७२ लाखमा बनाइएको लिफ्ट सिँचाइ आयोजना एक दशकदेखि अलपत्र
सारांश
- कञ्चनपुरको शुक्लाफाँटामा लिफ्ट सिँचाइ आयोजना एक दशकदेखि अलपत्र परेको छ, जसले गर्दा किसानहरू सिँचाइ सुविधाबाट वञ्चित भएका छन्।
- एसियाली विकास बैंकको सहयोगमा बनेको यो आयोजना नदीले धार परिवर्तन गरेपछि सञ्चालन हुन सकेन, जसले गर्दा ठूलो बजेट आवश्यक परेको छ।
- आयोजना सञ्चालनका लागि बजेट अभावका कारण विद्युतीय मोटरलगायतका सामग्री चोरी हुन थालेका छन्, जसले गर्दा स्थानीय चिन्तित छन्।
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ आमघाटस्थित लिफ्ट सिँचाइ आयोजना एक दशकदेखि अलपत्र परेको छ । किसानलाई वनहरा नदीबाट पानी लिफ्ट गरी सिँचाइ गर्नका लागि ७२ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको उक्त आयोजना सञ्चालनमा नआउँदै अलपत्र परेको हो ।
सङ्घीय सरकार र एसियाली विकास बैंक (एडीबी)को संयुक्त लगानीमा सामुदायिक सिँचाइ आयोजना (सीआईपी) कार्यक्रमअन्तर्गत २०७२ मा लिफ्ट सिँचाइ आयोजना निर्माण गरिएको थियो । किसानलाई ६४ हेक्टर क्षेत्रफल जग्गामा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले आयोजना निर्माण गरिएको आमघाट लिफ्ट सिँचाइ आयोजनाका अध्यक्ष भीमसेन रानाले बताए ।
'आयोजना निर्माण भएको वर्ष वर्षामा आएको बाढीले गर्दा नदीले धार परिवर्तन गर्यो', उनले भने, 'नदीलाई फर्काउन सकेनौँ, त्यसपछि आयोजना सञ्चालनमा आउन सकेन् ।' निर्माण व्यवसायीले एक पटक पानी पाइप लाइनमार्फत पुर्याएको जनाउँदै उनले पछि बाढीका कारण आयोजना सञ्चालन हुन नसकेको उल्लेख गरे ।
पटक–पटक प्रदेश र नगरपालिका कार्यालयमा आयोजना सञ्चालनका लागि बजेटको माग गर्दै पुगेपनि सुनवाइ हुन नसकेको अध्यक्ष रानाको भनाइ छ । आयोजना सञ्चालनमा ल्याउनका लागि वैकल्पिक उपायका रूपमा डिप बोरिङ गरे मात्रै सम्भव हुने उनले बताए ।
नदी फर्काएर अहिले ल्याए पनि अर्को बर्खातको बाढीमा पुरानै धारमा बग्ने भएकाले आयोजनालाई ‘रिभर वेस’मा आधारित भएर चलाउन सम्भव नहुने अध्यक्ष रानाको भनाइ छ । उनका अनुसार आयोजनाअन्तर्गत पाँच केभिएको ट्रान्सफर्मर राख्ने, विद्युत्को थ्रिफेस लाइन राख्ने, विद्युतीय मोटर जडानलगायत यन्त्र राख्ने घर निर्माण गरिएको छ । सिँचाइका लागि किसानका खेतमा पाइप लाइन बिछ्याउने कार्य गरिएको शुक्लाफाँटा–१२ का वडाध्यक्ष नवलसिंह रानाले बताए । वडाको बजेटले आयोजनालाई सञ्चालन गर्न सकिने उनको भनाइ छ ।
'आयोजनालाई पूर्ण रूपमा सञ्चालन गर्न नदी फर्काउनुपर्ने हुन्छ', उनले भने, 'त्यसका लागि ठुलो बजेट आवश्यक पर्नेमा त्यो वडासँग छैन ।' नगर र प्रदेश सरकारसँग बजेटका लागि पहल गर्ने र आयोजना सञ्चालनमा आएका लालझाडी गाउँपालिकाका दुई सय र शुक्लाफाँटाका दुई सय परिवार लाभान्वित हुने उनले जानकारी दिए ।
सिँचाइ आयोजना अलपत्र परेपछि पानी तान्न राखिएका विद्युतीय मोटरलगायत सामग्री चोरी हुन थालेका छन् । गएको महिना मात्रै विद्युतीय मोटर चोरी हुँदै गर्दा स्थानीयले बरामद गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण