केमोथेरापीले गलेको ज्यानलाई यसरी बनाउनुस् फुर्तिलो
सारांश
- केमोथेरापीपछिको थकान कम गर्न खानपान, पानीको सेवन, व्यायाम, निद्रा र मानसिक शान्ति आवश्यक छ।
- शरीरलाई ऊर्जा दिन फलफूल, तरकारी, प्रोटिनयुक्त खानेकुरा, पर्याप्त पानी, र हल्का व्यायाम गर्नुपर्छ।
- धुम्रपान र मदिरापानबाट टाढा रहनुपर्छ, र कुनै पनि सप्लिमेन्ट प्रयोग गर्नुअघि डाक्टरको सल्लाह लिनुपर्छ।
काठमाडौँ । क्यान्सर शब्द सुनेपछि, दिमागमा आउने पहिलो कुरा हो केमोथेरापी । क्यान्सर निको पार्न केमोथेरापी धेरै महत्त्वपूर्ण र प्रभावकारी उपचार हो । यसमा क्यान्सर निम्त्याउने कोषहरूलाई नष्ट गर्ने औषधिहरू दिइन्छ । यसले हाम्रो शरीरमा रहेका क्यान्सर कोषहरूलाई त नष्ट पार्छ नै, अन्य स्वस्थ कोषहरूलाई पनि असर गर्छ ।
केमोथेरापीपछि धेरैले प्रायः अत्यन्तै थकित महसुस गर्ने, वाकवाकी लाग्ने, कपाल झर्ने, भोक नलाग्ने र रोगविरुद्ध लड्ने शरीरको क्षमता कमजोर भएको अनुभव गर्छन् । केमोथेरापीपछि शरीरबाट हराएको ऊर्जा र शक्ति कसरी पुनः प्राप्त गर्ने भनेर बुझ्न जरुरी छ ।
खानपान सही बनाउने
केमोथेरापीपछि शरीरले सबैभन्दा ठुलो सहयोग खानपिनबाटै पाउँछ । आफ्नो दैनिक आहारमा ताजा फलफूल, हरियो तरकारी, सम्पूर्ण अन्न, र प्रोटिन युक्त खानेकुराहरू (जस्तै दाल, अण्डा, चीज, वा माछा आदि) समावेश गर्नुहोस् । यी खानेकुराहरूले मांसपेशीहरू मर्मत गर्छन् र प्रतिरक्षा क्षमता पनि बढाउँछन् ।
पालुङ्गो, गाजर र बदाम खाँदा शरीरको ऊर्जा बढ्छ । एकै पटकमा धेरै मात्रामा खाना खानुको सट्टा थोरै मात्रामा बारम्बार खानुपर्छ, यसले भोक बढाउँछ र पोषण कायम राख्छ ।
प्रशस्त मात्रामा पानीको सेवन
केमोथेरापीपछि डिहाइड्रेटेड महसुस हुनु सामान्य कुरा हो । यस्तो अवस्थामा पर्याप्त मात्रामा पानी पिउनु जरुरी छ । यसले शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्छ र ऊर्जा कायम राख्न मद्दत गर्छ । पानीबाहेक पनि नरिवल पानी र ताजा फलफूलको रस पिउन सकिन्छ । प्रशस्त पानी पिउनाले थकान कम हुन्छ र शरीरको शक्ति बढ्छ ।
हलुका व्यायाम गर्ने
केमोथेरापीलगत्तै कडा खालको व्यायाम गर्नुहुन्न । बरु, हल्का हिँडडुल गर्ने, स्ट्रेचिङ गर्ने वा योग पनि धेरै फाइदाजनक हुन्छ । यसले मांसपेशीहरूलाई बलियो बनाउँछ, रक्तसञ्चार र श्वासप्रश्वास क्षमता सुधार गर्छ । योग र प्राणायामले मानसिक तनाव पनि कम गर्छ ।
पर्याप्त मात्रामा निदाउने
शरीरको मर्मतको लागि निद्रा आवश्यक छ । हरेक रात ७–८ घण्टा मस्तले निदाउनुहोस् । तपाईँले दिनभरि थकित महसुस गर्नुहुन्छ भने बेला–बेलामा झुपुक्क निदाउन पनि सकिन्छ । सुतेपछि शरीरले आफ्नो मर्मत आफै गर्छ र ऊर्जाको स्तरहरू पुनः बढ्छ ।
मनलाई शान्त राख्ने
मानसिक शान्तिको असर सीधै हाम्रो शारीरिक शक्तिलाई प्रत्यक्ष असर गर्छ । तनाव कम गर्न नियमित रूपमा ध्यान गर्नुहोस्, आफूलाई मनपर्ने संगीत सुन्नुहोस् । साथीभाइ र परिवारसँग कुराकानी गर्नुहोस् । तनाव कम गर्नाले शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।
घरेलु उपचार
बेसार, अदुवा, तुलसी र अमला जस्ता प्राकृतिक तत्वहरूले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छन् । आफ्नो आहारमा यी खानेकुरालाई समावेश गर्नु लाभदायक हुन सक्छ । तर कुनै पनि हर्बल सप्लिमेन्ट लिनु अघि आफ्नो डाक्टरसँग परामर्श गर्न भने नभुल्नुहोला ।
यी चिजबाट बच्नुहोस्
केमोथेरापीका कारण शरीर पहिले नै कमजोर भइसकेको हुन्छ, त्यसैले यस्तो अवस्थामा धूम्रपान र मदिरापानबाट पूर्ण रूपमा टाढा रहनुहोला । यी बानीहरूले प्रतिरक्षा प्रणालीलाई झनै कमजोर बनाउँछन्, शरीरको रिकभरीमा बाधा पुर्याउँछन् ।
सबैभन्दा महत्त्वपूर्ण हुन्छ डाक्टरको सल्लाह
केमोथेरापीपछि शरीरलाई पुनर्निर्माण गर्नको लागि सन्तुलित आहार, पर्याप्त निद्रा, हलुका व्यायाम, तनावबाट राहत र हाइड्रेटेड रहनु सबैभन्दा प्रभावकारी प्राकृतिक उपचारहरू हुन् । यी राम्रा बानीहरू अपनाएर तपाईँ बिस्तारै आफ्नो शक्ति, ऊर्जा र रोग प्रतिरोधात्मक क्षमता पुनः प्राप्त गर्न सक्नुहुन्छ । तर कुनै नयाँ उत्पादन वा सप्लिमेन्ट प्रयोग गर्नुअघि आफ्नो डाक्टरसँग परामर्श गर्न जरुरी छ भन्ने कुरा चाहिँ भुल्नु हुँदैन ।
(अस्वीकरणः यो जानकारी अनलाइन सामग्रीको सहयोगमा तयार पारिएको हो । थप जानकारीको लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण