शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
पदाधिकारी बैठक

संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता पठाउने राष्ट्रपतिको निर्णय सकारात्मक : कांग्रेस

शुक्रबार, ०९ साउन २०८२, १६ : ३९
शुक्रबार, ०९ साउन २०८२

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’लाई संसदमै फिर्ता पठाउने कार्य सकारात्मक भएको बताएको छ । 

शुक्रबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा राष्ट्रपति पौडेलले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्मा फिर्ता पठाएको विधेयकबारे कुरा उठेको थियो । 

विषय उठेपछि जवाफ दिँदै सभापति देउवाले राष्ट्रपति पौडेलले संविधानअनुसार जे गर्नुभयो, ठिक गर्नुभयो भनेका थिए ।  ‘संविधानको धारा ११३ को संवैधानिक अधिकारअनुसार राष्ट्रपतिजीले नै जे गर्नुभयो, यसलाई ठिक गरेको भनेर लिनुपर्छ । कांग्रेसले राष्ट्रपतिले विधेयक फिर्ता पठाएको विषयलाई सकारात्मक मानेको छ,’ देउवाले बैठकमा भनेका थिए, ‘बाँकी कुरा अब प्रक्रियाबाट अगाडि बढ्ला ।’ 

राष्ट्रपति पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक बिहीबार संसद्‌मै फिर्ता गरेका थिए । पौडेलले विधेयकमा गर्न खोजिएको संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकूल भएकाले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामै फिर्ता गरिएको उल्लेख गरेका थिए । 

त्यो विषयलाई लिएर एमालेले आपत्ति जनाएको छ । कांग्रेसका नेताहरूले भने यसबारे सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।   संशोधन विधेयक प्रमाणीकरणका लागि दुई सदनबाटै पारित गरेर असार ३२ गते राष्ट्रपति कार्यालयमा पठाइएको थियो ।  पौडेलले एक साता अध्ययन गरेर फिर्ता पठाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप