आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

स्मृति मन्धानाले बनाइन् भारतका लागि सबैभन्दा छिटो एकदिवसीय शतक, कोहलीको रेकर्ड तोडिन्

शनिबार, ०४ असोज २०८२, २० : ४९
शनिबार, ०४ असोज २०८२

सारांश

  • स्मृति मन्धनाले एकदिवसीय क्रिकेटमा भारतबाट सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान बनाएकी छिन्।
  • उनले ५० बलमा शतक पूरा गरिन्, र विराट कोहलीको रेकर्ड तोडिन्।
  • अस्ट्रेलियाले दिएको ४१३ रनको लक्ष्य पछ्याउँदै, मन्धनाले १२५ रन बनाइन्।

नयाँ दिल्ली । भारतीय महिला क्रिकेट टिमकी स्टार ब्याटर स्मृति मन्धनाले एकदिवसीय क्रिकेट इतिहासमा भारतबाट सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान कायम गरेकी छिन् ।

उनले नयाँ दिल्लीस्थित अरुण जेटली स्टेडियममा शनिबार मात्रै ५० बलमा यो शतक पूरा गरिन् । 

मन्धनाले यसअघि महिला एकदिवसीय क्रिकेटमा आफ्नै ७० बलको शतकको रेकर्डलाई सुधार गरेकी हुन् । महिला एकदिवसीय क्रिकेटमा यो समग्रमा दोस्रो सबैभन्दा छिटो शतक हो । यसअघि अस्ट्रेलियाकी मेग लानिङले ४५ बलमा शतक बनाएकी थिइन् । 

भारत महिला टोलीले हाल अस्ट्रेलियाले दिएको ४१३ रनको विशाल लक्ष्य पछ्याइरहेको छ । २ विकेट गुमेपछि कप्तान हरमनप्रीत कौर र स्मृति मन्धनाले उत्कृष्ट प्रदर्शन गर्दै शतकीय साझेदारी गरेका थिए । यद्यपि हरमनप्रीत ५२ र मन्धना १२५ रन बनाएर पवेलियन फर्किएकी थिइन् । 

यसअघि पहिले ब्याटिङ गर्दै अस्ट्रेलियाले ४७.५ ओभरमा ४१२ रनको विशाल योगफल खडा गरेको थियो । अस्ट्रेलियाका लागि बेथ मुनीले मात्रै ५७ बलमा शतक प्रहार गरिन् । यस्तै, जर्जिया वोलले ८१ र एलिस पेरीले ६८ रनको योगदान दिएका थिए । भारतका लागि अरुन्धत्ती रेड्डीले ३ विकेट लिइन् भने रेणुका ठाकुर र दीप्ती शर्माले २-२ विकेट हात पारे । 

मन्धनाले तोडिन् विराट कोहलीको रेकर्ड 

स्मृति मन्धनाले पुरुष र महिला दुवै वर्गमा एकदिवसीय क्रिकेटमा भारतका लागि सबैभन्दा छिटो शतक बनाउने रेकर्ड आफ्नो नाममा दर्ता गरेकी हुन् । उनले पुरुष टिमका विराट कोहलीको रेकर्ड तोडेकी हुन्, जसले २०१३ मा अस्ट्रेलियाविरुद्ध नै ५२ बलमा शतक बनाएका थिए । मन्धना ६३ बलमा १२५ रन बनाएर आउट भएकी थिइन् । 

महिला क्रिकेटमा भारतविरुद्ध एकदिवसीयमा ४०० रनभन्दा बढी बनेको यो पहिलो पटक हो, यसअघि अस्ट्रेलियाले नै भारतविरुद्ध ३७१ रन बनाएको थियो । अस्ट्रेलियाले यो खेलमा आफ्नो उत्कृष्ट स्कोरको बराबरी पनि गरेको छ । उसले सन् १९९७ को विश्वकपमा डेनमार्कविरुद्ध पनि ४१२ रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप