बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

मंसिरभित्र महाधिवेशन गर्न नसकिए कांग्रेस केन्द्रीय समिति भङ्ग गर्न माग

मङ्गलबार, ११ कात्तिक २०८२, १४ : ५८
मङ्गलबार, ११ कात्तिक २०८२

सारांश

  • नेपाली कांग्रेसका युवा नेताहरूले मंसिरभित्र महाधिवेशन गर्न नसके अहिलेको केन्द्रीय समिति भङ्ग गर्न सुझाव दिए।
  • युवा नेताहरूले ४० वर्ष मुनिका लागि पार्टीका समिति र टिकट वितरणमा कोटा सुनिश्चित गर्न आग्रह गरे।
  • कार्यवाहक सभापति खड्काले युवाका मागहरू पार्टीमा छलफल गरी सम्बोधन गर्ने प्रतिबद्धता जनाए।

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेताहरूले मंसिर मसान्तभित्र महाधिवेशन गर्न नसक्ने भए अहिलेको केन्द्रीय समिति भङ्ग गरेर महाधिवेशन आयोजक समिति बनाउन सुझाव दिएका छन् ।

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई मङ्गलबार बिहान उनकै निवास गोल्फुटारमा भेटेर उनीहरूले मंसिर मसान्तभित्र कुनै पनि हालतमा नियमित महाधिवेशन गर्न आग्रह गरेका हुन् ।

नेपाल विद्यार्थी सङ्घ(नेविसंघ)का पूर्वअध्यक्ष रञ्जित कर्ण, तरुण दलका पूर्वमहासचिव भूपेन्द्रजंग शाहीसहित सरोज थापा, पुष्प शाही, दीपक भट्टराई, बद्री अर्याल शिव रिमालसहितका नेताहरूले कार्यवाहक सभापति खड्कालाई भेटेर त्यस्तो आग्रह गरेका हुन् ।

उनीहरूले पार्टीमा ४० वर्ष मुनिकालाई प्रत्येक समितिमा र सार्वजनिक पदमा टिकट वितरण गर्दा कोटा सुनिश्चित गर्न पनि सुझाएका छन् । 

नेविसंघका पूर्व कोषाध्यक्ष रिमालले आफूहरूले कार्यवाहक सभापतिलाई दिएको सुझाव उल्लेख गर्दै भने, ‘४० वर्षमुनिको पुस्तालाई ४० प्रतिशत स्थान पार्टीका प्रत्येक समिति र टिकट वितरणमा सुनिश्चित गरिनुपर्छ भनेका छौँ ।’

neta

जवाफमा कार्यवाहक सभापति खड्काले युवाका मागहरू पार्टीमा छलफल गरेर समावेश गर्ने बताए । खड्काले सबैले उठाएका मागहरू सम्बोधन गर्नेगरी चालु केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका ल्याउने बताएको रिमालले जानकारी दिए ।

नेविसंघका पूर्वअध्यक्ष कर्णले मंसिरमा महाधिवेशन नभए महाधिवेशन माग गर्दै पार्टी कार्यालयमा धर्ना दिने र रिले अनसन सुरु गर्ने चेतावनी कार्यवाहक सभापति खड्कालाई दिएको बताए ।

‘मंसिरमा कुनै पनि हालतमा महाधिवेशन हुनुपर्छ । नभए हामी पार्टी कार्यालयमा धर्ना दिन्छौँ र रिले अनसन सुरु गर्छाैँ भनेका छौँ,’ कर्णले रातोपाटीसँग भने, ‘हाम्रो माग सम्बोधन गर्ने आश्वासन कार्यवाहक सभापतिबाट पाएका छौँ ।’

विशेष महाधिवेशन गर्न माग गरेर पार्टीलाई विभाजनको बाटोमा डोर्‍याउने प्रयास महामन्त्रीहरूको निर्देशनमा भएको भन्दै महामन्त्रीहरूले गरेको गलत प्रयासबारे पनि केन्द्रीय समिति बैठकमा छलफल गर्न सुझाएको कर्णले बताए ।

‘विशेष महाधिवेशन धोका हो । महामन्त्रीको नेतृत्वमा विशेष महाधिवेशनका लागि हस्ताक्षर सङ्कलन गरेर कार्यवाहक सभापतिलाई बुझाएको विषयमा पनि कुरा उठाएका छौँ,’ कर्णले भने, ‘उहाँहरूको गलत प्रयासबारे केन्द्रीय समितिमा छलफल गरेर उपयुक्त निर्णय गर्न पनि हामीले कार्यवाहक सभापतिलाई सुझाएका छौँ ।’

जिम्मेवार पदमा बसेको व्यक्तिले आफ्नो जिम्मामा रहेको काम नगरेर अनावश्यक काम गर्न कार्यकर्तालाई उक्साउने कार्य गरेकोबारे केन्द्रीय समितिमा छलफल हुनुपर्ने धारणा आफूहरूले कार्यवाहक सभापतिसँगको भेटमा राखेका नेता भट्टराईले जानकारी दिए ।

भेटमा उनीहरू बाहेक प्रेमिका राना मगर, भुवन भट्ट, दीपक सोनी, आदर्श मल्ल, धर्म शाही, उत्तम मिश्र पशुपति आचार्यलगायत थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप