भारतमा रुसी तेल आयात कीर्तिमानी स्तरमा पुग्ने संकेत
नयाँ दिल्ली । जुन महिनामा भारतले रुसबाट आयात गर्ने कच्चा तेलको मात्रा नयाँ कीर्तिमान स्तरमा पुग्न सक्ने अनुमान गरिएको छ । ऊर्जा विज्ञ अनस अलहाजीले भारतीय बन्दरगाहहरूमा रुसी कच्चा तेल बोकेका ट्याङ्करहरूको असाधारण भीड देखिएको दाबी गरेका छन् ।
एनजीपी इनर्जी क्यापिटल म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री अनस अलहाजीका अनुसार, उनले भारतीय बन्दरगाहहरूमा यति धेरै रुसी तेल बोकेका ट्यांकरहरू यसअघि कहिल्यै नदेखेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको केप्लरको नक्सामा भारतका विभिन्न बन्दरगाहतर्फ रुसी कच्चा तेल बोकेका थुप्रै ट्याङ्कर गइरहेको देखाइएको छ ।
उनले भने, ‘मैले जुन महिनाको सुरुमै भनेझैँ, यदि यस महिना भारतको रुसी कच्चा तेल आयात नयाँ उचाइमा पुग्यो भने मलाई कुनै आश्चर्य लाग्ने छैन,’ । यो अभिव्यक्ति सेन्टर फर रिसर्च अन एनर्जी एन्ड क्लिन एयर (सीआरईए)को प्रतिवेदन सार्वजनिक भएको केही सातापछि आएको हो । प्रतिवेदनअनुसार, मे महिनामा भारत रुसबाट जीवाश्म इन्धन खरिद गर्ने विश्वकै दोस्रो ठूलो खरिदकर्ता बनेको थियो । उक्त अवधिमा भारतले अनुमानित ६ अर्ब ७० करोड डलर बराबरको रुसी हाइड्रोकार्बन आयात गरेको थियो ।
रुसी कच्चा तेलको हिस्सा ८३ प्रतिशत
सीआरईएका अनुसार, मे महिनामा भारतले रुसबाट आयात गरेको कुल इन्धनमध्ये करिब ८३ प्रतिशत हिस्सा कच्चा तेलको थियो, जसको मूल्य करिब ४ अर्ब ८० करोड युरो थियो । त्यस्तै, तेलजन्य उत्पादनको आयात ५५ करोड युरो र कोइलाको आयात ४२ करोड ९० लाख युरो बराबर रहेको थियो । रुसबाट कच्चा तेल खरिदमा २१ प्रतिशत वृद्धि भएपछि मे महिनामा भारतको कुल कच्चा तेल आयात अघिल्लो महिनाको तुलनामा ८ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।
भारतीय रिफाइनरीहरूमा रुसी तेलको आपूर्ति बढ्यो
भारतका प्रमुख रिफाइनिङ केन्द्रहरूले रुसी तेलको आपूर्तिमा उल्लेखनीय वृद्धि भएको जनाएका छन् । गुजरातस्थित वाडीनार रिफाइनरीमा अप्रिलको तुलनामा तेल आपूर्ति ३६ प्रतिशतले बढेको छ भने जामनगर रिफाइनिङ कम्प्लेक्समा आपूर्ति १४ प्रतिशतले वृद्धि भएको छ । सरकारी स्वामित्वका रिफाइनरीहरूले पनि यस वर्षको सुरुआतमा आयात पुनः सुरु गरेपछि खरिद बढाएका छन् । मे महिनामा मंगलोर रिफाइनरी एण्ड पेट्रोकेमिकल्स लिमिटेडमा रुसी कच्चा तेलको आपूर्ति १३ प्रतिशतले बढेको छ भने विकास रिफाइनरीमा आयात ४२ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, ओडिशास्थित प्रदिप रिफाइनरीले पछिल्ला दुई वर्षमा रुसी तेलको प्रयोग दोब्बर बनाएको जनाएको छ ।
२०२२ मा युक्रेनमागि रुसी आक्रमणपछि पश्चिमी देशहरूले लगाएका प्रतिबन्ध तथा व्यापारिक सीमाबन्दीका कारण विश्व ऊर्जा बजारमा व्यापक परिवर्तन आएको छ । यसबीच, रूस भारतका प्रमुख तेल आपूर्तिकर्तामध्ये एक बनेको छ । भारतीय रिफाइनरीहरूले सहुलियतपूर्ण मूल्यमा रुसी कच्चा तेल खरिदलाई निरन्तरता दिएका छन्, जसले ऊर्जा लागत नियन्त्रण गर्न र रिफाइनिङ नाफा बढाउन सहयोग पुर्याएको छ । सीआरईएका अनुसार, मे महिनामा रूसको कुल कच्चा तेल निर्यातमध्ये ५० प्रतिशत हिस्सा चीनले खरिद गरेको थियो भने भारतको हिस्सा ३६ प्रतिशत, टर्कीको ६ प्रतिशत र युरोपेली संघको ५ प्रतिशत रहेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण