आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
उराँव जातिको महान चाड करमपूजा

राजाले घरअघिको करमकाे रुखलाई पुज्ने कथा

आइतबार, २२ भदौ २०८२, १३ : ११
आइतबार, २२ भदौ २०८२

उराँव जातिको सबैभन्दा ठुलो चाडका रूपमा करम पूजालाई लिइन्छ । यो पर्व नेपालमा भदौ पूर्णिमाको दिनमा र भारतमा भदौ एकादशीको दिनमा मनाउने गरिन्छ । करमको रुखलाई पूजा गरिने भएकाले यस पर्वलाई करमपूजा भनिएको हो । 

नेपालमा भाद्र पूर्णिमादेखि सुरु भई यो चाड दसैँसम्म मनाउने गरिन्छ । विभिन्न समयमा मनाइने करम पर्वलाई विभिन्न नाम दिइएको छ । भाद्र पूर्णिमाको दिन मनाउने करम पर्वलाई राजी करम पर्व भनिन्छ । राजी करम भाद्र पूर्णिमाका दिन मात्र मनाउन सकिन्छ भन्ने भनाइ छ । त्यसपछि जुनसुकै दिन मनाउन सक्ने करम पर्वलाई ‘जोख करम’ भनिन्छ भने जितिया पर्वको दिन मनाइने करमपूजालाई जितिया करम र दसैँको दिन मनाउने करमपूजालाई दसैँ–करम पर्व भनिन्छ । करम पूजा विशेषतः करमको हाँगालाई गाडेर मनाइन्छ ।

उराँवहरूको मुख्य पेसा कृषि हो । त्यसैले यो पर्व धान रोपाइँ सकी फुर्सद भएका बेला धर्मेश (ईश्वर) लाई खुसी पार्न मनाइन्छ । यस पर्वमा धान बाली राम्रो र धेरै फलोस् प्रार्थना समेत गरिन्छ ।

करम पूजा आउनुभन्दा एक महिना अघिदेखि राति खाना खाइसकेपछि गाउँका सबै युवा र बुढापाका जम्मा भई परम्परागत ज्ञान–सीप सिक्ने र सिकाउने स्थल अर्थात् अखडा जगाउनलाई मादल र नगडा (डिग्री) बजाई करम गीत गाउँदै आधा रातसम्म करम खेल्ने (बेचना) गर्छन् । 

करम पूजाका लागि गाउँका सबै मानिस अखडामा भेला हुन्छन् । भाद्र पूर्णिमाको दिनमा तीन–तीन वा पाँच–पाँचजना कुमार र कन्याहरूलाई उपवास बस्न लगाइन्छ । बेलुकीपख पुरुषहरू बाजागाजा (मादल, नगडा झाझ)सहित करम रूखको हाँगा काट्न जान्छन् । करम रूखको तीनवटा हाँगा भएको मात्र काटी ती उपवास बसेका कुमार केटाहरूले हातमा पक्रेर ल्याउने गर्छन् । 

महिलाहरू चौरी तथा धान खेततिर ककडो (गँगटो) को फूल टिप्न जान्छन् । कुमारी केटीहरूले ककडो फूल टिपी ल्याउँछन् । उपवास बसेका कुमारी केटीहरू करम ल्याउन आधा बाटोसम्म गई केटाको हातबाट विधिपूर्वक लिन्छन् र करम खेल्दै अखडासम्म वा करम पूजा गर्ने व्यक्तिको घरसम्म आउँछन् । राजी करम पूजा गर्नेलाई नेग भनिन्छ । नेगले अखडामा आएको करमलाई लिएर आफ्नो घरको छाना माथि ती करमको हाँगालाई राख्ने गर्छ । 

गाउँका सबैलाई भेला गराएर आँगनमा चौका लगाई धुप बत्ती देखाएर करम तथा करमबाबा देवतालाई आह्वान गरिन्छ ।

नदीबाट ल्याएको बालुवामा सात किसिमको अन्न जौ, मकै, धान, गहुँ आदि मिसाइन्छ र गाउँभरि नै आ–आफ्नो घरमा लगी जमरा राख्ने गरिन्छ ।

राजाले हरेक दिन करमको रुखलाई पूजा गर्ने र जल चढाउने गर्थे । राजाका सातै भाइ छोरा शिक्षा हासिल गरी विदेशबाट घर फर्के । त्यसपछि राजाले आफ्ना छोराहरूलाई एकै ठाउँमा राखी आफ्ना कर्तव्यबारे बताए । मेहनत गरी काम गर्न र आँगनमा रहेको करम रुखलाई पूजा–अर्चना गर्न समेत भने ।

करम पूजाको दिनमा करमबाबालाई चढाउनका लागि मिठो–मिठो पकवान्न (जस्तै ः मालपुवा, खिरपुरी) पकाउँछन् । त्यो दिन करम खेल्न तथा करम पूजा हेर्न चेलीबेटीहरू माइत र इष्टमित्रहरू पाहुना आएका हुन्छन् । ती सबैजना घरमा खाना खाइसकेपछि सबै अखडामा जम्मा हुन्छन् र नेगले करम गाड्छन् । 

उपवास बसेका कन्या केटीलाई साडी लगाइदिई काँधमा बोकी करम गाडेको वरिपरि घुमाउँछन् । करम पूजा गर्न र प्रसाद चढाउन सबैले थालमा चामल, घरमा राखेको जमरा, मालपुवा धुपअगरबत्ती चामलको अक्षता, चामलको पिठो, सिन्दुर, एक अम्खोरा जल र दियो बाली कर्कलोको पातले छोपी अखडामा ल्याउने गर्छन् । 

पुजारी (नेग) ले सबैभन्दा पहिले चामलको भाग राख्छन्, जसलाई कुरी भनिन्छ अनि त्यसको माथि पानको पात, सिंगो सुपारी, केरा, मालपुवा, ककडो, फूल र जमरा चढाएपछि जाँड र रक्सी पनि चढाइन्छ । त्यसपछि गाउँघरबाट आएकाले ल्याएका प्रसाद आफैँ चढाई पूजा गरी सुख–समृद्धिको प्रार्थना गरिन्छ । अखडा रुङ्ने (कुर्ने) पुजारीले करम पूजा र करम बाबाको महिमाका बारेमा कथा सुनाउने गर्छन् । 

करम पर्वको कथा उराँव समुदायका अगुवाबाट सुन्दै, महिला पुरुषले मादल र नगडा बजाउँदै करमलाई तिनपल्ट परिक्रमा गर्छन् । केटाकेटी, महिला र पुरुषहरू मिलेर रातभर मादल, नगडा तथा बाजागाजासहित गीत गाउँदै करम खेल्ने (नाच्ने) कार्य गर्छन् । 

करम पूजाबारे विभिन्न कथाहरू भए पनि यो पूजा आफ्नो घर–परिवारमा सुख, शान्ति र समृद्धि ल्याउनका लागि मनाउने गरिन्छ । जसको बालबच्चा हुँदैनन्, उनीहरूले सन्तानका लागि करमबाबासँग भाकल गर्ने गर्छन् । रोगव्याधिबाट उन्मुक्ति पाउन करम गाड्छन्, रातभर जाग्राम बस्छन् । करम खेल्छन् र करम गीत गाउँछन् । 
करम पूजामा चेलीबेटी माइत आउनुको साथै इष्टमित्र र आफन्तहरू समेत यो चाडपर्व मनाउन आउँछन् । नयाँ–नयाँ लुगा लगाउँछन्, मिठो मिठो पकवान्न बनाई खान्छन् । एकअर्काका दुःखसुख र खुसीहरू एकअर्कासँग गीतका माध्यमबाट एकअर्कासँग साटासाट गर्छन् । 

akhada_xExLrQqTAi (1)

करम पूजाको दोस्रो दिन बिहानीपख गाडेको करमलाई उखेलिन्छ । कुमार केटाकेटीहरूको हातमा राखी करमलाई गाउँको घर–घरमा डुलाइन्छ । प्रत्येक घरमा गई करम बाबाले राम्रो गरोस् भनी केहीछिन आँगनका करम नाच्ने गरिन्छ र घरमूलीले करमको पूजा गरी गच्छे अनुसारको प्रसाद र रकम करम बाबालाई चढाइन्छ । यो गर्नुको मूल उद्देश्य करम बाबाको कृपा आशीर्वाद गाउँको प्रत्येक घरघरमा रहोस् । अन्नबाली भरिभराउ रहोस्, घरमा सुख शान्ति रहोस् र उन्नति प्रगति होस् । परिवारमा कसैको अकालमा मृत्यु नहोस् । सबैको परिवारमा बालबच्चा हाँसीखुसीका खेलुन् भनी यिनीहरू करमको हाँगालाई गाउँभरि डुलाउँछन् । अन्त्यमा गाउँभरि डुलाइसकेपछि करमबाबा तथा करमको हाँगालाई बाजागाजासहित नदीमा लगी बगाइन्छ अर्थात् सेलाइन्छ । नदीमै नुहाइधुवाई गरी सबै गाउँघर फर्कन्छन् । प्रसादलाई बाँडीचुँडी सबैले खाने गर्छन् र नगद रकमलाई सामाजिक कार्यका लागि सञ्चित गरी राख्छन् । हाल पनि उराँव आदिवासी जनजाति समुदायमा करम पर्वमाथि विश्वास गरी मनाउँदै आइरहेको र पुस्तान्तरण गर्दै आइरहेको पाइन्छ ।

  • कथा 

एकादेशमा एउटा राजाका सात भाइ छोरा थिए । राजाको आँगनअगाडि एउटा ठुलो करमको रुख थियो । त्यो राज्यमा राजासहित प्रजाहरू सबैजना सुख तथा शान्तिले जीवनयापन गरिरहेका थिए । राज्यमा कोही पनि भोका–नाङ्गा थिएन्न । राजा र प्रजा सबै खुसी र सन्तुष्ट थिए । 

राजाले आफ्ना छोराहरूलाई शिक्षादीक्षाका लागि बाहिर पठाए । राजाले हरेक दिन करमको रुखलाई पूजा गर्ने र जल चढाउने गर्थे । राजाका सातै भाइ छोरा शिक्षा हासिल गरी विदेशबाट घर फर्के । त्यसपछि राजाले आफ्ना छोराहरूलाई एकै ठाउँमा राखी आफ्ना कर्तव्यबारे बताए । मेहनत गरी काम गर्न र आँगनमा रहेको करम रुखलाई पूजा–अर्चना गर्न समेत भने । 

केही महिनापछि राजाले सातै छोराको बिहे एकसे एक गुणवान र रुपमती कन्याहरूसँग गराइदिए । एक दिनको कुरो हो, राजा साह्रै बिरामी परे । बिरामी परेका कारणले राजाको मृत्यु भयो । छोराहरूले राजाको दाहसंस्कार नियमपूर्वक गरे । 

समय बित्दै गयो । राजाका सबै छोराले बुवाले भनेका र सिकाएका कुरा बिर्सेर गए । उनीहरूले आ–आफ्नो राज्यको भागबन्डा गरे । सल्लाहपूर्वक आ–आफ्ना राज्यमा शासन गर्दै बसे । बिस्तारै उनीहरू मेहनत गर्न पनि छाडे, करमको रुखलाई पूजापाठ गर्न छाडे । उनीहरूले बसी–बसी खान थाले, श्रीमतीहरूसँग मोजमस्ती गर्न थाले । बिस्तारै बिस्तारै उनीहरूको राज्यमा अनिकाल पर्दै गयो । अनावृष्टि, अतिवृष्टि जस्ता दुःखमय घटनाहरू घट्न थाले । राज्यका प्रजा गरिब हुँदै गए । प्रजा गरिब हुँदै गएपछि राजा पनि गरिब भए । खान नपाएर प्रजालाई विभिन्न रोग लाग्न थाल्यो । 

राजाका कान्छा छोराकी कान्छी श्रीमती अलि भिन्न प्रवृत्तिकी थिइन् । धर्म–कर्ममा रुचि राख्ने उनले मनमनै विचार गर्न थालिन् । किन यस्तो भइरहेको छ ? हामी सबै मेहनत गरिरहेको छौँ, तैपनि किन अनिकाल पर्दै छ ? 

एक दिन उनले श्रीमान्सँग ससुरा बुवाका बारेमा सोध्न थालिन् । कान्छा राजाले आफ्नी श्रीमतीलाई आफ्नो बुवाको बारेमा बेलीबिस्तार सुनाए । 

कान्छी रानीले सोधिन्— अनि तपाईंहरूले बुबाले भनेको जस्तो गरिरहनुभएको छ त ?

अनि कान्छा राजाको मनमा विचार आयो— हो त नि ! बुबाले यो आँगनमा रहेको करम रुखलाई सधैँ पूजापाठ गर्नु र जल चढाउनु भन्नुभएको थियो, त्यसलाई त हामीले बिर्सेका रहेछौँ । 

त्यसपछि कान्छा राजाले करमपूजा गर्न थाले । समयमै बालीनाली लगाउन थाले, खेतमा परिश्रम गर्न थाले । आँगनमा रहेको करम रुखलाई सधैँ नियमपूर्वक पूजा गर्न थाले । 
समय बित्दै जान थाल्यो । बिस्तारै राज्यमा श्रीसम्पति बढ्न थाल्यो । खेतमा उब्जनीहरू बढ्न थाले, राज्यमा व्यापार बढ्न थाल्यो । राजा र प्रजामा सुख–शान्ति आउन थाल्यो । त्यसपछि मात्रै कान्छा राजाले बुझे— बुबा राजाले भनेको कुरा सत्य रहेछ । हामीले धर्म–कर्म, कर्तव्य र परिश्रम गर्न छाड्नु हुँदैन; पुर्खाको ज्ञान बिर्सनु हुँदैन । 

यसरी उनीहरूको जीवन सुखमय बित्न थाल्यो । उनीहरूको जीवन सुखमय देखेर उनका दाजुभाइहरू पनि कसरी यस्तो भयो भनी सोध्न आए । राजाका कान्छा छोराले आफूसँग घटेको सम्पूर्ण वृत्तान्त आफ्ना दाजु र भाउजुहरूलाई सुनाए । त्यसपछि उनीहरूले पनि करमको रुखको पूजा गर्न थाले । वर्षको एकपटक भदौ पूर्णिमाको दिन आफ्नै आँगनमा करम गाडेर उत्सवका रूपमा मनाउन थाले । उनीहरूको राज्यमा पनि सुख–शान्ति र समृद्धि छायो । 

यस्तै अरु पनि कथा छन् । कोही भन्छन्— कथामा भएका सात भाइ वनमा सिकार खेल्न गएका बेला राति करम रुखले बाघ, भालु तथा अन्य जंगली जनावरबाट जोगाएकाले यो रुखको पूजा गरी उत्सव मनाउने गरिन्छ । कोही भन्छन्, राज्यमा अनिकाल र अकाल पर्‍यो । अन्नबाली नउब्जेपछि यिनै रुखले धार्मिक रीत अनुसार पूजा गरेपछि धनधान्यले सम्पन्न भयो । कोही भन्छन्— उराँव पुरुषहरू धन कमाउन बाहिर कोडा राजी जाँदा उनीहरू धेरै वर्षसम्म फर्किएन्न । नफर्केपछि उनीहरूको घरमा रहेका महिलाले करमको पूजा अर्चना गरेपछि उनीहरूको आफ्नो ध्यान घरतिर आयो र घर फर्केको यो पर्व मनाइन्छ । 

  • उराँवको अवस्था

आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान ऐन, २०५८ को अनुसूचीमा सूचीकृत ५९ आदिवासी जनजातिमध्ये उराँव जाति पनि एक हो । नेपालमा उराँव आदिवासी जनजातिलाई तराई आदिवासी जनजातिका रूपमा चिनिने गरिन्छ । नेपालका सातै प्रदेशमा फैलिएर रहेका यिनीहरुको यिनीहरूको जनसंख्या ४८,८४० (०.१६ प्रतिशत) जनसंख्या रहेको छ (राष्ट्रिय जनगणना २०७८) ।

१४६ जातजाति र १२४ भाषा रहेको नेपालमा उराँव एक जाति र एक भाषा पनि एक हो । 

नेपालका १२४ भाषाहरूमध्ये उराँव मात्र द्रविड भाषा परिवारभित्र पर्छ । उराँव जातिको मातृभाषालाई उराँव वा कुडुख भाषा भनिन्छ । पछिल्लो जनगणना अनुसार नेपालमा उराँव भाषा बोल्नेको संख्या ३८,८७३ रहेको छ, जुन कुल जनसंख्याको ०.१३ प्रतिशत र उराँव आदिवासी जनजातिको जम्मा जनसंख्याको करिब ८३ प्रतिशत हो । नेपालमा बोलिने भाषामध्ये उराँव (कुडुख भाषा) ३२औँ स्थानमा पाइन्छ ।

सूचीकृत ५९ आदिवासी जनजातिमध्ये यस जातिलाई अति सीमान्तकृत समूहमा वर्गीकरण गरिएको छ । नेपालमा उराँव जातिलाई अन्य जातजातिले उराँव अथवा झाँगड भनेर चिन्छन् भने उराँव जातिले आफूलाई उराँव वा कुडुख भनेर चिनाउँछन् । आर्थिक, सामाजिक, राजनीतिक तथा शैक्षिक हिसाबले पछाडि रहेका कारण उराँव जाति अरु जातिको तुलनामा पिछडिएको देखिन्छ । धार्मिक र सांस्कृतिक रूपमा हेर्दा यिनीहरू प्रकृतिपूजक हुन् भन्ने देखिन्छ । यो जातिको अन्तर्सम्बन्ध धर्ती, नदी, खोला नाला र जंगलसँग रहेको पाइन्छ । यी जातिले प्रकृतिलाई पुज्ने गर्छन् र यी प्रकृतिलाई नै भगवान् अर्थात् ‘धर्मेश सरना माँ चाला आयो’ भनी पुकार गर्छन् । उराँव आदिवासीले मूर्ति पूजा गर्दैनन् । 

उराँवहरू सरना धर्मप्रति आस्था र विश्वास राख्छन् । यिनीहरू विभिन्न जात्रा चाडपर्व मान्ने गर्छन् । उराँवहरू मूल रूपमा लगपाचे, करम पूजा, चौरचन्दो, जितिया, सुकराती, तिलेसक्रान्ती, फग्गु (फागु पूर्णिमा), जतरा र सिरुवा आदि चाड मनाउँछन् । उराँवहरू जुनसुकै पर्व मनाउँदा घर–आँगनलाई गाईको गोबरले लिपपोत गरी शुद्ध पार्छन् ।   
(लेखक हाल राष्ट्रिय मानव अधिकार आयोगमा मानव अधिकार अधिकृतका रूपमा कार्यरत छन् ।) 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुमारी शरणा उराँव
कुमारी शरणा उराँव
लेखकबाट थप