शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

छानबिनकाे घेरामा शाओलिन ‘कुङ फु’ मन्दिरका प्रमुख भिक्षु

सोमबार, १२ साउन २०८२, १३ : १०
सोमबार, १२ साउन २०८२

सारांश

  • शाओलिन मन्दिरका प्रमुख भिक्षु शी योङसिनमाथि पैसा अपचलन, महिलासँग अनुचित सम्बन्ध र नाजायज सन्तान जन्माएको आरोपमा छानबिन भइरहेको छ।
  • १९९९ देखि शाओलिन मन्दिरको जिम्मेवारी सम्हालेका शीलाई ‘सीईओ भिक्षु’ को उपाधि दिइएको थियो, तर छानबिन सुरु भएपछि उनको नियुक्ति प्रमाणपत्र खोसियो।
  • चीनको बुद्धिस्ट एसोसिएसनले शीको क्रियाकलापले बौद्ध समुदायको प्रतिष्ठामा क्षति पुगेको जनाएको छ।

बेइजिङ । विश्वको सबैभन्दा चर्चित शाओलिन मन्दिरका प्रमुख भिक्षु शी योङसिनमाथि छानबिन भइरहेको छ । कयौँ एजेन्सीहरूले शीलाई पैसा अपचलन गरेको, अनेक महिलासँग अनुचित सम्बन्ध राखेको र नाजायज सन्तानलाई जन्म दिएको जस्ता आरोपमा छानबिनको घेरामा ल्याएको आइतबार मन्दिरले भनेको हो । १ हजार ५०० वर्ष पुरानो यो मन्दिर मध्य चीनको हेनान प्रान्तको पहाडी क्षेत्रमा छ । हरेक वर्ष संसारभरबाट हजारौँ चेला यहाँ शिक्षा लिनका लागि आउँछन् । 

शी १९९९ देखि शाओलिन मन्दिरको जिम्मेवारी सम्हालेर बसिरहेका छन् । संस्थालाई विश्वव्यापी ब्रान्डमा परिणत गरेपछि उनले ‘सीईओ भिक्षु’ को उपाधि पाएका थिए । छानबिन सुरु भएपछि उनको सबै नियुक्ति प्रमाणपत्र खोसिएको सोमबार चीनको बुद्धिस्ट एसोसिएसनले भनेको थियो । शिको क्रियाकलाप अति नै खराब रहेको अनि यसले बौद्ध समुदायको प्रतिष्ठा र भिक्षुहरूको छविमा गम्भीर क्षति पुर्‍याएको विज्ञप्तिमा बुद्धिस्ट एसोसिएसन अफ चाइनाले भनेको छ । 

शी को नेतृत्वमा शाओलिन मन्दिरले चीन बाहिर पनि यसका शाखा विद्यालय खोल्न सुरु गरेको थियो । सोमबार बिहान चीनको वेइपो एपमा शी छानबिनको घेरामा परेको खबर सबैभन्दा धेरै पढिएको विषय थियो ।

मन्दिरको कोष अपचलन गरेको अनि महिलाहरूसँग शारीरिक सम्बन्ध बनाएको आरोपमा २०१५ मा शीमाथि जाँच भएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप