शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
कृषि

महोत्तरीमा मखान खेती : सांस्कृतिक पहिचान जगेर्ना गर्दै किसानलाई आर्थिक समृद्धितिर लम्काउँदै

आइतबार, १५ भदौ २०८२, १४ : ४९
आइतबार, १५ भदौ २०८२

सारांश

  • मिथिलामा मखानको महत्व रहेको र यसको व्यावसायिक खेती महोत्तरीमा हुँदै आएको छ।
  • महोत्तरीका किसानले मखान खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् र यसले जीवनस्तरमा परिवर्तन ल्याएको छ।
  • मखान खेतीका लागि आवश्यक लगानी कम लाग्ने र स्थानीय सरकारले किसानलाई प्रोत्साहन गरिरहेको छ।
00:00 / NaN:NaN
Audio By AI

जनकपुरधाम । मिथिलामा मखानको धेरै महत्त्व छ । मिथिला संस्कृतिमा जन्मदेखि मृत्युसम्म मखानको प्रयोग हुन्छ । परिणामस्वरुप मखानको माग बढ्दो छ भने नेपालमा यसको व्यावसायिक खेती निकै कम हुँदा भारतबाट आयात गरेर माग धान्नुपर्ने अवस्था छ ।

makhan (1)

मिथिलामा मखानको बढ्दो मागका कारण पछिल्लो समय महोत्तरी जिल्लाको मठिहानीमा यसको व्यावसायिक खेती हुँदै आएको छ । मखान खेती महोत्तरी जिल्लाको विशेष र पहिचानयोग्य कृषि गतिविधि हो ।

महोत्तरी जिल्लाको मठिहानी नगरपालिका र अन्य स्थानहरूमा मखान खेती हुने गरेको छ । यसको व्यावसायिक खेतीले कृषकहरूको जीवनस्तरमा समेत ठुलो परिवर्तन ल्याएको छ ।

makhan (2)

मखान खेतीका लागि महोत्तरी निकै चर्चित छ । यस क्षेत्रका सहनी, मलाह समुदायका मानिस मखान खेतीमा संलग्न छन् । यो परम्परागत खेती प्रायः स्थानीय नदी, तलाउ र पोखरीहरूमा गरिन्छ, जहाँ मखानको फूल र बिउ उत्पादन हुने गर्छ ।

मखान एउटा जलजन्य खेती हो, जसलाई अन्नको रूपमा प्रयोग गर्न सकिन्छ । यसको खेती विशेष प्रकारका पानीका स्रोतमा गरिन्छ र यसका लागि विशेष मौसम र हावापानी आवश्यक हुन्छ । महोत्तरीका कतिपय किसानले पुस्तौँदेखिको परम्परालाई निरन्तरता दिँदै मखान खेती गर्दै आएका छन् ।

makhan (9)

महोत्तरी जिल्लाका विभिन्न पालिकामा मखान खेती हुँदै आएको छ । खासगरी बलबा नगरपालिका, भंगहा नगरपालिका, लोहारपट्टी नगरपालिका, मठिहानी नगरपालिका र जलेश्वर नगरपालिकामा यसको खेती बढी हुने गर्छ । यहाँका किसानले मखान खेतीलाई मुख्य पेसाका रूपमा अँगालेका छन् र यसलाई आर्थिक समृद्धिको स्रोत बनाएका छन् ।

मखान खेती गर्दै आएका किसान दिनेश सहनीका अनुसार मखान उत्पादनमा धेरै लगानी आवश्यक पर्दैन । यद्यपि मेहनत र समय भने निकै लाग्ने उनको भनाइ छ ।

makhan (4)

किसानहरूले चैत महिनामा मखानको बिउ रोप्छन् भने भदौदेखि कार्तिकसम्म छानेर सङ्कलन गर्छन् । बाँकी ६ महिनामा भने त्यही पोखरीमा माछा पालन गर्ने भएकाले वर्षभर नै जलमार्फत आम्दानी हुने गरेको छ । यही कारण हाल मखान खेतीप्रति किसानहरूको आकर्षण दिन प्रतिदिन बढ्दो छ ।

‘मिथिला मखाना’ नामक संस्थाले महोत्तरीको भंगहा नगरपालिकामा हाल ६० बिघा क्षेत्रफलमा मखान खेती गरिरहेको छ । संस्थाका सञ्चालक महेश सहनीका अनुसार २०७२ सालदेखि खेती सुरु गरिएको हो । प्रारम्भमा १० बिघामा सुरु गरिएको खेती अहिले विस्तार भएर ६० बिघा क्षेत्रफलमा पुगेको छ ।

makhan (6)

सहनीका अनुसार हालसम्म करिब ८० लाख रुपैयाँ लगानी भइसकेको छ भने वार्षिक रूपमा राम्रो आम्दानी भइरहेको छ । यस पेसाप्रति आफू निकै सन्तुष्ट रहेको उनले बताए । सहनीले थपे, ‘यो पेसा पुस्तौँदेखि हुँदै आएको हो, त्यसैले यो खेती गर्न मलाई निकै सहज लाग्छ ।’

उनले पछिल्लो वर्ष ८० टन उत्पादन भएको जानकारी दिए । यस वर्ष १२० टन उत्पादन हुने उनको अनुमान छ । व्यापारीसँग १ हजार ३ सय देखि १ हजार ४ सय रुपैयाँ प्रतिकिलोमा किसानले बेच्ने गरे पनि बजारमा पुग्दा दुई हजार रुपैयाँ प्रतिकिलोमा बिक्री हुने गरेको उनको भनाइ छ ।

मखानको उत्पादनपछि कृषकहरू त्यसलाई थोकमा बेच्न स्थानीय बजार र व्यापारिक क्षेत्रहरूमा पुग्ने प्रयास गर्दछन् । मिथिला क्षेत्रको संस्कृतिमा मखानको गहिरो सम्बन्ध रहेकाले स्थानीय बजारमै यो खपत हुन्छ ।

पण्डित डा.गोविन्द चौधरीका अनुसार मिथिलामा पान मखान र माछाको धेरै महत्त्व छ । ‘पूजामा मखान नभए प्रसादलाई अधुरो मानिन्छ,’ उनले भने, ‘मखानविना श्राद्ध पनि अधुरो हुन्छ ।’

makhan (5)

पान मखान दुर्लभ रहेको उनको भनाइ छ । यसरी मखानको सांस्कृतिक महत्त्वले यसको व्यापारलाई थप प्रोत्साहन दिएको उनले बताए ।

किसान सरोज सहनीले भने, ‘मखानको थोक बजारमा मूल्य १४०० रूपैयाँसम्म पुग्छ, काचो मखानलाई ३५० रुपैयाँको दरले किनेर त्यसलाई भुटेर मखान तयार बनाइन्छ । ३ किलो काचो मखानबाट १ किलो मखानको फूल तयार हुन्छ ।’

makhan (7)

मठिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलले मखान खेती मठिहानीको ऐतिहासिक विशेषता भएको बताए । मखान खेती प्रवर्द्धनका लागि आफूले प्रधानमन्त्री केपी ओलीलाई मखान उपहारसमेत प्रदान गर्दै यसको व्यावसायिक उत्पादन र बजार विस्तारमा सहयोग पुर्‍याउन आग्रह गरेको उनले जानकारी दिए ।

प्रदेशका मुख्यमन्त्रीलाई पनि मखान खेती प्रवर्द्धन गर्न अनुरोध गरेको नगरप्रमुख मण्डलले बताए । उनका अनुसार मखान खेतीलाई प्रोत्साहन गर्न किसानलाई ब्याण्डिङ मेसिन, बोरा (थैला), भुट्ने सामग्री, तालिम तथा अनुदानको व्यवस्था नगरपालिकाले गरेको छ ।

makhan (3)

विशेष गरी मखान खेती गर्दै आएका मठिहानी नगरपालिका–७ पूवार्री टोलका सहनी र मुस्लिम समुदायका किसानलाई प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन भइरहेको उनले उल्लेख गरे । सोही वडामा व्यक्तिगत रूपमा मखान खेती गर्दै आएका किसान संजय सहनीले गुठीबाट वार्षिक ९ लाख रुपैयाँ भाडा तिरेर ६ बिघा जग्गामा खेती गरिरहेका छन् । घाटा भए पनि गुठीले रकममा कुनै छुट नदिएको उनको गुनासो छ । निजी व्यक्तिबाट भाडामा लिएको थप ८ बिघा पोखरी आफूलाई आम्दानीको अतिरिक्त स्रोत बनेको उनको भनाइ छ ।

पूर्वारी टोलकी ५० वर्षीया लक्षा खातुन किसानहरूले उत्पादन गरेका काँचो मखान सङ्कलन गरी भुटेर तयार पार्ने काम गर्दै आएकी छन् । उनका अनुसार भदौ, असोज र कात्तिक गरी तीन महिनासम्म यो काम हुने गर्छ, जसमा उनको सम्पूर्ण परिवारले सहयोग गर्ने गर्दछ ।

खातुनका अनुसार मखान भुटाइबाट वार्षिक करिब तीन लाख रुपैयाँ आम्दानी हुने गरे पनि तीन महिनामात्र सीमित हुने भएकाले यसले परिवारको वर्षभरिको खर्च धान्न पुग्दैन । त्यसैले बाँकी समयमा आम्दानीका लागि अन्य काम गर्ने गरेको उनले बताइन् ।

makhan (8)

मखान खेतीले स्थानीय समुदायमा एकता र सहकार्यको भावना पनि बढाएको छ । ठुला पोखरीमा सामूहिकता र आपसमा सहकार्यका साथ खेती गर्नुपर्ने भएकाले यसले एकता र सहकार्यलाई बढावा दिने स्थानीय बताउँछन् ।

सामाजिक अभियन्ता डा. सरोज ठाकुरले मखान खेतीको भविष्य महोत्तरी जिल्लामा उज्ज्वल रहेको बताए । उनले भने, ‘यसको बजार विस्तार हुँदै गएको छ र यसको उत्पादनमा बढोत्तरीको सम्भावना छ ।’

स्थानीय कृषकहरूलाई तालिम र स्रोत उपलब्ध गराउने कार्यक्रम स्थानीय तहबाट भइरहेका कारण, मखान खेतीले किसानको आर्थिक अवस्था सुधार गर्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नवीन प्रियदर्शी
नवीन प्रियदर्शी
लेखकबाट थप