मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

गोल्डेन बुटका रेसमा को चम्किए, को फ्लप भए ?

शुक्रबार, १५ असार २०७५, १५ : १५
शुक्रबार, १५ असार २०७५

एजेन्सी । गोलकर्तालाई फुटबलमा निर्णायक मानिन्छ । कारण, सामान्य छ, जुन टोलीले धेरै गोल गर्छ, उसैले जित्छ । जारी विश्वकपमा समूह चरणका खेलहरु सकिएका छन् र दोस्रो चरणको खेल सुरु हुनै        लाग्दा, यसपटक कसले गोल्डेन बुट जित्छ भन्ने अड्कलबाजी सुरु भइसकेको छ । विश्वकपका सर्वाधिक गोलकर्ताले गोल्डेन बुट पाउँछन् । 

यी दाबेदार खेलाडी 

यसपटक समुह चरण समाप्त हुँदा इङल्यान्डका ह्यारी केन ५ गोल गर्दै गोल्डेन बुटको दौडमा अघि छन् । उनले १ सय ५३ मिनेट मैदानमा बिताउँदै ५ गोल गरेका हुन् । उनको गोलको अनुपात ३१ मिनेट प्रतिगोल हुन आउँछ । ट्युनिसिया विरुद्ध निर्णायक दुई गोल गरेका केनले पानामा विरुद्ध ह्याट्रिक गरेका थिए । 

मैदानमा १ सय ४९ मिनेटमात्रै बिताएका बेल्जियमका रोमन लुकाकुले ४ गोल गरेका छन्, ३७ मिनेट प्रतिगोलको अनुपातमा । उनले पानामा विरुद्ध २ र ट्युनिसिया विरुद्ध  २ गोल गरेका थिए । 

पोर्चुगलका कप्तान क्रिस्ट्रियानो रोनाल्डोले पनि ४ गोल गरेका छन् । उनले स्पेन विरुद्ध ह्याट्रिक गरे भने मोरक्को विरुद्ध निर्णायक गोल गरे । उनको रेसियो ६७ मिनेट प्रतिगोल हुन आउँछ । 

रुसका डेनिस चेरिसोभले ३ गोल गरेका छन् । उनको गोलको रेसियो ५९ मिनेट प्रति गोल छ । उनले १ सय ७८ मिनेट मैदानमा बिताएका छन् । साउदी विरुद्ध २ गोल गरेका चेसिभोले इजिप्ट विरुद्ध एक गोल गरेका थिए । 

स्पेनका डियगो कोस्टाले ८० मिनेट प्रतिगोलको रेसियोमा ३ गोल गरेका छन् । उनले २ सय ४० मिनेट मैदानमा बिताएका छन् । स्पेन विरुद्ध २ गोल गरेका कोस्टाले ईरान विरुद्ध निर्णायक गोल गरेका थिए । 

प्रतियोगितामा दोस्रो चरणका पुगेका टोलीका खेलाडीहरुले  गोल्डेन बुट जित्ने आशा जिवित छ । यस्तोमा मध्ये बेल्जियमका इडेन हाजार्ड, रुसका अर्जेम डेज्युवा, ब्राजिलका फिलिपो काउटिन्हो, कोलम्बियाका यरी मिना, इङ्ल्यान्डका जोन स्टोन्स, क्रोयशियाका लुका मोड्रिच, स्विडेनका आन्द्रेस ग्राकभिस्ट र उरुग्वेका लुईस सुआरेजले दुई गोल गरेका छन् । उनीहरुको टोली दोस्रो चरणमा पुगेकाले आगामी प्रतियोगितामा यी खेलाडीले आफ्नो गोलसंख्या थप्न सक्छन् । 

जो चल्न सकेनन् 

जेम्स रोड्रिग्वेज 
पहिलो खेलमा जापानसँग पराजित भएपछि कोलम्बियामाथि संकट गहिरिएको थियो । यद्यपी, पोल्यान्ड र सेनेगलमाथि जित दर्ता गरेर समुह विजेताकै हैसियतमा कोलम्बिया दोस्रो चरणमा छनोट भयो । कोलम्बियाका स्टार जेम्स रोड्रिग्वेजले गोल गर्न नसक्दा टोली समस्यामा छ । गत संस्करणमा ६ गोल गर्दै गोल्डेन बुट विजेता रोड्रिग्वेजले यस विश्वकपमा गोलको खाता खोल्न सकेका छैनन् । 

थोमस मुलर 
मुलरले सन् २०१० र २०१४ को विश्वकपमा ५–५ गोल गरेका थिए । २०१० का गोल्डेन बुट विजेता यी खेलाडीले यस विश्वकपमा पर्याप्त समय खेल्न पाएनन् । पाएको अवसरमा पनि उनले गोलको खाता नै खोल्न सकेनन् । जसका कारण, जर्मनी प्रतियोगिताको पहिलो चरणबाटै घर फर्कियो । 

लियोनल मेस्सी 
मेस्सीले आइसल्यान्ड विरुद्धको समुह चरणको सुरुवाती खेलमा गोलका लागि ११ पटक प्रयास गरे । त्यसमध्ये ३ वटा बल फ्रेममा थियो । तर, दुग्भार्य उनले कुनै गोल गर्न सकेनन् । क्रोयशिया विरुद्ध ३–० ले पराजित भएको अर्जेन्टिनालाई उद्धार गर्ने क्रममा अन्तिम खेलमा उनले नाइजेरिया विरुद्ध अग्रता दिलाए । अर्जेन्टिना दोस्रो चरणमा पुगेको पनि छ । आगामी दिनमा उनले कस्तो खेल्छन् त्यो हेर्न बाँकी छ । तर अहिलेसम्म उनले जारी विश्वकपमा १ गोल मात्रै गरेका छन् । यो उनीबाट अपेक्षा गरिएभन्दा कम हो । 

अहिलेसम्मका गोल्डेन बुट विजेता, कसले कति गोल गरे ?

सन् १९३० मा अर्जेन्टिनाका गुइलेर्मो स्टाविलले ८ गोल गरे ।

१९३४ को विश्वकपमा चेकोस्लोभाकियाका ओल्डरिच नेजिल्डीले ५ गोल गरे । 

१९३८ मा ब्राजिलका लियोनीडासले ७ गोल गरे । 

१९५० मा ब्राजिलका एडिमिरले ८ गोल गरे । 

१९५४ मा हंगेरीका सान्दोर कोकसिसले ११ गोल गरे । 

१९५८ मा फ्रान्सका जस्ट फोन्टाइनीले १३ गोल गरे । 

१९६२ को विश्वकपमा ६ खेलाडीलाई संयुक्त रुपमा गोल्डेन बुट दिइयो । हंगेरीका फ््लोरियन अल्बर्ट, सोभियत युनियनका भालेइन इभानोभ, ब्रालिका गारिन्चा, ब्राजिलकै भाभा, युगोस्लाभियाका ड्राजन जेरकोभिक र चिलिका लियोनल सान्चजेले समान ४ गोल गरेका थिए । 

१९६६ को विश्वकपमा पोर्चुगलका इसिबियोले ९ गोल गरे । 

१९७० मा पश्चिम जर्मनीका गर्ड मुलरले १० गोल गरे । 

१९७४ मा पोल्यान्डका जर्जेर्गोज लाटोले ७ गोल गरे ।

१९७८ मा अर्जेन्टिनाका मारियो केम्पसले ६ गोल गरे । 

१९८२ मा इटलीका पाब्लो रोस्सीले ६ गोल गरे । 

१९८६ मा इङल्यान्डका ग्यारी लिनेकरले ६ गोल गरे । 

१९९४ मा बुल्गेरियाका हिस्ट्रो स्टोइच्कोभ र रुसका ओलेग सालेन्कोले संयुक्त रुपमा अवार्ड बाँडे । उनीहरु दुबैले ६ समान ६ गोल गरेका थिए । 

१९९८ मा क्रोयशियाका डेभोर सुकरले ६ गोल गरे । 

२००२ मा ब्राजिलका रोनाल्डोले ८ गोल गरे । 

२००६ मा जर्मनीका मिरोस्लाभ क्लोजले ५ गोल गरे । 

२०१० मा जर्मनीका थोमस मुलरले ५ गोल गरे । 

२०१४ मा कोलम्बियाका जेम्स रोड्रिग्वेजले ६ गोल गरे । 

यसरी दिइन्छ अवार्ड 
सर्वाधिक गोलकर्ताले गोल्डेन बुट जित्छन् । दुई खेलाडी वा सोभन्दा बढी खेलाडीले बराबर गोल गरेको खण्डमा ती खेलाडीमध्ये धेरै एसिस्ट गर्ने (गोलका लागि प्रत्यक्ष पास मिलाउने) खेलाडी यसको हकदार हुन्छन् । गोल र एसिस्ट बराबर भएमा खेलाडीले खेलेको समयलाई हिसाब गरेर गोलको प्रतिशत निकालिन्छ । यस्तो अवस्थामा कम खेल खेल्ने खेलाडी हकदार हुन्छन् । सन् २०१४ को विश्वकपमा 

कोलम्बियाका जेम्स रोड्रिग्वेजले ६ गोल गर्दै गोल्डेन बुट जितेका थिए । ५ गोल गरेका जर्मनीका थोमस मुलरले सिल्भर बुट जिते । त्यसपछि लियोनल मेसी, रोबिन भान पर्सी र नेयमारले समान ४–४ गोल गरेका थिए । मेस्सी र भान पर्सीको दाँजोमा कम मिनेट मैदानमा बिताएका नेयरमाले ब्रन्ज बुट हात पारे । 

सन् २०१० को विश्वकपमा थोमस मुलर, डेभिड भिया, वेस्ले स्नाइज्डर र डियगो फर्लानको समान ५–५ गोल थियो । त्यसमध्ये मुलरले ५ गोलसँगै थप ३ एसिस्ट गरेका थिए । उनले गोल्डेन बुट जिते । डेभिड भियाले वेस्ले स्नाइज्डरभन्दा कम समय मैदानमा बिताएका थिए । उनले सिल्भर बुट जिते । स्नाइज्डरले फेर्लानभन्दा कम समय मैदानमा बिताएका थिए उनले ब्रन्ज बुट जिते । 

सन् १९९४ को विश्वकपमा बुल्गेरियाका हिस्ट्रो स्टोइच्कोभ र रुसका ओलेग सालेन्कोले बराबर ६ गोल तथा एक एसिस्ट गरेका थिए । त्यतिबेलाको नियम अनुसार मिनेटको हिसाब गरिएन । दुबैले संयुक्त रुपमा गोल्डेन बुट सेयर गरे । रुस यस प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको थियो । समूह चरणबाटै बाहिरिएको देशका खेलाडीले गोल्डेन बुट जितेको विश्वकपको यो एकमात्र इतिहास हो । 

रोचक तथ्य 
एकैपटक सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी हुँदै विश्वकप उपाधि चुम्ने किर्तिमान सन् १९६२ मा ब्राजिलका गारिन्चाले राखे । यस विश्वकपमा उनले अन्य ५ खेलाडीसँगै संयुक्त रुपमा गोल्डेन बुट जितेका थिए । उनी यस प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी हुन् । ब्राजिलले यस संस्करणको उपाधि जित्यो । 

यस्तै अद्भूत अनुभूति सन् १९८२ मा अर्जेन्टिनाका मारियो केम्पसले हासिल गरे । उनी यस प्रतियोगितामा सर्वोत्कृष्ट गोलकर्ता तथा उत्कृष्ट खेलाडी बने । उपाधि अर्जेन्टिनाले जित्यो । 

ब्राजिलका रोनाल्डोले पनि यस्तै उपलब्धि हासिल गरेका छन् । तर फरक–फरक विश्वकपमा । उनले सन् १९९८ मा गोल्डेन बल जित्दा ब्राजिल फाइनलमा पराजित भएको थियो । सन् २००२ मा रोनाल्डोले गोल्डेन बुट जिते । ब्राजिलले विश्वकप जित्यो । 

ब्राजिलका पेले र अर्जेन्टिनाका म्याराडोनाले आ–आफ्नो करियरमा ४ फरक विश्वकप खेले । तर, विश्वकपको गोल्डेन बुट जित्न सकेनन् । सन् १९५८ को विश्वकपमा पेले र सन् १९८६ को विश्वकपमा म्याराडोनाले गोल्डेन बल जितेका थिए । त्यतिबेला यी दुबै खेलाडीले आफ्नो टिमलाई च्याम्पियन बनाएका थिए । 

एकै विश्वकपका सर्वाधिक १३ गोल गर्ने किर्तिमान फ्रान्सका जस्ट फोन्टाइनीको नाममा छ । उनले सन् १९५८ को स्विडडेन विश्वकपमा यस्तो उपलब्धि हासिल गरेका थिए । 

विश्वकपमा सर्वाधिक गोल गर्ने किर्तिमान मिरोस्लाभ क्लोजको नाममा छ । उनले सन् २००२ मा ५, २००६ मा ५, २०१० मा ४ र २०१४ को विश्वकपमा २ गोलगरी कुल १६ गोल गरेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप