आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बाजुरामा ट्याक्टर दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

बुधबार, २८ साउन २०८२, १९ : १०
बुधबार, २८ साउन २०८२

बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा आज (सोमबार) दिउँसो एक ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् । दुर्घटनापछि ट्याक्टर चालक र अर्का एक यात्रु फरार भएका छन् ।

प्रहरीका अनुसार, आज अपरान्ह ४ः५० बजेतिर स्वामिकार्तिक खापर गाउँपालिका–१, बर्कु स्थित पिलुचौर–साप्पाटा भित्री कच्ची सडक खण्डमा उक्त दुर्घटना भएको हो । 

जोरु भन्ने स्थानबाट स्याउ बोकेर पिलुचौरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ३५० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी ट्याक्टरमा सवार स्वामिकार्तिक खापर गाउँपालिका–१, बर्कु निवासी २७ वर्षीय पदम बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, दुर्घटनामा सोही गाउँपालिकाको वडा नं. ३, जुकु बस्ने अन्दाजी ३५ वर्षीय लोकेन्द्र रोकाया घाइते भएका छन् । उनको कान र ढाडमा चोट लागेको र हाल बर्कु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको बताइएको छ ।

दुर्घटनाग्रस्त ट्याक्टरमा चालकसहित ४ जना सवार रहेको खुलेको छ । दुर्घटना लगत्तै ट्याक्टर चालक, स्वामिकार्तिक खापर–४, छापु बस्ने अन्दाजी २४ वर्षीय रवीन्द्र नाथ र अर्का एक नाम थर नखुलेका यात्रु फरार भएका छन् ।

घटनाको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय, स्वामिकार्तिकबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा ३ जनाको टोली घटनास्थल पुगेको थियो । 

फरार रहेका चालक र अर्का एक यात्रुको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप