मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि युरोपियन ‘जिङ्क्स’ को शिकार : ब्राजिलको यात्रामा बेल्जियम ब्रेक

शनिबार, २३ असार २०७५, ०१ : ५३
शनिबार, २३ असार २०७५

काठमाडौँ । विश्वकपको सदाबाहार दाबेदार ब्राजिल फेरि एक पटक युरोपियन टोलीबाट पराजित हुँदै विश्वकपबाट बाहिरिएको छ ।

यसअघि ६ पटक विश्वकपमा युरोपियन टोलीबाट पराजित हुँदै बाहिरिएको ब्राजिल दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियमसँग २–१ गोलअन्तरले पराजित भएको हो ।

योसँगै ब्राजिलको छैटौँ पटक विश्वविजेता बन्ने सपनामा ब्रेक लागेको छ । उता, सन् १९८६ पछि बेल्जियम विश्वकपको सेमिफाइलनमा पुगेको यो पहिलो अवसर हो ।

दुई हेभिवेट टोलीबीचको आजको भिडन्त कागजमा निकै रोमाञ्चक हुने देखिन्थ्यो । र, मैदानमा पनि भयो त्यस्तै ।

खेलको शुरुवातमा नै थियागो सिल्भाको प्रहार पोष्टमा लागेको थियो । उता, बेल्जियमले उत्कृष्ट काउन्टर अट्याकिङ खेलको नमूना प्रस्तुत गरेको थियो । १५ औँ मिनेटमा फर्नान्डिन्होले आत्मघाती गोल गरेपछि ब्राजिल खेलमा पछि पर्यो । त्यसपछि पनि बेल्जियमले ब्राजिलमाथि दबाब बनाइराख्यो ।

खेलको ३१ औँ मिनेटमा अर्को काउन्टर अट्याक गर्दै रोमेलु लुकाकुको पासमा केभिन डि ब्रुयनाले बेल्जियमको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा ब्राजिलले सुधारिएको खेल प्रदर्शन गर्यो । बेल्जियमको बक्समा निरन्तर आक्रमण गरेपनि त्यसलाई गोलमा भने परिणत गर्न सकेन ।

खेलको ७८ औँ मिनेटमा रेनाटो अगस्तोले फिलिपे काउन्टिहोको पासमा गोल गर्दै ब्राजिललाई खेलमा फर्काउने प्रयास गरे । त्यसपछि पनि अगस्तोले गोल गर्ने अर्को सुन्दर अवसर गुमाए ।

त्यस्तै, फिलिपे काउन्टिन्होको प्रहार पनि पोष्टभन्दा निकै टाढा पुगेको थियो ।

खेलभर उत्कृष्ट प्रदर्शन गरेका बेल्जियमका गोलकिपर थियाबट कोर्टवाले अन्त्यमा नेयमारको उत्कृष्ट प्रहार पनि बचाउ गरेका थिए ।

ब्राजिलसँगै विश्वकपबाट सबै दक्षिण अमेरिकी टोली बाहिरिएका छन् ।

क्वाटरफाइनलका बाँकी खेलमा पनि युरोपेली टोलीहरुबीच नै प्रतिस्पर्धा हुनेछ । स्विडेन र इङल्यान्डबीचको खेलको विजेता तथा क्रोयशिया र रसियाबीचको खेलको विजेता सेमिफाइनलमा भिड्नेछन् । 

स्विडेन र इङल्यान्डबीच शनिबार नेपाली समयअनुसार ७ बजेर ४५ मिनेटमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै, ११ बजेर ४५ मिनेट जाँदा सुरु हुने खेलमा आयोजक रसिया र क्रोयशिया भिड्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप