जेनजी विद्रोहपछि कांग्रेसको बाटो
सारांश
- जेनजी आन्दोलनले अघिल्लो आन्दोलनझैँ उपलब्धि गुमाउने सम्भावनाबारे लेखकले चिन्ता व्यक्त गरेका छन्।
- लेखकका अनुसार, जेनजी विद्रोह राजनीतिक दलहरूको अकर्मन्यता र भ्रष्टाचारका विरुद्ध थियो।
- लेखमा नेपाली कांग्रेसले जेनजी आन्दोलनको मर्म बुझेर अघि बढ्नुपर्ने र आगामी दिनमा सुधार गर्नुपर्ने कुरा उल्लेख छ।
जेनजी आन्दोलनले जन्माएको नेता पनि यसअघिका आन्दोलनबाट जन्मिएका नेताहरुझै भइदियो भने ? संशय यही छ । साथसाथै अर्को संशय पनि छ– जेनजी आन्दोलनको उपलब्धि यसअघिको आन्दोलनका उपलब्धिझैँ भइदियो भने ? विगतका पवित्र आन्दोलनहरु कालन्तरमा कसैको सत्ता उक्लिने भर्याङ बनिदियो र त जन्मियो– भाद्र २३ र २४ को जेनजी विद्रोह ।
हाम्रो पुस्ताको ऊर्जाशील समय सडक आन्दोलन र परिवर्तनका लागि बित्यो । परिवर्तनको चाह अहिलेको जेनजीहरुकोझैँ थियो, त्यस बेलाका हामी जेनजीहरुको पनि । प्रश्न हामीमाथि पनि छ । जुन, आन्दोलन हामी र हाम्रो मात्र होइन अग्रज पुस्ताले गर्यो, तर त्यसको उपलब्धि भने मुठ्ठीभरका व्यक्तिहरूको सत्ताका लागि मात्रै बनिदियो । ०६२–०६३ को परिवर्तनपछि देश अर्को गतिमा अघि बढेको हुनुपर्ने थियो । तर देश उल्टो बाटोमा अघि बढ्यो, जसलाई जेनजी आन्दोलनले ट्र्याकमा ल्याउने प्रयत्न गर्यो, जुन सफल देखियो ।
हाम्रो पुस्ताले देखेको जेनजी विद्रोहभन्दा अघिको ०६२–०६३ को परिवर्तनको उपलब्धीलाई संस्थागत गर्न मात्र सकेको भए आज यो दिन आउने थिएन । त्यही आन्दोलनले धेरै नेताहरू जन्मायो, तर फोहोर बनिसकेको राजनीतिलाई ती नेताहरूले न सफा गर्न सके न त आफू सफा जस्तो देखिन सके । हरेक आन्दोलन र परिवर्तन राजनीतिक दलको नेतृत्वमा भयो । तर यो आन्दोलन ती परिवर्तनकामी दलहरुको अकर्मन्यताको विरुद्ध भयो । अझै पनि न दलहरूले आफूलाई आन्दोलनको मर्म अनुसार अघि बढ्ने प्रण गर्न सकेका छन् न त आफू सच्चिने यत्न र प्रयत्नमा छन् । जसले आगामी दिन न नेपालीका लागि न नेपालीहरूलाई देखाएर राजनीति गर्ने दल र तीनका नेताहरूका लागि सुखद हुनेछ ।
लोकतन्त्रका लागि लडेको दल नेपाली कांग्रेस कम्तीमा अन्य दलहरू फरक हुनुपर्दछ, जेनजी आन्दोलनको मर्मलाई बुझेर अघि बढ्न सकोस् सुरुवातमा यो कामना गर्न चाहन्छु ।
- जेनजी विद्रोहको पृष्ठभूमि
विज्ञानको नियम छ कि, कुनै पनि घटना घट्नु केबल संयोग होइन त्यो घटना घट्ने वस्तुपरक कारक र पृष्ठभूमि इतिहासले बनाइसकेको हुन्छ । नेपालको इतिहासमा पनि अत्यन्तै अकल्पनीय ढंगले भाद्र २३ गते नेपाली युवाहरूको चेतना र जागरण प्रस्फुटित भयो जुन जेनजी नामको आवरणमा सतहमा आयो । दुनियाँमा यस्ता हजारौँ विद्रोह भएका छन्, जसले एउटा सुविचारित आन्दोलनको जन्म गराएको छ । जस्तै स्पार्सकस विद्रोह, रोम साम्राज्य विद्रोह, मेक्सिकन विद्रोह, सिरियाली विद्रोह, फ्रेन्च उपनिवेश विद्रोह, त्यसैगरी भानुभक्त विद्रोह (सन् १८५० तिर, धर्म सुधारका लागि), मधेस विद्रोह, जनजाति विद्रोहहरू, माओवादी विद्रोह जसले पछि आन्दोलनको स्वरूप ग्रहण गर्यो, त्यसरी नै आज जेनजी विद्रोह भएको छ ।
यसको कारण भनेको लामो समयदेखि नेपाली समाजलाई राजनीतिक दलहरूले आ–आफ्ना संरचनाका आवरणिक बाँधेर राखेको र संरचनागत भष्टाचारलाई प्रशय दिएको कारण हो । सत्तामा पुगेको र त्यसको वरिपरि रहेका वर्ग र व्यक्तिले बिताइरहेको जीवन र आम नागरिकले व्यक्त गरिरहेको जीवन बिचको दुरी निकै फराकिलो बन्न पुग्यो, जसको खाडल पुरिनुपर्छ भन्दै नयाँ विद्रोह भयो ।
हालको जेनजी उमेर समूहमै रहँदा राणा शासनकै पतनका लागि बिपी कोइराला लगायत कांग्रेसका संस्थापन नेताहरूले लडेका थिए । तर कांग्रेसका संस्थापक नेताहरुको दुख मात्रै आजको नेतृत्वले बुझिदिएको भए सायदै यो दिन आउने थियो ।
यता वर्तमान परिस्थितिमा नेपाली कांग्रेस जिम्मेवार थिएन । अर्थात् यो विद्रोहको पृष्ठभूमि बन्नमा नेपाली कांग्रेसको कुनै भूमिका थिएन भन्नु पनि उचित हुँदैन । ०१५ सालको आम निर्वाचन पछिको १५ वर्षको अवधिमा बिपीले आम नेपालीको हैसियत प्रधानमन्त्रीको परिवारको सहर बनाउँछु भन्नुभएको इतिहास कांग्रेससँग साक्षी छ । तर बिचमा घटेका विभिन्न घटनाक्रमले निस्फिक्री रूपमा कांग्रेसले सरकार चलाउन पाएन । तर ०४६ सालपछि पटक पटक कांग्रेस सत्तामा पुग्दा बिपीको नाम भजाएर सत्ताको खेलमा लाग्दा आजको परिणाम आउनुमा कांग्रेस दोषी होइन भन्न सकिन्न । तर जिम्मेवार दलको हिसाबले कांग्रेसले हिजोका कमी कमजोरीहरूलाई पनि जेनजी आन्दोलनले देखाएको मार्गलाई आत्मसाथ गरेमा बिपी र गणेशमानहरूले देखेको सपना पूरा गर्न ढिला हुनेछैन ।
समय धेरै भएको छैन, विभिन्न ललिपप देखाएर ०८१ असार १७ को मध्यरात गरिएको ७ बुँदे सहमति र त्यसपछिका घटनाक्रमले देखाएका केही आधारका कारण पनि आजको परिस्थिति सिर्जना भयो भन्दा अत्युक्ति नहोला । जुन बुँदालाई मुख्य मानेर संसदका दुई ठुला दलहरू मिलेर सरकार बनाएर तर सत्ता समीकरण बनिसकेपछि मुख्य बुँदामा नै सरकार अलमलियो । पटक पटक कम्युनिष्टहरुसँग धोका खाएको कांग्रेसले पुनः विचार र सिद्धान्त नमिल्नेसँग अहिलेको सरकार मात्र होइन चुनावमा समेत मत हाल्न लगाउनु समेत बेइमानी भएकै हो । आम कार्यकर्ताले टुलुटुलु हसिया हथौडामा मत हाल्न लगाउँदा समेत पार्टीको निर्देशन मान्न बाध्य बनाइयो, जुन कांग्रेसका लागि घातक सावित भयो । त्यसबेलाको पार्टीभित्रको विरोधका आवाजहरूलाई कम्तीमा सुन्ने धैर्यता राखेको भए आज आफ्नै नेताहरूमाथि हातपात हुँदा समेत कांग्रेसी कार्यकर्ताहरू टुलुटुलु हेरेर बस्ने दिन आउने थिएन ।
- वर्तमानको अवस्था
जेनजी विद्रोहपछि कांग्रेस नेतृत्वलाई कस्तो पारेको छ, पार्टीले मूल्याङ्कन गरिरहेको होला । दोस्रो तहका नेताहरूबाट आएको अभिव्यक्तिले भने अब नवीन कांग्रेस बन्ने बाटोमा पार्टी जानेछ भन्ने आशा पलाएको छ । अहिले पार्टीभित्र उठेको नियमित महाधिवेशनदेखि विशेष महाधिवेशनसम्मका कुराहरू नाजायज होइनन् । तर नेतृत्व त फेरिएला, फेरिन्छ । तर प्रवृत्ति फेरिएन भने हामीसँग पुनः पछुताउनु बाहेक अर्को विकल्प रहँदैन । पार्टी नेतृत्वले जेनजीले देखाएको मार्गचित्रलाई पार्टीभित्रको जेनजीहरुको आवाज समेत सुन्नुपर्ने अवस्था सिर्जना गरिदिएको छ । एउटा लोकतान्त्रिक दलको नाताले कांग्रेसले अब पार्टीभित्र थप लोकतान्त्रिक चरित्र अङ्गीकार हुनेछ भन्नेमा हामी विश्वस्त छौँ, तर खबरदारी भने निरन्तर रहनेछ । यसअघि पनि हामीले निरन्तर खबरदारी गरिरहेकै थियौँ, तर त्यसलाई बेवास्ता गरिनाले आजको परिणाम आएको भन्ने नेतृत्वले बुझेन भने आगामी दिनमा अर्को विद्रोह जन्मिनेछ ।
अहिले अन्तरिम सरकार गठन भएको छ । चुनाव गराउने म्यान्डेट पाएको सरकारले चुनाव गराउला र अन्य दैनिक क्रियाकलापहरू सञ्चालन गराउला । नयाँ सरकार नबनुन्जेलसम्म जेनजी आन्दोलनको बलमा बनेको सरकारलाई नै हामीले विश्वास गर्नुको विकल्प छैन । तर अहिलेको अवस्थामा कांग्रेसले जिम्मेवार दलको नाताले कम्तीमा अन्य दलहरूसँग संवाद बढाउनु आवश्यक छ । लोकतन्त्रमा संवाद, सहकार्य र एकता अपरिहार्य छ । तर वर्षौँदेखि यही तीन कुरालाई अङ्गीकार गरेको जस्तो झैँ गरी त्यसलाई सत्ता प्राप्तिमा मात्रै जोडिँदै आएमा भने त्यो प्रत्युत्पादक साबित हुनेछ । अबको सहमति, सहकार्य र एकता जनतालाई डेलिभरी दिने कुरामा हुनु अपरिहार्य छ । जेनजी आन्दोलनको मुख्य एजेन्डा भ्रष्टाचाररहित समाज र सुशासनयुक्त मुलुक हो । तर खास सुशासन कायम हुन कसले दिएन त ? अचम्म त प्रधानमन्त्रीकै तहबाट देशमा भ्रष्टाचार भइरहेको छ भन्ने अभिव्यक्ति आउनु, तर त्यसलाई निर्मूल पार्न नसक्नु जस्तो निरीहपन अबका दिनमा हुनुहुँदैन । दलहरूले यदि सच्चा लोकतन्त्र बचाउने हो भने पार्टीभित्रका गलत प्रवृत्तिहरूलाई छाड्नु आवश्यक छ । यसअघिको जस्तो आफ्ना जोगाउने नाममा राज्य र राज्यका अङ्गमाथिको नाङ्गो हस्तक्षेपलाई शून्यतामा झार्नु आवश्यक छ । नत्र उही भाषण, उही आश्वासन र घोषणाले मात्रै नागरिक चुप बस्ने छैनन् ।
- कांग्रेसको केन्द्रीय समिति बैठक र यसले तय गर्नुपर्ने नीति
अहिले कांग्रेसमा विशेष महाधिवेशनको सवाल उठिरहेको छ । एउटा लोकतान्त्रिक दलमा यस्ता विषय उठ्नुलाई स्वाभाविक रूपमा लिनुपर्दछ । विधानमा नै भएका व्यवस्थालाई नै विशेष परिस्थिति देखाएर विशेष महाधिवेशनको कुरालाई अघि बढाउनु अलोकतान्त्रिक मान्न मिल्दैन, र कसैले कटाक्ष गर्नु आवश्यक छैन । तर विशेष महाधिवेशनका नाममा हुने गुटबन्दीहरू भने चिरिनुपर्यो ।
फरक परिस्थितिमा कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । यसले खास पार्टीको आगामी रणनीति तय गर्नेछ । कांग्रेसीहरुले मात्र होइन हरेक राजनीतिक दलले आज कांग्रेसको केन्द्रीय समिति बैठकलाई कुरिरहेका छन् । कांग्रेसले आफूलाई कसरी अघि बढाउनेछ भन्ने कुरालाई जोडका साथ हेरिरहेको अवस्थामा यसअघि जस्तो केन्द्रीय समिति बैठक एकले अर्कोको आलोचना गर्ने थलो नबनोस् । सबैभन्दा सुरुमा नवीन कांग्रेस बन्ने कुरामा एकमत होस् । त्यसका लागि कम्तीमा पटक पटक पदाधिकारी भइसकेका व्यक्तिहरूले पुनः पदको लोभ गरेर आफूलाई केन्द्र भागमा नै घुमाइरहनु वा कसैको उत्तराधिकारी बन्ने लालसा देखाउँदै आफ्नो विवेक बन्धकमा राखे भने त्यसले खास अर्थ दिनेछैन । हालै बसेको पदाधिकारी बैठकमा नेताहरूले नियमित महाधिवेशन छिटो गर्ने भन्ने कुरालाई जोड दिएका छन् । एकातिर विशेष महाधिवेशनको चर्चा र अर्कोतिर नियमित महाधिवेशनको दबाबले कुन निष्कर्ष निकाल्छ थाहा छैन । तर आन्तरिक एकता देखाउने हो भने अहिलेको अवस्थामा एकताबद्ध भई नियमित महाधिवेशनमा जोड कांग्रेसको सिँगो केन्द्रीय समितिले गरोस् । अब कसले पद छोड्ने र छोड्नुपर्छ भन्ने भन्दा पनि म पार्टी सुदृढीकरणका लागि पद छाड्न तयार छु भन्ने किसिमका अभिव्यक्ति र व्यवहारमा नेताहरूको कुरा आओस् । पार्टीका नर्सरी मानिने भ्रातृ संस्थाहरू कुन हालतमा छन्, त्यो दुनियाँले देखेकै छ । तर त्यसलाई अब यसले गल्ती गर्यो र उसले गल्ती गर्यो भन्ने समयको छुट हामीसँग छैन । गलत भएको ठाउँमा सच्चिने, राम्रो गर्न सकेको ठाउँमा खुसी हुँदै आगामी दिनमा थप राम्रो गर्ने प्रण गर्ने, नवीन सोचसहितको नयाँ नेतृत्व निर्माण गर्ने किसिमको छलफल केन्द्रीय समितिमा होस्, शुभकामना ।
(लेखक दाहाल नेपाली कांग्रेसका युवा नेता एवं महाधिवेशन प्रतिनिधि हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण