शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
प्रदेश

सीमा नाकाको द‍ृश्य : कोही दसैँ मनाउन घर फर्किँदै, कोही कामका लागि भारततिर

आइतबार, १२ असोज २०८२, १६ : १४
आइतबार, १२ असोज २०८२

सारांश

  • दसैं मनाउन घर फर्किने र रोजगारीको लागि भारत जानेहरूको त्रिनगर भन्सार नाकामा भिड लागेको छ।
  • रोजगारीको अभावमा नेपालीहरू भारत जान बाध्य छन्, भने फर्किनेहरूले दुःख र सास्ती भोग्नुपरेको गुनासो गरेका छन्।
  • दसैँको समयमा सुदूरपश्चिमका नाकाहरूबाट भारतबाट फर्किने र जानेहरूको संख्या बढ्दो छ।

धनगढी । सुदूरपश्चिमको भारतसँग सीमा जोडिएको मुख्य नाका त्रिनगर भन्सार नाकामा अहिले दुई किसिमका भिड देखिन्छन्। एउटा भिड दसैँ मनाउन घर फर्किनेहरूको हो भने अर्को चाडपर्वको मुखमा रोजीरोटीका लागि देश छोड्नेहरूको हो। वर्षभरि भारतका विभिन्न सहरमा पसिना बगाएर दसैँ मनाउन घर फर्किरहेका खुसी देखिन्छन् भने चाडपर्वकै बेला बाध्यताले भारततिर लागेकाहरू भने निराश देखिन्छन्।

बाजुराकी टिका थापा भारत जाने लाइनमा उभिएकी थिइन्। कामका कारण यस पटक गाउँमा दसैँ मनाउन नभ्याएको उनले सुनाइन्।

‘गाउँमै दसैँ मनाउन पाए हुन्थ्यो भन्ने थियो। तर, श्रीमान्को जागिर छ, मेरो पनि काम छ। दुई–तीन दिनभित्रै काममा नफर्के हुने छैन, त्यसैले जाँदै छौँ। यसपालि यसै भयो, अर्को साल मनाउँला नि दसैँ,’ उनले भनिन्।

gaddachauki  (1)

नाकाबाट आवतजावत गर्न अनिवार्य नागरिकता वा परिचय खुल्ने सरकारी कागजपत्र चाहिन्छ। आउँदा–जाँदा लामो लाइनमा घण्टौँ उभिनुपर्दा, विशेषगरी गर्मी समयमा धेरै सास्ती हुने गरेको उनले सुनाइन्।

‘हामी रोजगार नभएका मान्छेले यसरी नै दुख गरेका छौँ। गाउँमा बस्ने बाटो भए, दसैँमा किन घर छोड्नुपर्थ्यो र?’ उनले गुनासो गरिन्।

घर फर्किनेहरू सुटकेस, बाकस, प्लास्टिकले बेरिएका झोला लगायतका सामान बोक्दै आएका छन्। भारतबाट फर्किनेहरूको लामो लाइन देखेर उनीहरूलाई गन्तव्यसम्म पुर्‍याउन अटो रिक्सा र नगर बसको ताँती छ। चालकहरू ‘बसपार्क, अत्तरिया, महेन्द्रनगर’ भन्दै यात्रु तान्न व्यस्त छन्। धनगढीका होटेल व्यवसायीहरू ग्राहक खोज्दै नाकामै पुग्छन्। भारतबाट फर्किएका परदेशीहरूबाट चालकदेखि व्यापारीसम्म सबै दुई पैसा कमाउने धुनमा छन्।

gaddachauki  (2)

अर्को देशमा पसिना बगाएर कमाएको पैसामा नाकामा 'सामान बढी भयो, यसो भयो, उसो भयो' भन्दै दुवै देशका सुरक्षाकर्मीले कचकच गर्छन्। कतिपय सर्वसाधारणलाई भारतीय एसएसबीलाई पैसा समेत तिर्नुपर्छ।

‘नाकामा धेरै गाह्रो छ। आउँदा हाम्रो पट्टी भन्दा पनि भारती पट्टीका सुरक्षाकर्मीको कचकच बढी हुन्छ, पैसा पनि तिर्नुपर्छ,’ भारतको मुम्बईबाट फर्किएका कैलालीको गौरीगंगाका राजु रिजालले भने।

बाजुराको पुर्ख्यौली घर भई हाल कैलालीको घोडाघोडीमा बसोबास गर्दै आएका नेगेन्द्र महताले आफ्नो जीवनको ३०–४० वर्ष भारतमै बिताइसके। उनका दुई छोरा अहिले पनि भारतमै मजदुरी गर्छन्। दसैँ मनाउन घर फर्किएपछि उनको मुहारमा चमक थियो। उनका २२ वर्षका छोरा भीम महता भारतको बैंगलोरमा काम गर्छन्। उनी छोरालाई लिन नाकामा उभिएका थिए। उनी आफैँ केही दिनअघि मात्र घर फर्केका थिए। यसपालि छोरासँगै दसैँ मनाउने तयारी उनको छ।

gaddachauki  (3)

‘वर्ष दिनको चाड हो। परिवारसँगै बसेर टिका–जमरा लगाउने, सेलरोटी र मासु खाने तयारी छ,’ उनले सुनाए।

नेगेन्द्रले छोरालाई धेरै पढाउने सोच राखे पनि पैसाको अभावले परदेशिनु परेको दुःख सुनाए।

‘हामीजस्ता गरिबका लागि सरकारले कहिल्यै सोचेन। अब आउने सरकारले देशमै रोजगारी सिर्जना गर्ने कानुन बनाओस्, तब मात्र हाम्रो विकास हुन्छ,’ उनले भने।

कैलालीको जोशीपुरका टेकबहादुर परियार पनि दसैँ मनाउन घर फर्किएका छन्, तर शरीरमा रोग बोकेर। घाँटीको गम्भीर इन्फेक्सनको उपचारमा पाँच लाखभन्दा बढी खर्च भइसकेको छ।

gaddachauki  (4)

‘म आफैँ बिरामी छु। अहिले छोराको कमाइले घर र मेरो उपचार चलेको छ। यसपालिको दसैँ पनि कस्तो हुन्छ, खै,’ उनी निराश थिए। उनको लागि दसैँको खुसीलाई रोग र आर्थिक अभावले खल्लो बनाइदिएको छ।

अहिले सुदूरपश्चिमको त्रिनगर भन्सार नाका मात्र होइन, गड्डाचौकी नाकाबाट पनि घर फर्किनेहरू धेरै छन्। त्यस्तै, पहाडी जिल्ला दार्चुलाको खलंगा र बैतडीको झुलाघाट नाकाबाट पनि भारतबाट फर्किनेहरू दैनिक आइरहेका छन्। कतिपय विवश भएर अहिले पनि यी नाकाबाट परदेसिन बाध्य छन्।

gaddachauki  (5)

सुदूरपश्चिमबाट काठमाडौँभन्दा भारत नजिक छ। बजार उतै छ, उपचार उतै छ र काम पनि उतै भेटिन्छ। यहाँका स्थानीयले गाउँमा रोजगारीको माध्यम नभेटेपछि काम खोज्दै नजिकैको उत्तराखण्डदेखि कालापहाड, रत्नागिरी, नयाँदिल्ली, मुम्बई, बैंगलोरसम्म पुग्छन्। कतिले भारतमै नोकरी गरेर जीवन गुजारेको दशकौँ भइसकेको छ। यी नाकामा भेटिनेहरू उमेर ढल्केकासम्म पनि छन्।

gaddachauki  (6)

सुदूरपश्चिमबाट धेरै जनसंख्या भारतमा छ। खुला सीमा भएकाले वार्षिक कति मान्छे भारत जान्छन् भन्ने ठ्याक्कै डाटा सरकारसँग छैन। तर, बर्सेनि पाँच–छ लाख हाराहारी सुदूरपश्चिमवासी भारत जाने अनुमान छ। यो क्रम वर्षौँदेखि चलिरहेको छ। दसैँका लागि अन्य नाकामा तिकुनियाबाट पनि आउने–जानेको चाप बढी छ। अहिले त धनगढी, अत्तरियालगायतका ठाउँबाट दसैँको किनमेलका लागि भारतीय बजार बनगाउँ, गौरीफन्टा, पलिया लगायतका बजारमा जानेहरूको समेत भिड बढेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप