोरीलाई जन्म दिएको स्थानीय जनक धामीले बताए ।
धामीका अनुसार सोही वडाको मालकी गोविन्दी कार्कीले माइतीघर आउँदा र फेरि मार्मा फर्किंदा तुइन तर्नुपर्छ । हरेक वर्ष माइतीघर आउँदा उनले छोरीलाई छातीमा टाँसेर पछ्यौरीले बाँधेर तुइन तर्नुपर्छ ।
वारी बाटो नभएकै कारण स्थानीयवासी तुइन तरेर, काठेपुल प्रयोग गरेर र झोलुंगे पुल तरेर भारत पुग्छन् । त्यहाँका सडकमा गुड्ने गाडी चढेर उनीहरू सदरमुकाम पुग्छन् ।
‘गाउँपालिकाको झोलुंगे पुल भएका ठाउँका बासिन्दालाई सदरमुकाम जान सजिलो छ । काठेपुल र तुइनमात्र भएका क्षेत्रका स्थानीयले ज्यानको बाजी थापेर वारपार गर्नुपरेको छ,’ जनक धामीले भने ।
काठेपुलले हिउँदमा राहत पु¥याए पनि बर्खामा बाढी आउने भएकाले नदी तर्न मिल्दैन ।
दार्चुलाको सदरमुकाम खलंगाबाट व्याँस गाउँपालिकाको केन्द्र सुनसेरा पुग्ने एकमात्र बाटो छ । वडा नम्बर ४ सुनसेरा व्याँसको केन्द्र हो । गाउँपालिकाको कार्यालय यहीँ छ । यहीँ रहेको स्वास्थ्य केन्द्रमा एम्बुलेन्स पनि छ । तर हाल बाटो बिग्रेकाले एम्बुलेन्स चल्न सकेको छैन ।
वर्षा भएपछि ठाउँठाउँमा पहिरो खस्दा सडक बन्द भएर व्याँसका ६ वटै वडाका नागरिक नेपाली भूमिको बाटो हिँड्न पाउँदैनन् । उनीहरू भारतको बाटो हुँदै सदरमुकाम पुग्न बाध्य छन् ।
गाउँपालिकाको वडा नम्वर १ मा पर्ने बस्ती तिंकर र छांरुका स्थानीयले त आफ्नो घर पुग्न भारतीय सुरक्षाकर्मीलाई पास देखाउनु पर्छ । पास नदेखाए उनीहरू घर जानसमेत पाउँदैनन् ।
नेपालकै भूमि भएर यहाँ पुग्ने बाटो नै छैन । दार्चुलाको सदरमुकाम खलंगादेखि प्रशासनको पास लिएर भारतको गर्भ्यांग÷सितापुल प्रयोग गरी उनीहरूले काठेपुल तर्नुपर्छ ।
भारतको थाइलेकमा आर्मीले स्थानीय बाहेकलाई प्रवेश दिँदैन । यसैले पास चाहिन्छ । वडाको सिफारिस जिल्ला प्रशाशन कार्यालयले स्थानीयवासीलाई पास दिन्छ । पासविना वडा नम्बर १ का नागरिक भारतको गर्भ्यांगमा जानै पाउँदैनन् ।
यहाँका नागरिक एक प्रकारले भारतमै निर्भर छन् । नेपाल सरकारले सकेको राहत सामग्री हेलिकोप्टरबाट दिन्छ, नसके भोकै बस्नुपर्ने बाध्यता यहाँका बासिन्दालाई छ ।
त्यहाँका मान्छे ६ महिना छांरु र ६ महिना खलंगा बस्छन् । त्यसैले उनीहरूको ठाउँमा अहिले स्कुल छैन । पहिला भएको स्कुल अहिले मर्ज भइसकेको अवस्था छ । व्याँसको वडा नम्बर २ मा पनि बाटो छैन । यो वडाको उत्तरतिर १ नम्बर र दक्षिणमा ३ न वडा पर्दछन् ।
‘१ नम्बर वडा जाने त बाटै छैन, ३ नम्बर भएर पालिकाको केन्द्र सुनसेरा आउन परे फतंगाड खोला वारी भत्केर हिँड्ने अवस्था छैन । त्यही भएर तुइन तर्नुपरेको हो,’ स्थानीय सुकुनसिंह धामीले भने ।
यही वडामा तुइन तर्ने क्रममा पााच वर्ष अघि ३३ वर्षका जयसिंह धामी बेपत्ता भएका हुन् । अहिले भने यहाँ झोलुंगे पुल बनेको छ ।
व्याँस जान खलंगाबाट ५ किलोमिटर पर राताकाठा पुगेपछि दुई विकल्प छन्– तल कालागाडको बाटो र माथिल्लो दुहु गाउँपालिकाको हिकिला भएर जानेबाटो ।
कालागाड भएर हिँड्न ज्यानको बाजी लगाउनुपर्ने स्थानीय बताउँछन् । ‘सात वर्ष अघि सोही सडकमा पीसीसी बनाउने २ जना मजदुर पहिरो खस्दा मरे । यो बाटोमा पहिरो, ढुंगा खस्ने भएकाले ज्यानको जोखिम छ,’ सुकुनसिंह धामीले भने ।
अर्काे हिकिला भएर जाने बाटोमा वर्षका केही महिनामात्र ट्याक्टर र एम्बुलेन्स गुड्न सक्छन् । यहाँ यात्री बोक्ने गाडी चल्दैनन् ।
कालागाडको बाटो र हिकिलाको बाटो दुवै हुतीमा आएर मिल्छन् । हुतीबाट सुन्सेरा पुग्न तीन घण्टा लाग्छ । हुतीसम्म एम्बुलेन्स पुग्छ ।
‘यो बाटो पैदल हिँडेर सदरमुकाम पुग्न दिनभरि लाग्छ, ट्याक्टरमा वा एम्बुलेन्स बुक गर्नुपर्छ । त्यसका लागि ३५ किलोमिटरको १२ देखि १५ हजार रुपैयाँ पर्छ,’ उनले भने ।
यसकारण सुन्सेराबाट आउन परे स्थानीयले भारतको भूमि प्रयोग गर्छन् । वडा नम्बर ४ सुनसेराबाट खलंगा पुग्न पहिला वडा नम्बर ५ दौलाकोट जानुपर्छ ।
वडा नम्बर ५ को तिग्रममा महाकाली किनार पुगेपछि झोलुंगे पुल छ । पारी भारतको एलागाड पर्छ । वडा नम्बर ४ र ५ का नागरिक त्यहाँबाट गाडी चढेर खलंगा पुग्छन् । भारतको धारचुलासम्मै गाडीमा पुगिन्छ । झोलुंगे पुल तरेर वारी आए सदरमुकाम खलंगा पुगिन्छ ।
‘यो बाटोको भाडा पहिले ५० रुपैयाँ थियो अहिले १०० भारु भन्दा बढी भाडा लाग्छ,’ जनक धामीले भने ।
वडा नम्बर ५ का स्थानीय भारतको बाटो भएर २ घण्टामा खलंगा पुग्न सक्छन् भने नेपालकै बाटो आए ६ घण्टासम्म पैदल हिँड्नुपर्छ ।
वडा नम्बर ३ र ५ बाट भने सुनसेरासम्म मोटरबाटो बनेको छ । स्थानीय सरकार आएपछि यो बाटो बनेको हो । ६ नम्बर वडामा बडुगाउँमा नेपाल भारत जोड्ने महाकालीमाथि झोलुंगे पुल बनेको छ । यो बनेपछि भारतको बाटो प्रयोग गरेर खलंगा पुग्न सहज भएको छ ।
व्याँस गाउँपालिकाका ६ वटै वडाका नागरिकले भारतको भूमि प्रयोग गर्नुपर्छ । यसको मुख्य कारण दुरी छोटो भएर हो । नेपालमै बाटो बन्नुपर्छ भन्ने यहाँका नागरिकको माग छ । भारतको भूमि प्रयोग गर्न नपरे हुन्थ्यो भन्ने उनीहरू चाहन्छन् ।
कछुवा गतिमा अघि बढिरहेको तिंकर सडकले समस्या भइरहेको स्थानीयको भनाइ छ । तिंकर सडक बने यहाँका नागरिकले तुइन तर्नुपर्ने बाध्यता हट्छ । किनकि सुविधा भए मान्छेले ज्यान जोखिममा नहाल्ने स्थानीयहरूको भनाइ छ ।
चट्टान, पहिरोमात्र होइन, सरकारको बेवास्ताले पनि तिंकर सडक निर्माणमा ढिलाइ भइरहेको छ । दार्चुला–तिंकर सडक योजना कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलासम्म २९१ किलोमिटर र दार्चुलादेखि तिंकरसम्म १३४ किलोमिटर लम्बाइमा दुई खण्डमा विभाजन गरिएको छ ।
दार्चुला तिंकरखण्डको निर्माणको सम्झौता आर्थिक वर्ष २०६६/०६७ मा भएको थियो । सो खण्डको अहिलेसम्म ४७ किलोमिटरभन्दा बढी ट्रयाक खोलिएको छ । सडक खण्डको ८७ किलोमिटर ट्रयाक खोल्ने काम नेपाली सेनालाई दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण