आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
निबन्ध

दुई आँखा, एक दृष्टि, अनेक दृश्य

शनिबार, ०७ भदौ २०८२, १० : ३९
शनिबार, ०७ भदौ २०८२

सारांश

  • लेखले आँखाको दृष्टान्त प्रयोग गर्दै जीवनमा सहकार्य र सम्बन्धको महत्व दर्शाउँछ।
  • दुई आँखाको मिलनले पूर्ण दृश्य बनाउँछ, जसले जीवनमा सहयोग र साझेदारीको महत्वलाई संकेत गर्छ।
  • लेखले आँखाको सम्बन्धलाई गहिरो दर्शनको रूपमा प्रस्तुत गर्दै, जीवनमा भावनात्मक सम्बन्धको महत्व बताउँछ।

एउटा आँखाले आधा देख्छ । अर्को आँखाले आधा देख्छ । आखिर देख्नुसम्मको कुरा हो, दुवैले मिलेर एक पूर्ण चित्र बनाउँछन् । यथार्थ दृश्य देखाउँछन् । यो साधारण प्रक्रियामा जीवनको एउटा गहिरो सत्य लुकेको हुन्छ । सहयोग, सम्बन्ध र साझेदारीको सन्तुलन कायम रहेको हुन्छ । 

वास्तवमा दृश्यको भोक लाग्नु भनेको पानी प्यासले ‘काकाकुल’ हुनुजस्तै हो । हेर्नुपर्ने दृश्य वा देख्नुपर्ने कुरा देख्न सकिएन भने नमिठो लाग्छ, मनले ननिको मान्छ । त्यहाँ छटपटीले हैरान बनाउँदै पानी प्यासले प्याकप्याक्ती पार्छ ।

आँखाका लागि देख्नु एक ‘भोक’ हो, एक ‘प्यास’ हो । यो भोक मेटाउन दुवै आँखालाई हतार हुन्छ । किनकि उनीहरूलाई थाहा छ, एक्लै देख्दा चित्र अधुरो हुन्छ । कुनै पनि दृश्यलाई पूर्ण रूपमा बुझ्नका लागि दुवैको साझेदारी अपरिहार्य छ । 

अपितु, यो होडबाजी होइन । बरु एकार्कालाई पूरक बनाउने प्रक्रिया हो । हुन त आँखाले देखेर आँखालाई केही हुने होइन । राम्रो देखे मनले आनन्दको अनुभव गर्छ । नराम्रो देखे दुःखको भावले नमजा मान्छ । आँखाले अमिलो र पिरो, गुलियो र तितोको अनुभव गर्न सक्दैन, तर जिब्रोले त्यसको स्वाद थाहा पाउँछ । आँखाले दृश्य देखाएर मनले आनन्द महसुस गर्न सक्छ ।

वास्तवमा एक आँखाले देखेको अपुरोपनलाई अर्को आँखाले पूरा गर्छ । यसरी दृश्यको भोक मेटाउन उनीहरूबिच एक अलिखित सम्झौता हुन्छ, जहाँ कुनै कन्जुस्याइँ हुँदैन, बराबरीको प्रयास हुन्छ । दुई आँखा, एक दृष्टिको संयोजन र सहकार्यमा दृश्यहरू आँखा सामुन्ने दृश्यमान हुन्छन् ।

यहाँनिर सहकार्यको सन्तुलन मात्र हुँदैन । त्यहाँ सहयोग, सद्भाव, सम्बन्ध र सौन्दर्य पनि सम्मिश्रित भएको हुन्छ । एकले अर्कोलाई नदेखे पनि, नभेटे पनि मित्रता, प्रेम र मायाको अनुराग गाँसिएको हुन्छ । फलस्वरूप आँखाले देखाएपछि मनले प्रतिक्रिया जनाउन पाउँछ ।

जीवनमा पनि धेरै कुरा यस्तै हुन्छन् । हामी एक्लै केही गर्न खोज्छौँ, तर त्यसको परिणाम पूर्ण र सन्तोषजनक हुँदैन । हामी अरूसँग मिलेर काम गर्छौं । त्यसपछि मात्र सफलताको पूर्ण चित्र बन्छ । एक व्यक्तिको कमीलाई अर्कोले पूरा गर्छ । एकको विचारमा अर्काको अनुभव मिसिन्छ । र, यसरी एउटा नयाँ, पूर्ण र सुन्दर सिर्जना हुन्छ । यो आँखाको सहकार्यजस्तै हामीले पनि एकार्कालाई पूरक बनेर जीवनको यात्रालाई सहज र सुन्दर बनाउन सक्छौँ ।

दुई आँखाको यो कथा शरीरको एक अंगको कार्यप्रणाली मात्र होइन, यो मानव सम्बन्ध, सहकार्य र जीवनको गहिरो दर्शन हो । आखिर आधा–आधा हेरेर नै हामी एक पूर्ण संसार देख्छौँ । वस्तुतः जोडी नमिली कुनै पनि कुरा पूर्ण हुन सक्दैन ।

कहिलेकाहीँ आँखाबाट आँसु खस्न नसक्दा मन भक्कानिन्छ र बोली बन्द हुन्छ । सहजै आँसु झर्न सक्थ्यो भने मन धमिलिँदैनथ्यो र बोली बन्द हुँदैनथ्यो ।

हाम्रो जीवनमा कतिपय कुरा यस्ता हुन्छन्, जसलाई हामी सामान्य मान्छौँ, तर तिनमा गहिरो दार्शनिक अर्थ लुकेको हुन्छ । आँखाको यो अनुभव पनि त्यस्तै हो । एउटा आँखाले आधा देख्छ । अर्को आँखाले आधा देख्छ । 

सृष्टिमा केही सम्बन्ध यस्ता हुन्छन्, जो नजिक भएर पनि टाढा लाग्छन् र टाढा भएर पनि नजिकै महसुस हुन्छन् । यी सम्बन्धमा कुनै मिलनको उत्सव हुँदैन, न त विछोडको पीडा नै । यस्तै एक अनौठो र गहिरो सम्बन्ध देखिन्छ, हाम्रा दुई आँखाबिच । यिनीहरूको विछोड होइन, मिलन पनि होइन ।

यी दुई आँखाको कथा कस्तो अचम्मको छ ! यिनीहरू सधैँ सँगसँगै हुन्छन्, एकैसाथ दुनियाँ देख्छन् । दिनको उज्यालोमा हरियाली, निलो आकाश, अनेकौँ मानिसका अनुहार र संसारको रङलाई एकसाथ नियाल्छन् । रातको अँध्यारोमा सँगै थाक्छन् र सिरानीमा एकसाथ निदाउँछन् । यिनीहरूको यो यात्रा अनवरत जारी छ, विना कुनै गुनासो वा अपेक्षा । यिनीहरूले सँगै हाँस्छन् र सँगै रुन्छन् तर एक–अर्कालाई कहिल्यै देखेका हुँदैनन् ।

सृष्टिमा केही सम्बन्ध यस्ता हुन्छन्, जो नजिक भएर पनि टाढा लाग्छन् र टाढा भएर पनि नजिकै महसुस हुन्छन् । यी सम्बन्धमा कुनै मिलनको उत्सव हुँदैन, न त विछोडको पीडा नै । यस्तै एक अनौठो र गहिरो सम्बन्ध देखिन्छ, हाम्रा दुई आँखाबिच ।

यस्तो लाग्छ, यी दुई आँखा नजिक भएर पनि धेरै टाढा छन् । यिनीहरूको बिचमा एउटा अदृश्य पर्दा छ, जसले यिनीहरूलाई एक–अर्कासँग जम्काभेट हुन दिँदैन । यो पर्दाले नै यिनीहरूको सम्बन्धलाई रहस्यमय तर पवित्र बनाइराखेको छ । यिनीहरूले एक–अर्कालाई नदेखेर पनि एकार्काको अस्तित्वलाई गहिरोसँग महसुस गर्छन् । एउटा आँखाले दुखेको बेला अर्को आँखाबाट पनि आँसु बग्छ । यसले यिनीहरूको भावनात्मक निकटतालाई दर्शाउँछ । एउटा आँखाबाट मात्रै आँसु झर्दैन । दुवै आँखाबाट एकसाथ उस्तै आँसु झर्छन् ।

यी आँखा देख्ने अंग मात्र होइनन्, यिनीहरू जीवनका ‘दर्पण’ हुन् । यिनीहरूले बाहिरी संसारलाई मात्र देख्दैनन्, यिनीहरूले हाम्रो भित्री भावनाहरूलाई पनि प्रतिविम्बित गर्छन् । हाम्रो खुसी, दुःख, डर र सपनाहरूलाई यिनीहरूले व्यक्त गर्छन् । यो अनौठो सम्बन्धले हामीलाई धेरै कुरा सिकाउँछ । यसले हामीलाई सँगसँगै रहेर पनि स्वतन्त्र हुन, एकार्काको सम्मान गर्न र विनासर्त एकार्कालाई साथ दिन प्रेरित गर्छन् ।

यी दुई आँखाको सम्बन्धले हामीलाई सम्झाउँछ कि साँचो प्रेम वा सम्बन्धका लागि भौतिक निकटता मात्र पर्याप्त हुँदैन । कहिलेकाहीँ गहिरो भावनात्मक र आत्मिक सम्बन्धले नै दुई व्यक्तिलाई एकार्काको नजिक ल्याउँछ, भलै तिनीहरू भौतिक रूपमा कति नै टाढा किन नहुन् ।

साथसाथै सधैँभरि जन्मेदेखि दायाँबायाँ भएर पनि एउटा आँखाले अर्को आँखालाई हेर्नै पाउँदैनन् । एकले अर्कालाई कहिल्यै पनि भेट्नै सक्दैनन् । कति नै टाढा हो र दूरी ‘नौडाँडा’ वा ‘नौकोस’ पर पनि होइन । त्यही नाककै वल्लोपल्लो छेउका यी आँखा आपसमा कति टाढा कि आफूले आफैँलाई देख्नुको कुरा छोडौँ, आफूले अर्को आँखालाई भेट्न समेत सक्दैनन् । एउटा आँखाले अर्को आँखालाई हेर्न सक्दैनन् । 

एकले अर्कालाई कहिल्यै पनि देख्नै सक्दैनन् । एकातिरको आँखा खुसीमा एक्लै बग्छन् बलिन्द्र आँसुका धारा भएर । दुःखमा पनि आँखाबाट एक्लै बग्छन्, आँसुका नुनिला धाराहरू । 

यसरी जीवनभरि नदेखेरै पनि आँखाहरू खुसीले नै एक्लाएक्लै बाँचिरहेका छन् । तथापि त्यहाँ दुई आँखा, एक दृष्टि परिरहेको हुन्छ । फलस्वरूप आँखाले देखाएपछि मनले प्रतिक्रिया जनाउन पाउँछ ।

सँगै रहेर पनि सधैँ भेटिएर पनि कतिपय मानिसहरू देखेको नदेखेजस्तै अभिनय गर्छन् । बोली नै बन्द गरेर टाढिन्छन् । त्यहाँ सहयोग, सद्भाव, सहकार्य तथा सम्बन्धको अस्तित्व नै समाप्त पार्छन् । आँखाहरूले भने नभेटिएर पनि दुई आँखा, एक दृष्टि र अनेक दृश्य देखाउन कुनै कन्जुस्याइँ गर्दैनन् । यस्तो प्रगाढ सम्बन्ध पो खास सम्बन्ध हो । जीवन बाँचुन्जेल साथ नछाड्ने । एकापसमा अलग्ग रहेर पनि साथै रहिरहने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप