शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

जेनजीसँग निःशुल्क सेयर दिने सहमति भएको छैन : भोटेकोसी पावर कम्पनी

बुधबार, २९ असोज २०८२, १२ : ५१
बुधबार, २९ असोज २०८२

सारांश

  • भोटेकोसी पावर कम्पनीले जेनजीसँग निःशुल्क सेयर दिने सहमति नभएको स्पष्ट पारेको छ।
  • कम्पनीले सिन्धुपाल्चोकका स्थानीयको प्रतिनिधित्व गर्ने जेनजी पब्लिक इन्भेस्टमेन्टसँग सेयर वितरणबारे कुनै सहमति नभएको जनाएको छ।
  • कम्पनीले स्थानीयलाई सेयर खरिदका लागि आवेदन दिन र ऋणको जमानी बीकेपीसीले गर्ने जनाएको छ।

काठमाडौँ । भोटेकोसी पावर कम्पनी प्रालिले जेनजीसँग निःशुल्क सेयर दिने सहमति नभएको स्पष्ट पारेको छ । कम्पनीले सिन्धुपाल्चोकका स्थानीयको प्रतिनिधित्व गर्ने भोटेकोसी जेनजी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेडसँग निःशुल्क सेयर वितरण गर्ने कुनै प्रकारको सहमति नभएको स्पष्ट पारेको हो ।

बुधवार एक विज्ञप्ति जारी गर्दै सो कम्पनीले भनेको छ– ‘भोटेकोसी जेनजी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोसी पावर कम्पनीबिच निःशुल्क सेयर दिने कुनै पनि प्रकारको सहमति भएको छैन ।’    

कम्पनीका अनुसार, जेनजी पब्लिक इन्भेस्टमेन्टले भोटेकोसी पावर कम्पनीका १० प्रतिशत सेयर खरिदका लागि आवेदन दिने तयारी गर्दै छ । जसअन्तर्गत जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई उक्त पब्लिक कम्पनीको सेयर धनी बनाइनेछ ।

कम्पनीले प्रतिसेयर अङ्कित मूल्य १०० का दरले १० प्रतिशत सेयर त्यस कम्पनीलाई बिक्री गर्ने व्यवस्था मिलाइएको छ । कम्पनीले भनेको छ, ‘यसरी सेयर खरिद गर्ने व्यवस्था निःशुल्क सेयर वितरण होइन । त्यसैले यस विषयमा भ्रममा नपर्न अनुरोध गर्छ ।’

सेयर खरिदका लागि आवश्यक रकम उक्त पब्लिक लिमिटेड कम्पनीले बैंकबाट ऋणस्वरूप लिने र सो ऋणको जमानी व्यवस्था मात्र बीकेपीसीले गर्ने सहमति भएको कम्पनीले स्पष्ट पारेको छ ।

भोटेकोसी पावरका अनुसार, आयोजना निर्माण सम्पन्न भइसकेकाले कम्पनीले वार्षिक रूपमा वितरण गर्ने लाभांशबाट प्राप्त रकम पब्लिक लिमिटेड कम्पनीले लिएको ऋण र ब्याज तिर्न प्रयोग गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप