भोट माग्न दौडिने होइन, भोट दिन मन लाग्ने कांग्रेस बनाउन महाधिवेशन अनिवार्य : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन केवल नेतृत्व चयन वा नियमित प्रक्रिया मात्र नभएर देश र नागरिकको विश्वास जित्नका लागि समीक्षा र सङ्कल्प गर्ने अनिवार्य सर्त भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले भदौ २३ गतेको युवा आन्दोलनले दिएको सन्देशलाई आत्मसात् गर्दै पार्टी सच्चिनका लागि महाधिवेशनको विकल्प नभएकोमा जोड दिए।
महामन्त्री थापाले महाधिवेशनलाई चुनावअघि वा पछि गर्ने भन्ने प्राविधिक बहसमा मात्र सीमित नगरी पार्टीको अहिलेको अवस्था, देशप्रतिको जिम्मेवारी र नागरिकको अपेक्षासँग जोडेर हेर्नुपर्ने बताए।
‘भदौ २३ गतेभन्दा अगाडि हामी अर्को वर्ष महाधिवेशन गर्ने सोचिरहेका थियौँ, तर त्यसपछिको उथलपुथलले नयाँ परिस्थिति निर्माण गरेको छ,‘ उनले भने– ‘त्यो आन्दोलनमा केवल युवा मात्र होइन, सबै उमेर समूहका नागरिकले भ्रष्टाचार, नातावाद, कृपावाद र कुशासनविरुद्ध व्यापक असन्तुष्टि पोखे। त्यो असन्तुष्टिको एउटा कारण नेपाली कांग्रेस पनि हो भनेर हामीमाथि नै प्रश्न उठ्यो।’
उनले पहिलो पटक कांग्रेसको नेतृत्वविना भएको आन्दोलन पार्टीकै विरुद्धमा समेत लक्षित भएको यथार्थलाई बिर्सेर अगाडि बढ्न नसकिने बताए। ‘हामी संसद्को पहिलो पार्टीबाट आज सडकमा छौँ। हाम्रो प्रासङ्गिकतामाथि नै प्रश्न उठेको छ। हामीलाई साहस होइन, सम्झौतासँग: निष्ठा होइन, भ्रष्टाचारसँग र आदर्श होइन, अवसरवादसँग जोडेर हेरिँदैछ,’ थापाले भने, ’यस्तो बेला हामी कहाँ, किन र कसरी चुक्यौँ भनेर समीक्षा गर्नुपर्दैन ?’
थापाले आफू पार्टी नेतृत्वको हिस्सा भएकोले यसको जिम्मेवारी लिँदै यो कुरा भनेको स्पष्ट पारे। उनले महाधिवेशनबाट पार्टीले आफ्ना गल्तीहरू स्वीकार गर्दै, नागरिकसामु नयाँ सङ्कल्पसहित प्रस्तुत हुनुपर्नेमा जोड दिए। उनले भने– ‘हामीले कहाँ गल्ती गर्यौँ भनेर समीक्षा गर्ने, त्यसलाई सच्याउने प्रतिबद्धता जनाउने र अब बदलिन्छौँ भनेर नागरिकलाई विश्वास नदिलाएसम्म हामी उनीहरूको बिचमा जाने नैतिक आधार रहँदैन।’
पार्टीभित्रको सुधार राष्ट्रिय आवश्यकता भएको बताउँदै उनले पार्टी सुध्रिए मात्र देशको अवस्था सुधार्न सकिने तर्क गरे।
‘हामी नसुध्रिई, नबदलिई नागरिकको आन्दोलनमा ऐक्यबद्धता जनाउन जानु केवल औपचारिकता मात्र हुन्छ,’ थापाले भने, ‘त्यसैले यो महाधिवेशनको बहस कांग्रेसको आन्तरिक विषय मात्र होइन, यो आम नागरिकको सुधारको मागसँग पनि जोडिएको छ।’
महाधिवेशनले पार्टीलाई नयाँ र पुरानोको बहसबाट माथि उठाएर यसका आधारभूत मूल्य मान्यतामा पुनः उभ्याउनुपर्ने उनको भनाइ थियो। उनले व्यक्तिगत स्वतन्त्रता, कानुनी राज्य, सामाजिक न्यायजस्ता कांग्रेसका आदर्शलाई जीवन व्यवहारमा उतार्न नसकेको भनेर युवाहरूले प्रश्न उठाएको बताए।
‘यसका लागि ठुलो सुधार चाहिएको छ, जुन पार्टीभित्रैबाट सुरु हुनुपर्छ,’ उनले भने, ‘भोट माग्न दौडिने होइन, भोट दिन मन लाग्ने कांग्रेस बनाउनुपर्छ। त्यसका लागि महाधिवेशन अनिवार्य छ।’
उनले समय अभावको तर्कलाई खण्डन गर्दै पहिले छ महिना लाग्ने महाधिवेशनको प्रक्रियालाई अहिले दुई महिनामा पनि सम्पन्न गर्न सकिने बताए। यदि नियमित महाधिवेशन सम्भव नभए ५४ प्रतिशत केन्द्रीय सदस्यले माग गरेको विशेष महाधिवेशनबाट भए पनि पार्टीले आफूलाई नयाँ बनाउने अवसरको प्रयोग गर्नुपर्ने उनको भनाइ थियो।
थापाले महाधिवेशनमार्फत नै संसदीय चुनावका उम्मेदवारसमेत चयन गर्ने प्रस्ताव अघि सारेका छन्। ‘यो पटक महाधिवेशन गर्ने मात्र होइन, उम्मेदवार पनि तपाईंहरूले छान्ने हो,’ उनले भने, ‘प्रत्येक क्रियाशील सदस्यले आफ्नो क्षेत्रबाट कसलाई उम्मेदवार बनाउन चाहनुहुन्छ, त्यो अधिकार पनि पाउनुपर्छ।’
उनले आफ्नो यो अडान कुनै व्यक्तिगत वा सत्ता(शक्तिका लागि नभएर पार्टी र देशप्रतिको निष्ठाका कारण भएको बताए।
‘सुधार भनेको धोका होइन, यो निष्ठाको सबैभन्दा ठुलो रूप हो,’ उनले भने, ‘मेरो निष्ठा पार्टीप्रति र त्योभन्दा बढी देशप्रति छ। सुध्रिएको कांग्रेसले मात्र देशप्रतिको जिम्मेवारी पूरा गर्न सक्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धाराबाट पानी नआएपछि तुलसीपुरमा ट्याङ्करबाट वितरण
-
राष्ट्रिय सभामा विनियोजन विधेयक प्रस्तुत गरिँदै
-
असार १५ : हिलो, हाँसो र आशाको पर्व
-
आयातित चामलको भरमा कति दिन चल्ला हाम्रो भान्सा ?
-
भूकम्पको पाँचौँ दिन पनि चमत्कारिक उद्धार : दुई बालकसहित ३३ जनालाई सुरक्षित निकालियो
-
उदयपुरमा जङ्गली हात्तीले ६ घर भत्कायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण