शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

एक जेनजीको अन्तिम सास

बुधबार, ०१ असोज २०८२, १७ : २१
बुधबार, ०१ असोज २०८२

काठमाडौंको साँझ उसकै हाँसोले उज्यालो हुने गर्थ्यो । २५ वर्षको जीवन कलेजका नोटबुक, लोकसेवा तयारीका किताब, ती प्रत्येक भित्ताको ठाउॅंठाउॅंमा टाँसिएका रहर ‘म सरकारी जागिरे नहुँदासम्म बूढो नहुनु है बा आमा’ । चाडबाडलाई विदेशबाट आएका साथीहरूसँगको गफगाफ, घरको आँगनमा चाडबाड आयो छोरो कहिले आउला भन्दै बाटो हेर्दै बसेकी आमा, अनि देशमै केही गर्नुपर्छ भन्ने ऊ । 

ऊ भन्थ्यो, ‘खै सबै विदेश लागे प्रगति गरे, म नेपालमै केही गर्छु भन्ने आज जुन अवस्थामा थिएँ उही छु ।’  आफूले आफैंलाई प्रश्न गर्‍यो- ‘के हाम्रो पुस्ताले यो देश बदल्छ ?’
तर भदौ २३ को बिहान ऊ घरबाट निस्किँदा आमाले फोनमा गरेको अन्तिम बोलाइ आज पनि कानमा बज्छ- ‘छिट्टै फर्किएस् है । बाबु अलि पर बसेर हेरेस् त्यस्तोमा जानु हुँदैन ।‘

उसले  हुन्छ के, टेन्सन नलिनु भनेर फोन राख्यो । न त आमालाई सम्झाउन नै खोज्यो, न आफ्ना सपनाको किताब बन्द गर्‍यो ।

सडकमा हजारौं युवाको स्वर एकै तालमा गुञ्जिरहेको थियो- ‘भ्रष्टाचार बन्द गर, हामी राष्ट्र निर्माण गर्न कर तिर्छौं, विलासी सामान किन्न होइन ।‘ उनीहरूको हातमा ब्यानर थिए, तर मनमा डर थिएन । ऊ पनि भीडभित्रै थियो देशले मुहार फेर्छ कि भन्ने सपना र आशा बोकेर ।

तर एक्कासि हावा चर्कियो । ढुंगा र पानीको फोहराको आवाज, अचेत गराउन प्रयोग गरिएको अश्रुग्यास, चिच्याहट, अनि गोलीको गर्जन । केहीबेरमै उसको छाती नजिक सेतो टिसर्ट रगताम्य भयो ।

उसले हातले घाउ छोप्दै साथीलाई हेरेर फुसफुसायो- मलाई घर पुर्‍याइदेऊ… आमा पर्खिरहेकी होलिन् ।‘

‘भ्रष्टाचारी सरकार मुर्दावाद, देश लुट्न पाइँदैन, यस्तो सरकार चाहिँदैन’ भन्दै नारा गुञ्जिरहेको सडकमा उसको श्वास हराउँदै गयो । ज्यान मेटियो, उसले आफ्नो अन्तिम श्वास संसद भवन अगाडि बाटोमै छोड्यो, तर उसको आँखामा अझै अधुरो सपना बाँचिरहेको थियो शान्ति, समानता र न्याय ।

आज त्यो आमाको काख खाली छ, खुसी खोसिएको छ । जिउँदो मुढोसरह छिन् उनी । उसको आँखामा अधुरो सपना, हातमा किताब, मुटुमा देशप्रति माया थियो । उसका लोकसेवाका पाना अझै खुला छन्, भित्तामा टाँसिएको रहरले अझै उनलाई खोजिरहेछ ।

देशले एक होनहार युवक गुमायो, आमाले आफ्नो सम्पूर्ण संसार ।

हामीले गुमाएको उसको नाम इतिहासले सायद छोटकरीमा मात्र लेख्ला । तर उसको रगतको रङ हाम्रो चेतना बन्नुपर्छ । जनताको आवाज सुन्ने शक्ति हाम्रो शासनमा कहिले आउला ?

-कीर्तिपुर, काठमाडौं

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सपना ज्ञवाली
सपना ज्ञवाली
लेखकबाट थप