शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

जेन–जीको जागरण र सुशीला कार्कीको नेतृत्व

सोमबार, ३० भदौ २०८२, ११ : ४१
सोमबार, ३० भदौ २०८२

नेपाल अहिले इतिहासको एउटा असामान्य मोडमा उभिएको छ । दशकौँदेखि स्थायित्व खोजिरहेको यो राष्ट्र आज फेरि एकपटक हलचलमा छ तर यसपटक त्यो हलचल निराशाको होइन, उत्साह र आशाको हो । जनताले लामो समयदेखि भोग्दै आएको निराशा, भ्रष्टाचार र विदेशी हस्तक्षेपका विरुद्ध एउटा नयाँ चेतनाको उदय भएको छ, जेन–जी अर्थात् सन् १९९७ देखि २०१२ का बिचमा जन्मेको नयाँ पुस्ताका रूपमा । 

सामाजिक सञ्जालहरू बन्द गरिएको विरोधमा उठेको यो आन्दोलनले देशको राजनीतिक शक्ति सन्तुलनमा झट्का दिएको छ । दुई दिनमै देशका सबै प्रमुख सहरमा सडक र चोक भरिए र सरकार झुकेको देखियो । यस्तो व्यापक जनसञ्चालन स्वस्फूर्त रूपमा उठेको थियो, न कुनै पार्टीको झन्डा, न कुनै नेताको फोटो । केवल एउटै आवाज थियो— हामी परिवर्तन चाहन्छौँ ।

यो परिवर्तनको आवाज सस्तो थिएन । १९ जना युवा, जसको आयु अझै भविष्यका सपना बोकेका थिए, उनीहरूको सहादत भयो । उनीहरूको बलिदानले देशका हरेक सचेत नागरिकको अन्तरात्मा हल्लायो । यो केवल आँसु बगाउने घटना थिएन; यो एक सङ्कल्प थियो— अब देश पछि फर्किनेछैन । उनीहरूको मृत्युले शोक मात्र होइन, एकजुटताको भाव पनि ल्यायो । 

यस्तो बेलामा विदेशी शक्तिहरू, प्रतिगामी तत्त्वहरू र सत्ता लोलुपहरूको चलखेलले अवस्था अझै भयावह बनाएको छ । यिनै चुनौतीका बिच पूर्वप्रधानन्यायाधीशको रूपमा पहिले नै जनसमर्थन पाइसकेकी सुशीला कार्कीले फेरि राष्ट्रको सेवा गर्ने सङ्कल्प लिएकी छन् । उनको नाम जनताबिच केवल एउटा महिला नेतृका रूपमा होइन न्याय, निष्ठा र निर्भीकताको पर्यायका रूपमा चिनिन्छ । जब अन्तरिम सरकारको नेतृत्वको बहसले द्वन्द्वको रूप लिइरहेको थियो, त्यही बेला सबैको सहमतिमा उनी अगाडि आइन् । यो कुनै सौभाग्यशाली संयोग थिएन, यो जनताको आवाजको सम्मान थियो । 

सुशीला कार्कीको नेतृत्व केवल संविधानसम्मत शासनको स्थापनाका लागि नभई भ्रष्टाचारको जरो उखेल्ने अभियानको पनि थालनी हो । सामाजिक न्याय, पारदर्शिता र नारी सशक्तीकरणका क्षेत्रमा उनी एउटा प्रतीक बनिसकेकी छिन् । उनका निर्णयहरू, विगतमा न्यायालयमा दिइएका आदेशहरू र उनको निष्कलङ्क छवि आज देशले खोजिरहेको ‘सचेत नेतृत्व’का सबै मापदण्डमा खरो उत्रिन्छ । 

सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई ६ महिनाभित्र निर्वाचन गराई नयाँ सरकारलाई जिम्मेवारी सुम्पिने जिम्मेवारी दिइएको छ । यस अवधिमा उनको भूमिकाले संविधानको रक्षा, मौलिक अधिकारको संरक्षण र भ्रष्टाचारको अन्त्यतिर ठोस काम गर्ने अपेक्षा गरिएको छ ।

यो घटनाक्रमले अर्को महत्त्वपूर्ण कुरालाई पनि उजागर गर्‍यो— नेपालमा नारी शक्ति अब परिधिमा होइन, केन्द्रमा आइपुगेको छ । ऐतिहासिक रूपमा नेपाली महिलाले परिवार, समाज र राष्ट्रको निर्माणमा बलियो भूमिका खेल्दै आएका छन् । दुर्गा, काली, लक्ष्मीबाई अनि अब सुशीला कार्की—यी नाम केवल प्रेरणा होइनन्, उनीहरू संघर्ष, विद्रोह र पुनर्निर्माणका अनुहार हुन् । 

सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई ६ महिनाभित्र निर्वाचन गराई नयाँ सरकारलाई जिम्मेवारी सुम्पिने जिम्मेवारी दिइएको छ । यस अवधिमा उनको भूमिकाले संविधानको रक्षा, मौलिक अधिकारको संरक्षण र भ्रष्टाचारको अन्त्यतिर ठोस काम गर्ने अपेक्षा गरिएको छ । 

परिवर्तनको यात्रामा सधैँ चुनौती पनि हुने गर्छन् । जेन–जी आन्दोलन शान्तिपूर्ण रूपमा सुरु भए पनि नेतृत्व, नीति र अनुशासनको अभावले केही स्थानमा अराजकता देखियो । आन्दोलनमा घुसपैठ गरेका विभिन्न तत्त्वले राष्ट्रिय सम्पत्ति, निजी सम्पत्ति, कार्यालयहरूमा क्षति पुर्‍याए । जेलबाट हजारौँ कैदीहरू भागे । यी घटनाले आन्दोलनको मर्मलाई धुमिल बनाउन खोजे तर यस्तो अराजकता आन्दोलनको उद्देश्य थिएन बरु नेतृत्वहीनताको परिणाम थियो । 

हाम्रो युवा पुस्तामा शक्ति छ तर उनीहरूलाई दिशा दिनुपर्ने खाँचो छ । ती युवालाई मार्गदर्शन गर्न, संगठन दिन र उनीहरूको ऊर्जा सुसंस्कृत परिवर्तनतर्फ मोड्न एक दिगो, नैतिक र न्यायपूर्ण नेतृत्व आवश्यक छ— त्यसको उदाहरण अहिले सुशीला कार्की बनेकी छिन् । 

नेपालको संविधानबारे केही असहमति भइरहे पनि यसमा निहित लोकतन्त्र, गणतन्त्र, मौलिक अधिकार र बहुदलीय व्यवस्थाको रक्षा अपरिहार्य छ । यही मूल्य–मान्यतामा उभिएर अबको राजनीतिक सङ्क्रमणले आफूलाई साबित गर्नुपर्नेछ । देशका लागि अगाडि बढ्ने बाटो संविधानको चौकटीभित्रबाटै खोजिनुपर्छ । सुधार आवश्यक छन् तर त्यसले मूल संरचनामा आँच पुर्‍याउने होइन, त्यसलाई सुदृढ बनाउने हुनुपर्छ । 

जनता अहिले सजग छन्, युवा जागृत छन् र महिला नेतृत्व अब निष्क्रिय दर्शक होइन— सक्रिय अग्रसर बनिसकेको छ । सुशीला कार्कीको शपथ केवल एक औपचारिकता थिएन, त्यो एक ऐतिहासिक क्षण थियो जहाँ न्याय, स्वाभिमान र आमजनताको सपना एउटै हातमा सुम्पिएको थियो । 

आजको आन्दोलनले देखाएको छ कि सत्ता परिवर्तन मात्रै पर्याप्त छैन, व्यवस्था, सोच र संस्कारको परिवर्तन जरुरी छ । सरकारको नेतृत्व मात्र बदलेर होइन, नेतृत्वको चरित्र समेत बदलेर नयाँ नेपाल सम्भव छ । 

नेपाल अब परिवर्तनको यात्रामा उभिएको छ जहाँ युवाले दिशा देखाएका छन्, नारीले नेतृत्व लिएकी छन् र जनताले आफ्नो आवाज बुलन्द बनाएका छन् । सुशीला कार्कीको नेतृत्वमा अब त्यो आवाज केवल सडकमा होइन, राज्यको संरचना र नीति निर्माणमा पनि गुन्जिनेछ । 
समावेशी, समतामूलक र भ्रष्टाचारमुक्त नेपाल निर्माणको यो ऐतिहासिक घडीमा हामी सबैको सक्रिय सहभागिता अनिवार्य छ । यही अवसर हो, नेपालले नयाँ युगमा प्रवेश गर्ने । 
(खजुरा बाँके)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना पौडेल ‘जिज्ञासु’
कल्पना पौडेल ‘जिज्ञासु’
लेखकबाट थप