शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

जुम्लामा सम्बन्धविच्छेदका मुद्दा बढे

बुधबार, ०५ कात्तिक २०८२, १४ : ३१
बुधबार, ०५ कात्तिक २०८२

सारांश

  • जुम्लामा सम्बन्ध विच्छेदका उजुरी बढ्दै गएपछि स्थानीय चिन्तित भएका छन्।
  • आर्थिक वर्ष २०८०/८१ मा ६९ वटा सम्बन्ध विच्छेदका उजुरी परेकोमा यो संख्या बढ्दै गएको छ ।
  • अदालतका अनुसार सम्बन्ध विच्छेदका मुद्दाको संख्या बढ्नुको कारण अदालतमा उजुरी दिनेको संख्यामा वृद्धि हुनु हो।

जुम्ला । सम्बन्ध विच्छेदको उजुरी बढेसँगै जुम्लाबासीमा चिन्ता देखिएको छ । संयुक्त परिवारका रुपमा एकै घरमा तीन–चार पुस्ता रमाउने गरेको जुम्लामा पछिल्ला वर्षमा सम्बन्ध विच्छेदसम्बन्धी उजुरी, मुद्दा मामिला बढेकामा जिल्लावासी चिन्तित देखिन्छन् ।

जिल्ला अदालत जुम्लाका खरिदार हरिकृष्ण तिमिल्सेनाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ६९ वटा सम्बन्धविच्छेदका उजुरी परेकामा ४८ वटा फछ्र्योट भई २१ वटा फैसला हुन बाँकी रहेको छ ।  

यस्तै, गत आर्थिक वर्ष २०८१/८२ मा ७४ वटा सम्बन्धविच्छेदका उजुरी परेकामा ४८ वटा फछ्र्योट भई २६ वटा फैसला हुन बाँकी रहेको छ । यसैगरी चालु आर्थिक वर्षको तीन महिनामा सम्बन्धविच्छेदसम्बन्धी ४३ वटा उजुरी परेकामा १५ वटा फछ्र्योट भएको र २८ वटा निर्णय हुन बाँकी रहेको अदालतले जनाएको छ ।  

यसरी अदालतबाट प्राप्त अघिल्लो, गत र चालु आवको तथ्याङ्कलाई विश्लेषण गर्दा जिल्लामा सम्बन्धविच्छेदका लागि उजुरी दिन आउनेको सङ्ख्या वृद्धि हुँदै गएको देखिन्छ ।  

घरेलु हिंसासम्बन्धी मुद्दाको हकमा स्थानीय तहको न्यायिक समिति तथा प्रहरी प्रशासनलगायतका सरकारी संयन्त्रमा उजुरी दर्ता गरी मेलमिलाप गर्न सकिने कानुनी व्यवस्था भएको तर ‘सम्बन्धविच्छेद’सम्बन्धी मुद्दाको टुङ्गो अदालतबाट हुने भएकाले उजुरी दिन आउनेको सङ्ख्या बढेको हुनसक्ने अदालतले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप