आयातित चामलको भरमा कति दिन चल्ला हाम्रो भान्सा ?
सारांश
- नेपाल धान उत्पादनमा विश्वको १७औँ स्थानमा पर्छ र समुद्री सतहबाट ३०५० मिटरसम्म धान खेती गर्न सकिन्छ।
- नेपालमा चैते र बर्खे गरी दुई सिजनमा धान खेती गरिन्छ, जसमा बर्खे धानको बाहुल्य छ।
- सरकारले हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको छ।
विश्वका आधाभन्दा बढी मानिसको मुख्य खाद्यस्रोत धान, एक महत्त्वपूर्ण खाद्यान्न बाली हो। धान उत्पादनका हिसाबले नेपाल विश्वको १७औँ स्थानमा पर्छ। नेपालमा समुद्री सतहबाट ६० देखि ३०५० मिटरसम्म सफलतापूर्वक धान खेती गर्न सकिन्छ भने यो विश्वकै सबैभन्दा अग्लो स्थानमा धान खेती गर्ने देशका रूपमा पनि चिनिन्छ।
आजभन्दा करिब आठदेखि १० हजार वर्षअघि धानको खेती सुरु भएको पुरातात्त्विक प्रमाणहरूले देखाउँछन्। ओराइजा (Oryza) वंशमा पर्ने करिब २४ वटा जङ्गली र खेतीयोग्य प्रजातिहरूमध्ये मुख्य २ प्रजातिहरूको खेती गरिन्छ। ओराइजा सटाइभा (Oryza sativa) अन्तर्गत विश्वको अधिकांश धान पर्छ भने पश्चिम अफ्रिकामा खेती गरिने धान ओराइजा ग्ल्याबेरिमा (Oryza glaberrima) प्रजातिअन्तर्गत पर्छ।
ओराइजा सटाइभाको प्रमुख उपसमूहमध्ये लामो दाना भएको उष्ण तथा उपोष्ण क्षेत्रका लागि उपयुक्त, नेपाल, भारत, बङ्गलादेश लगायत दक्षिण एसियामा बढी खेती हुने धान ‘इन्डिका (Indica)’ उपसमूहअन्तर्गत पर्छ। त्यस्तै छोटो तथा लामो दाना भएको चिसो तथा समशीतोष्ण क्षेत्रका लागि उपयुक्त, जापान, कोरिया, चीनका केही भागमा बढी खेती गरिने धान ‘जापोनिका (Japonica)’ उपसमूहअन्तर्गत पर्छ भने अग्लो बिरुवा र ठुला दाना हुने, दक्षिणपूर्व एसियामा पाइने धान ‘जाभानिका (Javanica)’ उपसमूहअन्तर्गत पर्छ।
नेपालको परिप्रेक्ष्यमा हेर्नुपर्दा चैते र बर्खे गरी दुई सिजनमा धानको खेती गरिन्छ। त्यसमा पनि मुख्यतः बर्खे धानको बाहुल्य रहेको पाइन्छ। करिब १४ लाख २० हजार हेक्टर क्षेत्रफलमा ५९ लाख ५५ हजार मेट्रिक टन धानको उत्पादन भएको देखिन्छ भने उत्पादकत्व ४.१९ टन प्रतिहेक्टर रहेको तथ्याङ्कले देखाएको छ।
देशको कुल गार्हस्थ्य उत्पादनमध्ये कृषि क्षेत्रले २५.१६ प्रतिशत ओगटेको छ भने कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदरमा ३.२८ प्रतिशत कृषि क्षेत्रको रहेको राष्ट्रिय तथ्याङ्क कार्यालय, २०८२ ले जनाएको छ। आव २०८३/०८४ का लागि कृषि तथा पशुपन्छी क्षेत्रमा सरकारले ४६ अर्ब ९२ करोड बजेट विनियोजन गरेको छ, जसमा ३२ अर्ब ४६ करोड रासायनिक मल आपूर्तिका लागि छुट्याइएको छ।
देशको कुल जनसङ्ख्याको करिब ५७.३ प्रतिशत मानिस कृषि पेसामा संलग्न रहेका छन्। नेपालका प्रमुख खाद्यान्न बालीहरूमध्ये क्षेत्रफल, उत्पादन र उत्पादकत्वको हिसाबले शीर्ष स्थानमा रहेको धानले खाद्य सुरक्षामा उल्लेखनीय भूमिका खेल्दै आएको छ। नेपालमा गरिबी निवारण, खाद्य सुरक्षा, स्वच्छता र सम्प्रभुतासँग प्रत्यक्ष जोडिएको अन्नबाली धानले, अप्रत्यक्ष रूपमा हाम्रो संस्कृतिसँग पनि नाता गाँसेको छ।
वसन्त ऋतुको नयाँ पालुवासँगै जब ग्रीष्म ऋतुको आगमन हुन्छ, अनि प्रकृतिले हामीलाई महान् पर्व अर्थात् ‘असार’ दिएको अनुभूति हुन्छ। दस नङ्ग्रा खियाएर माटोमा पसिना बगाउने किसानका लागि यो महान् पर्व हो।
नेपालमा धानको खेती करिब दुई–तीन हजार वर्ष अघिदेखि भए तापनि वि.सं. २०६१ सालबाट सरकारले हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने घोषणा गरेको हो। यसैगरी २०८३ साल असार १५ गते ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ।
देशलाई धान उत्पादनमा आत्मनिर्भर बनाउन, कृषकहरूको जीवनस्तर माथि उकास्न र धानको आयात प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धन गर्न सरकारले हरेक वर्ष धान दिवस मनाउने घोषणा गरेको हो। युवा जनशक्ति बाहिरिँदै गर्दा खेतीयोग्य जमिन बाँझो हुँदै गएको छ। दिनप्रतिदिन बसाइँसराइको दर बढ्दै जाँदा गाउँघर रित्तिँदै गएका छन्। वैदेशिक रोजगार र सहरको विकासप्रति आम मानिसमा आकर्षण बढेसँगै खेतीयोग्य जमिन आज तितेपाती र गन्धेझारले ढकमक्क बनेका छन्।
वसन्त ऋतुको नयाँ पालुवासँगै जब ग्रीष्म ऋतुको आगमन हुन्छ, अनि प्रकृतिले हामीलाई महान् पर्व अर्थात् ‘असार’ दिएको अनुभूति हुन्छ। दस नङ्ग्रा खियाएर माटोमा पसिना बगाउने किसानका लागि यो महान् पर्व हो। झुपडीदेखि महलसम्म, हुँदाखानेदेखि हुनेखानेसम्म, सर्वहारादेखि पुँजीपतिसम्म– यी सबै वर्गलाई गाँस पुर्याउने महान् किसानलाई प्रत्येक असार १५ ले स्मरण गराउँछ।
धान दिवस मनाउनु भनेको अन्न, किसान र खाद्य सुरक्षाको महत्त्वलाई विशेष रूपमा स्मरण गराउनु हो, न कि एक दिन किसानरूपी भेषमा प्रस्तुत हुनु।
हरेक वर्ष सिमसिमे झरीले निम्तो गरिरहँदा, कोइलीले सुरिलो भाकामा आवाज गुन्जाउँदा, असारले हामीलाई स्वागत गरेको बुझ्नुपर्छ। आफ्नो खेतीयोग्य जमिन बाँझो छोडेर आयातित धानले जीवन निर्वाह गर्ने अहिलेको प्रवृत्तिले दीर्घकालीन रूपमा खाद्यान्न सङ्कट ननिम्त्याउला भन्न सकिन्न।
प्रकृतिको यो अनुपम समयलाई स्वीकार्न नसक्दा कालान्तरमा हामीलाई असारले क्षमा दिने छैन। गाउँ छोडेर सहर झरेका, देश छोडेर परदेश गएका सबै नेपालीको मनमा आफ्नै पृष्ठभूमिको सौहार्द लुकेको हुन्छ। असारले हामीलाई गाउँ फर्काउँछ, माटो सम्झाउँछ र प्रकृतिसँगको सामीप्य बढाउँछ।
असार जैविक विविधताको दृष्टिकोणले पनि अत्यन्त महत्त्वपूर्ण महिना हो। आज आयातित र वर्णसङ्कर (हाइब्रिड) धानले गर्दा हाम्रा रैथाने धानहरू लोपोन्मुख अवस्थामा छन्। ओझेलमा परेका रैथाने धानहरूको संरक्षण गर्नु राज्यको पनि उत्तिकै दायित्व हुन्छ। धान खाद्यान्नको दृष्टिले मात्रै नभएर हाम्रो संस्कृतिसँग पनि उत्तिकै नजिक छ। अनदी, झिनुवा बास्मती, जुम्ली मार्सी, पोखरेली, जेठोबुढो, जर्नेली जस्ता धानहरू हाम्रा चाडपर्व र अतिथि सत्कारमा प्रयोग हुँदै आएका छन्।
तर पछिल्लो समयमा हाइब्रिड धानहरूले प्रतिस्थापन गर्दै गर्दा रैथाने धानको रोपाइँ असारमा अत्यन्त न्यून भइरहेको पाइन्छ। राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैङ्क), खुमलटारले रैथाने धानको सङ्कलन, संरक्षण र संवर्द्धन गर्दै आएको छ। यद्यपि कृषक स्तरमा रैथाने धानहरू लोप हुँदै गर्दा हाम्रो अस्तित्व नै मेटिने पो हो कि भन्ने डर पैदा भएको छ।
समाज विकासको इतिहासमा मानिसले सबैभन्दा पहिला अँगालेको पेसा कृषि हो। हलो, जुवा, कुटो, कोदालोलाई आज यान्त्रीकरणले रूपान्तरण गर्दै छ। विश्वले विकासको काँचुली फेर्दै गर्दा समयसापेक्ष हाम्रो खेती प्रणाली सुधारोन्मुख हुनु स्वाभाविक हो। तर पनि संसारमा आज अन्नको विकल्प अन्न नै छ।
भगवद्गीताको तेस्रो अध्यायको १४औँ श्लोकमा यसरी उल्लेख गरिएको छः
अन्नाद्भवन्ति भूतानि पर्जन्यादन्नसम्भवः।
यज्ञाद्भवति पर्जन्यो यज्ञः कर्मसमुद्भवः।।
अर्थात्, सबै प्राणीहरू अन्नबाट जीवित रहन्छन्। अन्न वर्षाबाट उत्पन्न हुन्छ र वर्षा यज्ञ (सत्कर्म) बाट उत्पन्न हुन्छ। यस श्लोकमा श्रीकृष्णले प्रकृति, मानव र कर्मबिचको पारस्परिक सम्बन्धलाई स्पष्ट पारेका छन्।
धान दिवस मनाउनु भनेको अन्न, किसान र खाद्य सुरक्षाको महत्त्वलाई विशेष रूपमा स्मरण गराउनु हो, न कि एक दिन किसानरूपी भेषमा प्रस्तुत हुनु। तराईका सबैजसो सिञ्चित फाँटहरूमा धान रोपाइँ हुँदै आए तापनि मध्यपहाडी जिल्लाका अधिकांश खेतीयोग्य जमिनहरू असारमा पनि बाँझै छन्।
सरकारले बाँझो जग्गालाई चक्लाबन्दीमार्फत सामूहिक खेती प्रणालीको अवधारणा अघि सारे तापनि त्यो प्रतिफलमुखी हुन सकेको छैन। युवा जनशक्तिलाई कृषि पेसामा आकर्षित गर्न नसक्दा आउँदा दिनहरूमा वास्तविक किसान भेट्न निकै मुस्किल देखिन्छ। शून्यबाट कृषि व्यवसाय सुरु गर्न मध्यमवर्गीय युवावर्गका लागि चुनौतीकै कुरा छ।
जबसम्म खेतमा किसानको पसिना बगिरहन्छ, तबसम्म देशको भान्सा रित्तो हुँदैन। २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ ले हामी सबैलाई अन्न, किसान र कृषि संस्कृतिप्रति थप जिम्मेवार बन्ने प्रेरणा प्रदान गरोस्।
अतिवृष्टि, अनावृष्टि र अल्पवृष्टिले कृषि क्षेत्रमा जोखिम र अनिश्चितता निम्त्याएको कुरा यत्र, तत्र, सर्वत्र व्याप्त छ। जलवायु परिवर्तनको ठुलो असर खेपिरहेको कृषि क्षेत्रले कृषि उद्यममा लागेका व्यवसायीको पनि मनोबल कमजोर बनाइरहेको छ। बाली बिमा, सस्तो ब्याजदरमा ऋण सहुलियत, चालू र पुँजीगत प्रकृतिका आधारमा अनुदान सहयोग जस्ता कार्यक्रमहरू सरकारी निकायबाट हुँदै आएका छन्, यद्यपि ती पर्याप्त भने छैनन्।
सरकारले हरेक वर्ष विशाल परिमाणमा धान आयात गरिरहँदा वर्तमान खेती प्रणालीमा सुधार गर्नुको विकल्प छैन। जलवायुमैत्री जातको छनोट गरी कृषि यान्त्रीकरणको प्रयोग तथा सामूहिक खेती प्रणालीमार्फत खेतीयोग्य जमिनको अधिकतम उपयोग गर्न सकेमा धान उत्पादनमा उल्लेखनीय वृद्धि गर्न सकिन्छ।
उत्पादन लागत घटाउने, उत्पादकत्व बढाउने र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउने दिशामा राज्य, निजी क्षेत्र र कृषकबिचको त्रिपक्षीय सहकार्य आवश्यक छ। कृषि क्षेत्रलाई सम्मानजनक, मर्यादित र आम्दानीमुखी पेसाका रूपमा विकास गर्न सके मात्र युवा पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्न सकिन्छ।
जबसम्म खेतमा किसानको पसिना बगिरहन्छ, तबसम्म देशको भान्सा रित्तो हुँदैन। २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ ले हामी सबैलाई अन्न, किसान र कृषि संस्कृतिप्रति थप जिम्मेवार बन्ने प्रेरणा प्रदान गरोस्।
हाम्रो लोकभाका, असारे गीत, परम्परागत औजार हलो, जुवा र कृषि संस्कृतिको संरक्षण होस्। रैथाने धानका जातहरूको संरक्षण र प्रवर्द्धनमा राज्य, समुदाय र कृषक सबैको साझा प्रयास रहोस्। राष्ट्रिय धान दिवसको हार्दिक शुभकामना!
‘किसान हुन् देशको आत्मा, कृषि हाम्रो सान
नगरी काम पुग्दैन खान, साँझ र बिहान !’
(कृषि विकास कार्यालय धादिङमा कार्यरत देवकोटा सविना बागवानी विकास अधिकृत हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण