आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

उपसभामुख हटाउने तयारीको कांग्रेसभित्रै विरोध

गगन-विश्वप्रकाश र शेखर समूहले गरे हस्ताक्षर संकलनको विरोध
बुधबार, ०४ भदौ २०८२, १९ : ३१
बुधबार, ०४ भदौ २०८२

काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयासले बुधबार पनि राष्ट्रिय राजनीति तात्यो । पदीय आचरणविपरीत काम गरेको भन्दै उपसभामुख रानालाई हटाउने तयारीको सत्तारुढ नेपाली कांग्रेसभित्रै विरोध भएको छ । 

मंगलबार सभापति शेरबहादुर देउवाले पार्टीका सांसदहरूको हस्ताक्षर संकलन गरेका थिए । यद्यपि, पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा पार्टीभित्रको इतर समूहका नेता डा. शेखर कोइरालाले हस्ताक्षर संकलनको विरोध गरे । 

सभापति देउवा निवास बूढानीलकण्ठमा मंगलबार बिहान बसेको पदाधिकारी बैठकमा देउवाले उपसभामुख रानालाई हटाउनका लागि हस्ताक्षर संकलन गर्न निर्देशन दिएका थिए । त्यसपछि संसदीय दलले हस्ताक्षर संकलन गरिरहेको छ । बुधबारको प्रतिनिधिसभा बैठक स्थल नयाँ बानेश्वरस्थित संसद भवनमा पनि हस्ताक्षर भइरहेको थियो ।

त्यसमा कांग्रेसभित्रको इतर समूहले विरोध गरेको छ । समूहका नेता डा. कोइरालाले आफ्नो समूहका आफूलाई सोध्ने सांसदलाई खाली कागजमा हस्ताक्षर नगर्न निर्देशन दिए । नेता डा. कोइरालाले कांग्रेस–एमालेले अघि सारेको उपसभामुख राना मगरलाई हटाउने प्रस्तावलाई ‘बेमौसमी बाजा’ भएको बताउँदै यसबारे आफ्नो पूर्ववत् अडान कायम रहेको बताइरहेका छन् । हटाउने तयारी भएपछि अमेरिकामा रहेकी उपसभामुख रानाले डा. कोइरालालाई मंगलबार साँझ टेलिफोन गरेकी थिइन् । आफू यो कार्यको विरोधमा रहेको डा. कोइरालाले रानासँग बताएका थिए । 

डा. कोइरालाले आफू निकटहरूसँग कांग्रेस संसदीय दलबाट हस्ताक्षर गर्न आफूलाई टेलिफोन आएको तर हस्ताक्षर गर्न नगएको बताएका छन् । यसबारे डा. कोइरालालाई मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टेलिफोन गरेर चासो व्यक्त गरेका थिए । प्रचण्डसँग पनि डा. कोइरालाले आफू उपसभामुख हटाउने तयारीको विरोधमा रहेको बताएका थिए । 

त्यस्तै कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचनको ‘फिल्ड स्टडी’का लागि भैरहवामा रहेका महामन्त्री विश्वप्रकाश शर्माले उपसभामुख राना मगरलाई पदमुक्त गर्ने तयारीप्रति विमति जनाएका छन् । त्यहाँ पत्रकारहरूसँग कुरा गर्दै शर्माले उपसभामुखको प्रकरणमा आफ्नो असहमति रहेको जानकारी सम्बन्धित स्थानमा गराइसकेको बताए । 

उपसभामुख रानाले नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेख्नु गम्भीर गल्ती भए पनि उनलाई पदमुक्त गर्न अनुपयुक्त भएको शर्माको भनाइ छ । 

अर्का महामन्त्री गगन थापाले बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बहुमत छ भनेर जे पनि निर्णय गर्न नहुने बताए । संख्याका आधारमा गरिने निर्णय प्रजातन्त्रमा वैधानिक हुने भए पनि त्यो जनताले स्वीकार गर्छन् कि गर्दैनन्, वैध हुन्छ कि हुँदैन भनेर सोच्नुपर्ने थापाको भनाइ थियो । 

‘हामी निर्वाचन जित्छौं, मत प्राप्त गर्छौं, सरकार बनाउँछौं । प्रजातन्त्रमा संख्याका आधारमा निर्णय गर्न पाइन्छ, तर मसँग संख्या छ भनेर जे पनि निर्णय गर्न पाइँदैन,’ उनले भने, ‘संख्याका आधारमा गरिने निर्णय वैधानिक हुन्छ, संख्या भएपछि सरकार बन्छ । बहुमत भएपछि निर्णय गर्ने कुरा वैधानिक हुन्छ । तर आममानिसले त्यो निर्णय स्वीकार्छ कि स्वीकार्दैन, निर्णय गरियो संख्याका आधारमा वैधानिक हुन्छ, सबैले स्वीकारे भने त्यो वैध हुन्छ ।’

कांग्रेस-एमाले नेतृत्वले उपसभामुख राना मगरमाथि आचरणको प्रश्न उठाउँदै दुई तिहाइ पुर्‍याएर पदमुक्त गर्ने तयारी गरिरहेका बेलामा कांग्रेसमा सुरु भएको विरोधले कांग्रेस सभापति देउवा र प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अप्ठ्यारो पारिरहेको स्रोत बताउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप