आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

आजदेखि सुकिला नोट वितरण हुने, कहाँ-कहाँबाट हुन्छ सटही ?

आइतबार, २९ भदौ २०८२, ०९ : ५२
आइतबार, २९ भदौ २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले दसैँका लागि असोज आइतबारदेखि सुकिला नोट वितरण सुरु गरेको छ।
  • यसअघि राजनीतिक संक्रमणको अवस्थाका कारण नोट वितरण हुने नहुने अन्योल भएपनि, तोकिएको समयमै नोट सटही हुने भएको छ।
  • ग्राहकहरूले राष्ट्र बैंकका तोकिएका कार्यालयहरू र बैंक तथा वित्तीय संस्थाहरूबाट सुकिला नोट सटही गर्न सक्नेछन्।

काठमाडौँ । दसैँमा नयाँ नोट खोज्नेहरूलाई मध्यनजर गर्दै आइतबारदेखि सुकिला नोट वितरण सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले दसैँका लागि भनेर भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो ।  

नेपाल राष्ट्र बैंकले यसअघि आजदेखि सुकिला नोटको वितरण सुरु गर्ने भने पनि यही बीचमा देशमा राजनीतिक सङ्क्रमणको अवस्था देखिएकोले नोट वितरण हुन्छ कि हुँदैन भन्ने अन्योल थियो ।

तर, राष्ट्र बैङ्क तथा बैंकहरूको भौतिक अवस्थामा धेरै क्षति नपुगेकोले तोकिएको समयदेखि नै नोट सहटी गर्नसक्ने अवस्था रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले जानकारी दिए । ‘हामीले नयाँ कुनै निर्णय गरेका छैनौँ, सहज रूपमै वितरण गर्न सकिन्छ कि भन्ने हामीलाई लाग्छ,’ उनले भने । 

दसैँमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । 

साथै बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । पाँच रुपैयाँ दरको नोट भने नयाँ वितरण हुनेछ । ग्राहकले आफ्नो खाता रहेको बैङ्क वा पायक पर्ने नजिकको बैङ्क तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैङ्कमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

अघिल्लो वर्षदेखि सुकिला नोट बाँड्न थालेको आएको राष्ट्र बैङ्कले यसपालि पनि यसैलाई निरन्तरता दिने भएको छ । बैङ्कले नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो । नयाँ नोटको सट्टा सुकिला नोट बाँड्दा वार्षिक झन्डै १ अर्ब ३० करोड रुपैयाँ बचत हुने राष्ट्र बैंकको अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप