आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कर्णाली प्रदेश

गठबन्धनमा खटपटका बिच कर्णालीमा दुई दलीय संयन्त्रको बैठक

शनिबार, २४ साउन २०८२, १८ : ५५
शनिबार, २४ साउन २०८२

सारांश

  • कर्णाली प्रदेशमा एमाले र कांग्रेसबीचको असमझदारी समाधान गर्न दुई दलीय गठबन्धनको बैठक बस्यो।
  • बैठकले मिलेर अघि बढ्ने सहमति गर्दै विभिन्न निकायमा रोकिएका नियुक्ति तत्काल गर्ने निर्णय गर्यो।
  • नेताहरूले पार्टीभित्रका समस्यालाई सामान्य रूपमा लिँदै गठबन्धनमा कुनै समस्या नरहेको दाबी गरे।

    सुर्खेत । कर्णाली प्रदेशमा सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कांग्रेसबिच असमझदारी बढिरहेका बेला शनिवार दुई दलीय गठबन्धन संयन्त्रको बैठक बसेको छ ।  

एकअर्काको भूमिकामाथि प्रश्न उठाउँदै चिसिएको सम्बन्धलाई न्यानो बनाउने उद्देश्यका साथ बसेको संयन्त्र बैठकले ‘मिलेर अघि बढ्ने’ सहमति गरेको नेताहरूले दाबी गरेका छन् ।

नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसेको बैठकमा एमालेका तर्फबाट मुख्यमन्त्री यामलाल कँडेल, एमाले प्रदेश इन्चार्ज गोरख बोगटी, प्रदेश अध्यक्ष गुलावजंग शाह र कांग्रेसका तर्फबाट पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही र कांग्रेस प्रदेश सभापति ललितजंग शाही सहभागी थिए । 

बैठकले तत्काल समस्या समाधान गर्दै अघि बढ्ने र विभिन्न निकायमा रोकिएका नियुक्तिहरू तत्काल गर्ने सहमति गरेको कांग्रेस प्रदेश सभापति ललितजंग शाहीले जानकारी दिए ।  

यस्तै आपसी समन्वयमा सरकारलाई अझ प्रभावकारी बनाउनेबारे समीक्षा भएको उनले बताए । शाहीले पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले शुक्रवार अर्थ मन्त्रालयको कार्यक्रम बहिष्कार गरेको विषय ‘प्रोटोकल र विषयको सान्दर्भिकतामाथिको विवाद’ मात्र भएको बताए । 

‘त्यो पार्टीगत असमझदारी होइन, आसन ग्रहण र बोल्ने समयजस्ता विषयमा व्याकरण नमिलेको मात्र हो,’ उनले भने ।

यता, एमाले प्रदेश अध्यक्ष गुलाबजंग शाहले पनि गठबन्धनमा कुनै समस्या नभएको दाबी गरे । 

‘दलभित्र उठ्ने कुरा सामान्य हुन्, त्यसले गठबन्धनलाई असर गर्दैन,’ उनले भने, ‘संयन्त्रको काम नै यस्ता विषयलाई सहमतिमा टुङ्गयाउनु हो, हामी एकजुट छौँ ।’

नेताहरूले ‘अल इज वेल’को सन्देश दिएको नेताहरूको भनाइ छ । 

पछिल्ला केही दिनयता कर्णाली गठबन्धनमा सबै ठिकठाक थिएन । बिहीबार मात्रै एमाले संसदीय दलले कांग्रेसको भूमिका ‘गठबन्धनको संस्कृतिअनुरूप नभएको’ निष्कर्ष निकालेको थियो ।

त्यसको भोलिपल्टै, शुक्रवार कांग्रेस संसदीय दलका समेत रहेका शाहीले अर्थ मन्त्रालयको कार्यक्रम नै बहिष्कार गरेसँगै विवाद सतहमा आएको थियो । यही पृष्ठभूमिमा गठबन्धनको भविष्यमाथि प्रश्न उठिरहेका बेला शनिवारको बैठक बसेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप