आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
विचार

जेनजी विद्रोहको सन्देश : अब निस्क गगन, विश्व, योगेशहरु

आइतबार, ०५ असोज २०८२, १२ : ३२
आइतबार, ०५ असोज २०८२

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले मुलुकको राजनीतिक ‘सिनारियो’ बदलिदिएको छ । सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ भने आगामी फागुन २१ गतेलाई प्रतिनिधिसभा निर्वाचन तोकिएको छ । 

यस हिसाबले मुलुक चुनावको संघारमा उभिएको छ । समानुपातिकतर्फ विदेशमा बस्ने नेपालीलाई पनि मतदानको व्यवस्था गर्ने पहिलो सरकारी प्रयास हुँदै गरेकाले आगामी चुनाव अझ खास हुन सक्नेछ ।

हुन त गत निर्वाचन लगत्तैबाट ‘मिसन ८४’ को नाममा दिनदिनै अर्को चुनावकै तयारी भइरहेको थियो भन्दा फरक नपर्ला । यद्यपि, भदौ २३ अगाडि चुनाव टाढाकै विषय थियो, मध्यावधिको त कल्पना पनि यो संविधानले गरेको थिएन । 

आज हामी जुन दोबाटोमा उभिएका छौं, सुरुमा यहाँ हामी कसरी आइपुग्यौं ? यसको अलिकति चर्चा गर्न वाञ्छनीय हुन्छ । देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको लामै समय हुँदा पनि आम मानिसले महसुस गर्नेगरी परिवर्तन देखिएन । देशमा विकास निर्माणका क्षेत्रमा विस्तारै परिवर्तन आउँदै थिए होला त्यो बेग्लै कुरा हो । यी सबैबिच रेमिट्यान्सले धानेको मुलुकको नयाँ पुस्तामा एउटा बेगवान विचार दौडिरहेको थियो । 

निरन्तर रेडियो, टेलिभिजन, युट्युब, टिकटकजस्ता सामाजिक सञ्जालहरुमा देशमा केही भएन, नेताहरुले आफ्नै कार्यकर्ताको मात्रै पोषण गरे, व्यापारीहरुको मात्र हितमा चलेको छ देशमा भन्ने प्रवाहले युवापुस्तामा चरम निराशा बढिरहेको थियो । सरकार यसको न त प्रतिवाद गरिरहेको थियो, न आफूमा सुधार । 

पूरै देशका युवा विदेशतर्फ लाग्दैछ भन्ने जबर्जस्त कथन स्थापित हुँदै थियो । तर विदेश पुगेर पनि नेपाल नै ठिक रहेछ, त्यहाँ नै केही गर्न सकिन्छ भन्ने फर्किनेहरुको बारेमा कसैले पनि लेखेन, भनेन वा भनेको सुनिएन । विदेशमा बस्ने नेपालीहरुकै लगानीमा देशभित्र भटाभट होटलहरु खुलिरहेका थिए । पर्यटकीय र मनोरञ्जनात्मक विभिन्न रिसोर्ट खुलिरहेका थिए । यो सबैको कारण बढ्दै गएको पर्यटन नै थियो । 

युवाको सोच पब्जीको विश्वमञ्चमा कसरी जित हासिल गर्ने भन्नेमा पुगिसकेको थियो । नेपाली राजनीति भने छिर्के हानेर कतिबेला कसरी कुर्सीमा चढ्ने भन्ने खेलमा नै अलमलियो । यो खेलमा उनीहरु यति मस्तराम भए कि जेनजी पुस्तामा बढ्दै गएको असन्तोषको आगो उनीहरुले छाम्नै सकेनन् ।

विश्वका कुनाकुनामा पुगेका नेपालीहरुले रेस्टुरेन्टहरुका चेन नै नेपालका प्रमुख सहरहरुमा विस्तार गरेको देख्न सकिन्छ । बजारले नखोजीकन यी खुलेका थिएनन् र राम्रैसँग चलिरहेका पनि थिए, अर्थात् बजारका माग धानिरहेका थिए । तर जारी थियो सामाजिक सञ्जालहरु, कमेडी क्लबहरु अनि घरघरमा देश खाली भयो भन्ने विचारको विस्तार । केही सोध्थे, काठमाडौंमा या काठमाडौं उपत्यका बाहिर पनि हुने कन्सर्टहरुमा देखिएका मानिस चाहिँ को हुन् ? यस्तो त पहिले थिएन, हुँदैनथ्यो । लाख हाराहारीमा दर्शकको उपस्थितिमा खुला ठाउँमा नै ठुला-ठुला कन्सर्ट भएका उदाहरण थिए । तर पनि भाष्य उही, खाली हुँदैछ देश । 

खासमा अहिलेको परिवर्तित विश्वमा अवसर पाउँदा जुनसुकै कुनामा पनि जान्छ मानिस । तर त्यसरी गएको नेपालीको जग भने नेपालमै हुन्छ र थियो । उपेन्द्र महतोलाई उदाहरणका रुपमा हेर्दा हुन्छ । उनले चाहँदा विश्वका कुनैपनि कुनामा आरामले बाँकी जिन्दगी बिताउन सक्थे । तर उनले नेपाल नै खोजे, काठमाडौं नै रोजे । यस्ता उपेन्द्रहरु धेरै छन् । कसैले अस्ट्रेलियाबाट फर्केर होटल चलाएका छन् । कसैले दुबईमा सिकेको सीपले बेमौसमी तरकारी फलाएका छन् । बियर उद्योग चलाउने आँट पनि विदेश पुगेर फर्किएका युवालाई नै आयो अनि नेपाली सामानहरु विदेश पठाउने कामको तीव्रता पनि विदेशमा बढ्दै गएको नेपाली बजारले ल्याइदियो । आज अचार बेचेरै करोडौं कमाउने नेपाली पनि छन् । पीठो, तील, जौ, मसाला रिप्याकेजिङ गरेर निर्यात गर्नेहरुले पनि मनग्गे रोजगारी सिर्जना गरेका छन् । 

अब फर्किऔं मूल मुद्दामै अर्थात् आगामी दिनमा नेपालले लिने बाटोतर्फ । युवाको सोच पब्जीको विश्वमञ्चमा कसरी जित हासिल गर्ने भन्नेमा पुगिसकेको थियो । नेपाली राजनीति भने छिर्के हानेर कतिबेला कसरी कुर्सीमा चढ्ने भन्ने खेलमा नै अलमलियो । यो खेलमा उनीहरु यति मस्तराम भए कि जेनजी पुस्तामा बढ्दै गएको असन्तोषको आगो उनीहरुले छाम्नै सकेनन् ।

यसो भनौं, नवयुवा पुस्ता विद्यालय, प्लस टु अनि विदेशको चक्रमा हिंड्न थालेको केही वर्ष भएको थियो । संघीयता र पछिल्लो राजनीतिक व्यवस्थाका कारण ठुलो संख्यामा नेताहरु उत्पादन भइरहेका थिए । ती नेताको उपस्थिति जुन योजनाका साथ समाजका सबै तहतप्कामा हुनुपर्ने थियो त्यो भइरहेको थिएन । जो पुस्ता विदेश जानकै निम्ति तयारी गरिरहेको थियो विद्यालय तहबाटै उनीहरु वरिपरि देख्ने आफ्नै उमेर समूहका व्यक्तिमा पनि नेताका छोराछोरी देख्थे । कोही छोटे नेता, कोही बडे नेता, कोही वडा तहको नेता, कोही जिल्ला, कोही प्रदेश त कोही राष्ट्रिय तहका नेताका छोराछोरी । उनीहरुको अस्वाभाविक फड्को आश्चर्य पार्ने खालको लाग्यो उनीहरुलाई । यति नै बेला राजनीतिक दलहरुले कुनै कार्यक्रम गरिरहेका थिएनन् यी नवयुवाहरुका निम्ति । त्यसमाथि हरेक दिनजसो देश खाली हुँदैन, यहाँ छैन अवसर, भ्रष्टाचारले आक्रान्त भयो हाम्रो समाज भन्ने लगातारको सुगारटाई त छँदै थियो । 

भ्रष्टाचार यतिसम्म थियो कि पैसा भएकै आधारमा कानुनबाट बच्न सकिन्छ । राजनीतिक पहुँच भएमा जस्तोसुकै काम गर्ने छुट पाइन्छ भन्ने विचार नवयुवाको दिमागमा भरिँदै थियो । यो उकुसमुकुसले बेलाबेलामा निकास पनि पाउँथ्यो । तर त्यो पर्याप्त थिएन । बेलाबेलामा देखिने राजनीतिभित्रका अराजनीतिक घटनाक्रमले आगो थपेकै थियो । 

मन्त्रीको गाडीले सर्वसाधारणलाई ठक्कर दिँदा देशको प्रधानमन्त्रीको अभिव्यक्ति यति गैरजिम्मेवार थियो कि सुन्ने जोकोहीको कन्पारो तातेर आउँथ्यो । सामाजिक सञ्जालको प्रतिबन्धले यसैबाट रोजीरोटी चलाइरहेका र व्यापार व्यवसायमा केही प्रगति गरेकाहरुको जीवन अँध्यारो बनाइदिने काम गर्‍यो । भलै, सामाजिक सञ्जाल प्रतिबन्धमा तत्कालीन सरकारका आफ्नै तर्क थिए । 

इतिहासको कालखण्डमा यस्ता विरलै अवसरहरु आउँछन्, जहाँ हिजोको विरासतलाई पनि कायम राख्दै नयाँ युगको नेतृत्व गर्ने अवसर प्राप्त हुन्छ । यस पटक यो रेल छुट्यो भने चुनावलाई बिथोल्ने वा हुन नदिने खेलहरु भए भने त्यसले पक्कै पनि परिणाम अझ भयानक र भयंकर दिनेछ ।

यो पृष्ठभूमिमा तयार भएको थियो देश नै बल्ने परिस्थिति । देशका प्रमुख संरचनाहरुमा तोडफोड, आगजनी र लुटपाट भइसकेको छ । नवयुवाहरुले यस्तो चाहेका थिएनन् होला तर जब प्रहरीको तर्फबाट गोली चलेर एकैदिन एकै ठाउँमा १९ जनाभन्दा बढीको ज्यान गयो, त्यसपछि बालबालिका र किशोरकिशोरीहरुमाथि पनि सरकार निर्दयी छ भन्ने जबर्जस्त भाष्य स्थापित हुनपुग्यो । दोस्रो दिन अभिभावकहरु पनि सडकमा आए । सडक रणमैदान बन्न पुग्यो । केही योजनाबद्ध तरिकाबाट हिंसालाई मूर्तरुप दिने तयारीहरुका कुरा पनि आएका छन् जसको पटाक्षेप समयक्रममा हुने नै छ । तर आक्रोश त थियो र जायज पनि । 

माथि चर्चा गरिएका सबै भाष्यहरुको पटाक्षेप नेताका घर, व्यापारीको आर्जन अनि सरकारी संरचनाहरुमा दिनभर नै आक्रमण भइरह्यो । पूरै देश जल्यो भदौ २४ को दिन । व्यवस्था नै धर्मरायो । यसको विकल्प खोजिरहेको केही शक्तिले यसलाई त्यहाँसम्म लगेका थिए । नवयुवाको आक्रोश, अभिभावकहरुको चीत्कार र योजनाविहीन सुरक्षा र राजनीतिक नेतृत्वको कारण देशै बल्न-जल्न पुग्यो । 

अब कता जाने ? 

स्थिति सम्हालिएको छ, तर यो पूरै नियन्त्रणमा भने छैन । चुनाव घोषणा भएको छ । दलहरुको अहिलेको मनस्थिति हेर्दा उनीहरु फेरि उही पुरानै सोचमा आइसके । केहीले कुटाई खाए होलान्, केहीले माफी मागे होलान्, केहीले मनमनमा विचार गरे पनि होलान् केही गलत भएकै थियो भनेर । तर उनीहरु अझै पनि समयको वेगलाई बुझ्न सकिरहेका छैनन् । 

हो, यति नै बेला राजनीतिक चेत भएका, परिवर्तनको अभिलाषा राख्ने र यिनै ठुला भनिएका मुख्य दलमा रहेको तत्कालीन समयमा युवा भनिएका नेताहरुको भूमिका देशले मागेको छ । नेपाली कांग्रेसमा लामो समयदेखि परिवर्तनको अडान र चाहना राखेकाहरु, एमालेमा कुनामा पारिएका नेताहरु, माओवादीमा रहेका परिवर्तनशील विचारजडित युवाहरुको भूमिका यतिबेला परिहार्य बनेको छ । तर कसरी ? यो खुट्याउन भने उनीहरुले अझै गल्ती गरिरहेका छन् । आफ्नै दलहरुभित्र आन्तरिक लोकतन्त्रको अभ्यास नभएको धेरै भइसक्यो भन्ने  सायद उनीहरुले हेक्का राख्न सकेका छैनन् । र, अझै केही समय कम्तीमा पनि चुनावसम्म उनीहरुले भनेको जस्तो नेतृत्वमा परिवर्तन आउने छाँट छैन । 

यसैकारण यतिबेला यी दलहरुबाट समयको यो अहिलेको वेगलाई बुझेका युवा नेताहरुको विद्रोह अपरिहार्य बनेको छ । अब गगन, विश्वप्रकाश या योगेशहरुले दलभित्र विद्रोह गर्ने, नत्र छोड्ने बेला भएको छ । माओवादीका जनार्दन लगायतका नेताहरुले पनि आँट गर्ने बेला भइसकेको छ । सुमनाले आफ्नो दलभित्र भएको बेथितिको विरोधमा जसरी आफूलाई अलग गर्ने साहस गरिन्, त्यस्तो साहस जुटाउन र राजनीतिक चेतसहितका युवाहरुको छुट्टै चुनावकेन्द्रित अभियान चलाउन ढिला गर्न हुँदैन । अन्यथा चुनावले यी सबैलाई पनि त्यही बाढीमा बगाइदिनेछ, जुन बाढीले हिजो परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका खेलेका, जेल नेल र यातनाको सिलसिला भोगेका तर अहिलेको समयको वेग बुझ्न नसकेका बूढा नेताहरुलाई बगाउँदैछ । 

जेनजीसहितका गैरराजनीतिक, स्वतन्त्र भनिएका युवाहरुको जोश र राजनीतिक चेत रहेका वर्तमान मूल राजनीतिका युवाहरुको सहकार्य या प्रतिस्पर्धाबाट मात्र निकास निस्कन सक्नेछ । यसका आयामहरु थपिँदै जालान्, तर अहिले तत्कालै गर्नुपर्ने काम भनेको क्षमायाचनासहित जेनजीसँग बृहत् संवाद हो । यही संवादले नै राजनीतिक दलहरुमा रहेका इमान्दार, नयाँ सोच राख्ने र भ्रष्टाचारलाई शून्य सहनशील आँखाले हेर्नेहरुको ‘रेस्क्यु’ सम्भव छ । 

इतिहासको कालखण्डमा यस्ता विरलै अवसरहरु आउँछन्, जहाँ हिजोको विरासतलाई पनि कायम राख्दै नयाँ युगको नेतृत्व गर्ने अवसर प्राप्त हुन्छ । यस पटक यो रेल छुट्यो भने चुनावलाई बिथोल्ने वा हुन नदिने खेलहरु भए भने त्यसले पक्कै पनि परिणाम अझ भयानक र भयंकर दिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चिरञ्जीवी देवकोटा
चिरञ्जीवी देवकोटा
लेखकबाट थप