आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

गुडिरहेको स्कुल बसबाट खसेर विद्यार्थीको मृत्यु, चालक नियन्त्रणमा

बिहीबार, २२ साउन २०८२, २१ : ३५
बिहीबार, २२ साउन २०८२

सारांश

  • सर्लाहीको बरहथवामा स्कुल बसबाट खसेर १३ वर्षीय बालकको मृत्यु भएको छ।
  • बरहथवा नगरपालिका-८ मा बसको ढोकाबाट खसेका बालकलाई अस्पताल लैजाँदा मृत्यु भयो।
  • प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ।

बरहथवा । सर्लाहीको बरहथवामा मंगलबार अपराह्न गुडिरहेको स्कुल बसको ढोकाबाट खसेर एक बालकको मृत्यु भएको छ ।

बरहथवा नगरपालिका-८ टाँडीस्थित भित्री सडक खण्डमा भएको उक्त दुर्घटनामा १३ वर्षीय फैजान शेखको ज्यान गएको हो । 

इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार बरहथवाबाट टाँडीतर्फ जाँदै गरेको कायाकल्प एकेडेमीको ग१ख ९५६८ नम्बरको बसको ढोकामा उभिरहेका वेला फैजान अचानक खसेका थिए । सर्लाहीको धनकौल गाउँपालिका-३ हरकठ्वा निवासी निसार शेखका छोरा फैजान सोही एकेडेमीमा कक्षा ३ मा अध्ययनरत थिए । 

दुर्घटनामा गम्भीर घाइते भएका फैजानलाई तत्कालै बरहथवास्थित संकटमोचन अस्पतालमा प्राथमिक उपचारका लागि लगिएको थियो । उनको अवस्था जटिल भएपछि थप उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा पठाइएको थियो । तर उपचारकै क्रममा चिकित्सकले साँझ सात बजे उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ । 

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायब उपरीक्षक निरन्जन भट्टराईको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले दुर्घटना गराउने बस र चालक बागमती नगरपालिका-१० निवासी २१ वर्षीय राज कुमार यादवलाई नियन्त्रणमा लिएको छ । 

चालक र बसलाई इलाका प्रहरी कार्यालय बरहथवामा राखी घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी भट्टराईले जानकारी दिए । घटनास्थल प्रहरी कार्यालयबाट करिब ६ किलोमिटर दक्षिणमा पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप