मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
समाचार

अर्थ मन्त्रालयमातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर (सूची)

सोमबार, ०९ भदौ २०८२, ११ : ३२
सोमबार, ०९ भदौ २०८२

काठमाडौँ । अर्थ मन्त्रालय मातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर गरिएको छ ।  

गत सातामात्रै अर्थ मन्त्रालय मातहतका उच्चपदस्थसहित ८० भन्दा बढी कर्मचारीहरूको सरुवा गरिएको थियो । फेरि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलकै इच्छामा शाखा अधिकृतको पनि व्यापक रूपमा जिम्मेवारी हेरफेर गरिएको छ ।  

रसुवागढी भन्सार कार्यालयमा कार्यरत रवीन्द्र प्याकुरेललाई आन्तरिक विभाग मातहतका कार्यालयमा ल्याइएको छ । ठुला करदाता कार्यालयका ललितपुरमा कार्यरत निर्मलकुमार मैनालीलाई राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगमा पठाइएको छ । 

यस्तै अन्य दर्जनौँ अर्थका अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको हो । यसअघि सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर भएको थियो । जसअनुसार वीरगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानालाई अर्थ मन्त्रालय तानेर उनको ठाउँमा काजीबाबु कोइरालालाई पठाइएको छ ।

यो सरकार बनेको १ वर्ष पुग्दै गर्दा अर्थमन्त्री पौडेलले भन्सार विभागमा एक वर्षमा चार जना महानिर्देशक फेरेका छन्। 

मन्त्री पौडेलले आफैँले महानिर्देशक बनाएका महेश भट्टराईलाई ६ महिनामै हटाए । भट्टराईलाई अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा सरुवा गरी उनको ठाउँमा अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुखको रूपमा कार्यरत श्याम भण्डारीलाई महानिर्देशक बनाए ।

पौडेल २०८१ असार ३१ गते मन्त्री नियुक्त हुँदा विभागको महानिर्देशक ढुण्डीराज निरौला थिए । पौडेलले निरौलालाई एक महिनामै हटाएका थिए । निरौलालाई तत्कालीन अर्थमन्त्री वर्षमान पुनले २०८० चैत १९ गते महानिर्देशक बनाएका थिए । पौडेलले निरौलाको स्थानमा गत भदौ ६ गते हरिशरण पुडासैनीलाई महानिर्देशक बनाए । तर पुडासैनीलाई पौडेलले ६ महिना पनि काम गर्न दिएनन् । पुडासैनीको ठाउँमा फागुनमा भट्टराईलाई जिम्मेवारी दिइएको थियो । 

मन्त्री पौडेलका विश्वासपात्र मानिने भट्टराईको पनि ६ महिनामै सरुवा गरिएको छ । अहिले उनलाई मन्त्रालयमा तानिएको छ । भण्डारीलाई भन्सार विभागको महानिर्देशक बनाएका पौडेलले मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुखको जिम्मेवारी टङ्कप्रसाद पाण्डेलाई ल्याए ।

भन्सार विभागका उपमहानिर्देशक जनकराज शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाएका छन् । ठुला करदाता कार्यालयका प्रमुख कर प्रशासक रमेश अर्याललाई पनि मन्त्री पौडेलले आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी दिएका छन् ।

अर्थमन्त्री पौडेलले सहसचिव भरतमणि पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरेका छन् भने सहसचिव टंकनाथ लम्साललाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ । 

पछिल्ला दिनहरूमा अर्थ मन्त्रालय मातहतका निकायहरूमा सरुवा व्यापक रूपमा भइरहँदा बजेट कार्यान्वयनको मुखमा प्रभावित हुने खतरा बढेको जानकारहरूले बताउँदै आएका छन् ।

अर्थ-मन्त्रालय-अफिसर-काज-सरुवा-लिष्ट१_cm9n0sg_page-0001अर्थ-मन्त्रालय-अफिसर-काज-सरुवा-लिष्ट१_cm9n0sg_page-0002अर्थ-मन्त्रालय-अफिसर-काज-सरुवा-लिष्ट१_cm9n0sg_page-0003अर्थ-मन्त्रालय-अफिसर-काज-सरुवा-लिष्ट१_cm9n0sg_page-0004

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप