बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

डियर गर्ल्स अब सामाजिक संजालमा रम्ने हैन, सिंहदरबार हाँक्ने हो

शनिबार, २२ कात्तिक २०८२, १७ : ४५
शनिबार, २२ कात्तिक २०८२

धनगढी  । मेरी आमा अहिले ५६ वर्षकी हुनुभयो । जब म फुर्सदमा उहाँको हात हेर्छु, मेरा आँखा सधैँ देब्रे हातको कान्छी औँलामा गएर ठोक्किन्छ— एउटा सानो, नमिलेको बाङ्गो आकार । एकदिन मैले सोधेँ, ‘आमा, यो औँला किन यस्तो बाङ्गो भएको ?’ 

मेरो प्रश्नले सायद उहाँको मनको कुनै पुरानो घाउ कोट्याइदियो । उहाँले लामो सास फेर्नुभयो र मलाई आफ्नो बाल्यकालको त्यो पल सुनाउनुभयो, जुन हाम्रो समाजको एउटा तीतो वास्तविकता थियो । बझाङको त्यो विकट गाउँ, जहाँ छोरी जन्मनुलाई भाग्यसँग होइन, बोझसँग जोडेर हेरिन्थ्यो । त्यसको त मैले नै अनुभव गरेकी छु, दुई दिदीपछि म जन्मिएँ ।

म जन्मिँदा मेरी माइली दिदी त डाको छोडेर रोइन् रे ! भाइ जन्मिएला, सुख होला सोचेको फेरि यो जन्मिई भन्दै दिदी रोइकी थिइन् । हामी तीन दिदीबहिनी । घरमा खुसीको लहर थिएन । बाबा छोरो भएन भन्दै तनावमा हुनुहुन्थ्यो । ‘छोरा भएनछ, वंश कसले धान्ला ?’ भन्ने समाजको निर्दयी प्रश्नले मेरो बुबाआमाको शिर सधैँ निहुरिन्थ्यो । धन्न मपछि दुई भाइ जन्मिए । त्यसपछि मलाई भन्न थाले– भाइ ल्याउने भाग्यमानी छोरी ।

फेरि म आमाकै कुरा गर्छु । मेरी आमाको त्यो जमानामा छोरीलाई स्कुल पठाउने कुरा सोच्नु पनि पाप थियो । छोरीहरू घरको काम, मेलापात र कलिलैमा बिहे गरेर अर्काको घर जानका लागि मात्र जन्मेका हुन् भन्ने मान्यता थियो । मेरी आमाको मनमा भने अक्षर चिन्ने रहरको आगो दन्किरहेको थियो । गाउँका दाजुभाइहरू कापी–किताब बोकेर स्कुल जाँदा उहाँ बारीको डिलमा बसेर टोलाउनुहुन्थ्यो रे ! उहाँले हजुरबुबा–हजुरआमासँग कैयौँ पटक रुँदै, जिद्दी गर्दै भन्नुभएछ, ‘मलाई स्कुल पठाइदिनु न, म पढ्छु ।’

तर, त्यो घरमा उहाँको आवाज सुन्ने कोही थिएन । जवाफ आउँथ्यो, ‘छोरी मान्छेले पढेर के गर्ने ? घरको काम कसले गर्छ ? मेलापात को जान्छ ?’

एकदिन, उहाँले आफ्नो अन्तिम प्रयास गर्नुभयो ।

घरनजिकैको बारीमा कोदो काट्ने काम चलिरहेको थियो । आमाले हजुरबुबासँग एउटा सौदा गर्नुभएछ, ‘आज यो बारीको सबै कोदो काटेर सकेँ भने मलाई स्कुल जान दिनुहुन्छ ?’ सायद उहाँको त्यो बालसुलभ जिद्दी देखेर हजुरबुबाले पनि टार्ने हिसाबले भन्नुभयो, ‘ल, छिटो सिध्या अनि जा ।’

त्यो एउटा सानो आश्वासनले उहाँको शरीरमा बिजुलीको तरंग पैदा गरिदियो । उहाँको कलिलो हातमा भएको हँसिया अस्वाभाविक गतिमा चल्न थाल्यो । एउटै ध्याउन्न थियो— कोदो सिध्याउने र भोलिदेखि कालो पाटी बोकेर स्कुल जाने । त्यो ठुलो सपना, त्यो तीव्र गति र त्यो हतार । त्यही हतारमा हँसियाले कोदोको बोटसँगै देब्रे हातको कान्छी औँला पनि छप्काइदियो । 

रगतको भल बग्यो । दुखाइले उहाँ छटपटाउनुभयो । तर त्यो शारीरिक पीडाभन्दा ठुलो पीडा मनमा थियो । स्कुल जाने सपना त्यही रगतसँगै बग्यो, त्यही दुखाइमा विलिन भयो । घाउ त समयसँगै पुरियो, तर औँला सधैँका लागि बाङ्गो भयो । त्यो बाङ्गो औँला उहाँको शरीरको एउटा खोट मात्र थिएन, त्यो हाम्रो समाजले एउटी छोरीको सपनामाथि चलाएको हँसियाको जिउँदो प्रमाण थियो । 

त्यसको केही समयपछि जम्मा १२ वर्षको उमेरमा उहाँको डोली उठ्यो । आज पनि जब आमा फुर्सदमा बस्नुहुन्छ, त्यही बाङ्गो औँला हेरेर भन्नुहुन्छ, ‘त्यो दिन औँला नकाटिएको भए, मलाई पढाएको भए... अहिले त म पनि कुनै जागिरबाट रिटायर हुन्थेँ होला । जिन्दगीभरि यसरी अक्षर नचिनेर बस्नुपर्दैनथ्यो होला ।’

उहाँको यो एउटा वाक्यमा एउटा सिंगो पुस्ताको चित्कार लुकेको छ । ती हजारौँ आमाहरूको कथा छ, जसका सपनाहरूलाई हाम्रो समाजले यसैगरी हँसियाले काटिदियो । 

आजकाल आमाको हातमा स्मार्ट फोन त छ तर, अक्षर चिन्दिनन् । अक्षर नचिनेपछि त्यो मोबाइल चलाउन आमालाई धेरै गाह्रो छ । सामाजिक सञ्जालमा भिडियो हेर्ने, फोटो खिच्ने कामबाहेक अक्षर चिन्दिननँ ।
आमाको त्यही अधुरो सपनाको ब्याज हो– मेरो हातको यो कलम । उहाँले अक्षर चिन्न पाउनुभएन, तर हामीलाई अक्षर चिनाउनकै लागि आफ्नो जीवन समर्पित गर्नुभयो । हामी तीन बहिनीलाई पढाउनकै लागि दिनलाई रात र रातलाई दिन बनाउनुभयो । समाजको त्यही वचन सहेर, अभावसँग जुधेर उहाँले हामीलाई त्यो शिक्षा दिनुभयो, जुन उहाँको लागि आकाशको फल थियो । 

आज हामी आफ्नो खुट्टामा उभिएका छौँ । हामीले त्यो स्वतन्त्रता पाएका छौँ, जुन आमाको पुस्ताले सपनामा पनि सोचेको थिएन । र हामी छोरीहरूले आफूलाई प्रमाणित पनि गरेका छौँ । आज सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेलले फुटबलको मैदानमा गोल गर्दा पूरा देश खुसीले उफ्रिन्छ । नेपाली महिला क्रिकेट टिमले चौका–छक्का हान्दा हाम्रो छाती गर्वले फुल्छ । गौरिका सिंहले पौडीमा कीर्तिमान राख्दा हामी सबैको शिर उच्चो हुन्छ, हाम्रा दिदीबहिनीले हिमाल चढ्दा खुसीले गदगद हुन्छौँ । 

हाम्रा दिदीबहिनीहरू डाक्टर बनेर जीवन बचाइरहेका छन्, पाइलट बनेर आकाशमा उडिरहेका छन् र सेना–प्रहरी बनेर देशको सुरक्षा गरिरहेका छन् । हामीले हरेक क्षेत्रमा देखाइदिएका छौँ— छोरीहरू आँट, साहस र क्षमताको अर्को नाम हुन् ।

तर, यो उज्यालोसँगै एउटा अँध्यारो पक्ष पनि छ, जसले मलाई हरेक दिन पोल्छ । आज जब म मेरो पुस्ताका केही बहिनीहरूलाई हेर्छु, मलाई डर लाग्छ । हामीले पाएको यो स्वतन्त्रता कति धेरै आमाहरूको बलिदान, कति धेरै बाङ्गा औँलाहरूको पीडाबाट आएको हो भन्ने कुरा कतै हामीले बिर्सिरहेका त छैनौँ ? 

प्यारी बहिनीहरू, मैले यो भनिरहँदा मन नदुखाउनुहोला । म कुनै विज्ञ होइन, म त समाजमा जे देख्छु, त्यही लेख्ने एक साधारण पत्रकार हुँ । जब म प्रहरी कार्यालयमा उमेर नपुग्दै बिहे गरेर घरेलु हिंसामा परेका किशोरीहरूको उजुरी सुन्छु, जब सामाजिक सञ्जालमा यौन शोषणमा परेर जीवन बर्बाद भएका कथाहरू लेख्छु, जब कसैको अश्लील भिडियो बाहिरिएपछि समाज र परिवारबाट तिरस्कृत भएर मृत्युको मुखमा पुगेका छोरीहरूको अनुहार सम्झिन्छु, मेरो मन काँप्छ ।

देशमा हालै ‘जेनजी’ आन्दोलनपछि कामचलाउ सरकार गठन भएको छ र देशले महिला प्रधानमन्त्री पाएको छ । यो एक सकारात्मक सुरुवात हो, तर यो क्षणिक हुनु हुँदैन । देशलाई अब स्थायी र सक्षम नेतृत्व चाहिएको छ ।

दुई वर्ष अगाडिको एउटा घटना म कहिल्यै बिर्सन सक्दिनँ । कक्षा ९ मा पढ्ने एउटी असाध्यै प्रतिभाशाली बहिनी थिइन् । उनको प्रेमी भनाउँदोले प्रेमको नाटक गरेर शारीरिक सम्बन्ध राख्यो । जब उनी गर्भवती भइन्, त्यो केटाले ‘पढ्नुपर्छ, करिअर बनाउनुपर्छ’ भन्दै उनलाई छोडिदियो । पेटमा हुर्किरहेको बच्चाको कुरा उनले कसैलाई भन्न सकिनन् र अन्ततः आफ्नो जीवन समाप्त गरिन् । 

त्यस्तै, अर्की एक किशोरीको निजी भिडियो उनको प्रेमीले मेसेन्जरमा आफन्त र साथीहरूलाई पठाइदियो । त्यो अपमान सहन नसकेर उनले पनि मृत्युको बाटो रोजिन् । परिवार नियोजन कार्यालयको तथ्यांकहरू हेर्ने हो भने असुरक्षित गर्भपतन गराएर आफ्नो पाठेघरलाई जोखिममा पार्ने किशोरीहरूको संख्या डरलाग्दो छ । 

किन यस्तो भइरहेको छ ? के हामीले पाएको स्वतन्त्रताको अर्थ यही हो ?

प्रिय बहिनीहरू, नचिनेको मान्छेसँग सामाजिक सञ्जालमा जोडिएर घण्टौँसम्म प्रेमका नाममा कुरा गरेर आफ्नो अमूल्य समय बर्बाद नगरौँ । टिकटक लाइभको भ्युज र फेसबुकको लाइक गनेर नबसौँ । हामी कसैको मनोरञ्जनको साधन बन्न जन्मेका होइनौँ । सामाजिक सञ्जालमा लाइक र कमेन्टका लागि आफ्नो मूल्य घटाउने काम नगरौँ । हामीले पाएको स्वतन्त्रताको फाइदा उठाएर गलत बाटोमा नलागौँ । यो स्वतन्त्रता हामीलाई रमाइलो गर्न मात्र होइन, राम्रो र ठुलो काम गर्न मिलेको हो । मोबाइलमा फजुल कुरा हेरेर समय बर्बाद गर्नुभन्दा देश, समाज र राजनीतिमा के भइरहेको छ, त्यो हेरौँ । संसद्मा सांसदले दिएको भाषण र सरकारले ल्याएको बजेट बुझ्न थालौँ, आफ्नो दिमागलाई ज्ञानले भरौँ । 

आफ्नो इज्जत र मर्यादामा बस्नु भनेको खुम्चिएर बस्नु होइन, बरु आफ्नो मूल्य आफैंले बुझेर, शिर ठाडो पारेर हिँड्नु हो । 

बिहे गर्न हतारिनु पर्दैन । १४–१७ वर्षको उमेरमा हातमा बच्चा समातेर आफ्नो सपनाको हत्या गर्ने होइन । पहिला पढ्ने, बुझ्ने र आत्मनिर्भर बन्ने काम गरौँ । आत्मनिर्भर बन्न ठुलै जागिर खानुपर्छ भन्ने छैन । जे काम गर्न सकिन्छ, त्यही गरौँ । 

गाउँमा छौँ भने परम्परागत खेती–किसानीलाई आधुनिक बनाउने तरिका सोचौं, तरकारी रोपौँ, बजार खोजौँ । घरमा छौँ भने अचार बनाउने, सिलाइ–बुनाइ गर्ने सानो उद्योग सुरु गरौँ । अलि पढेका छौँ भने केटाकेटीलाई ट्युसन पढाऔँ । हरेक काम सम्मानित छ । जब तपाईंको खल्तीमा तपाईंको आफ्नै पसिनाको कमाइ हुन्छ, तब तपाईंको आवाजमा शक्ति आउँछ । तपाईंको आत्मविश्वासले आकाश छुन्छ । तपाईंलाई कसैले हेप्न सक्दैन, तपाईंको निर्णयमा कसैले हस्तक्षेप गर्न सक्दैन । 

अहिले कति छोरीहरूले पसमाजमा उदाहरणीय काम गरिरहेका छन् । चिया बेच्नेदेखि आफ्नो देशको सुन्दरता चिनाउनमा लागेका छन् । आशिका तामाङ गरिबका आँसु पुछ्न सामाजिक अभियानमा लागेकी छन् । सिर्जना सिर्जु जस्ता युवाहरू देश चिनाउन लागिपरेका छन् । उहाँहरूजस्ता दिदीहरूबाट सिकौँ । राम्रो कामको सिको गरौँ, स्पष्ट वक्ता बनौँ । 

एक पत्रकारको रूपमा, मैले सुदूरपश्चिम प्रदेशको राजनीतिलाई नजिकबाट नियालेको छु । यहाँका स्थानीय तहमा महिलाको सहभागिता कानुनले अनिवार्य गरेको छ । त्यो सहभागिता कति शक्तिशाली छ ? के उनीहरू साँच्चै निर्णय प्रक्रियामा छन्, वा मात्र संख्या पूर्तिमा सीमित छन् ? 

मैले प्रदेश सरकारमा हेरेँ, यहाँ कुनै महिला क्याबिनेट मन्त्री हुनुहुन्न, दुई जना राज्यमन्त्री मात्र हुनुहुन्छ । प्रदेशका ८८ वटा स्थानीय तहमध्ये जम्मा दुई जना महिला प्रमुख हुनुहुन्छ– अछामको पञ्चदेवलविनायक नगरपालिकामा अम्बिका चलाउने र कैलालीको लम्कीचुहा नगरपालिकामा सुशीला शाही । यो संख्याले के देखाउँछ ? निर्णय गर्ने ठाउँमा, बजेट बनाउने ठाउँमा महिलाको पहुँच आज पनि कति कमजोर छ । 

जब म काठमाडौँको सिंहदरबारतिर हेर्छु, मलाई त्यहाँभित्र मेरी आमाको कथासँग जोडिएको एउटा ठुलो खाडल देखिन्छ । संसद् भवनभित्र हेर्नुहोस्, मन्त्रिपरिषद्मा हेर्नुहोस्, जताततै पाका उमेरका पुरुषहरूको बाहुल्यता छ । मलाई माफ गर्नुहोला, तर मलाई यो भन्न कुनै हिच्किचाहट छैन । यो देशलाई बिगार्नेमा ती ‘भाले’हरूको ठुलो योगदान छ, जसले कुर्सीमा बसेर दशकौँसम्म आफ्नो स्वार्थको राजनीति गरे । 

देशमा हालै ‘जेनजी’ आन्दोलनपछि कामचलाउ सरकार गठन भएको छ र देशले महिला प्रधानमन्त्री पाएको छ । यो एक सकारात्मक सुरुवात हो, तर यो क्षणिक हुनु हुँदैन । देशलाई अब स्थायी र सक्षम नेतृत्व चाहिएको छ ।

त्यसैले, प्रिय बहिनीहरू, राजनीतिलाई फोहोर खेल भनेर पन्छिने होइन । फोहोर सफा गर्न फोहोरमा पस्नैपर्छ । हामी पढेलेखेका, सक्षम छोरीहरू राजनीतिमा आउन डराएमा, त्यही पुराना र असक्षम अनुहारहरूले नै देश चलाइरहनेछन् । राजनीतिमा लागेका हाम्रा साहसी दिदीहरूलाई बलियो बनाऔँ । उहाँहरूको खुट्टा तान्ने होइन, साथ दिऔँ । उहाँहरूलाई बलियो बनाउनु भनेको हाम्रो आफ्नो भविष्य बलियो बनाउनु हो ।
म १५ वर्षको उमेरमा पत्रकारितामा होमिएकी हुँ । स–साना सामुदायिक मुद्दादेखि राष्ट्रिय स्तरका बहससम्म कलम चलाएकी छु । यो लामो अनुभवले मलाई एउटै कुरा सिकाएको छ— जबसम्म नीति बनाउने र निर्णय गर्ने ठाउँमा हाम्रो बलियो उपस्थिति हुँदैन, तबसम्म छोरीहरूमाथिको विभेद र हिंसाका समाचार लेखिरहनुपर्ने नियति अन्त्य हुँदैन । 

मेरी आमाको त्यो बाङ्गो औँलाले मलाई सधैँ एउटा कुरा सोधिरहन्छ— ‘मैले त पढ्न पाइनँ, सपना पूरा गर्न सकिनँ, तैँले मेरो पुस्ताको लागि के गर्छेस् ? 

त्यो बाङ्गो औँलाले मलाई बाटो देखाइरहेको छ । त्यो औँलाले अब छोरीहरुले बेकाम, फजुल काममा मात्र लाग्ने होइन, सोझै सिंहदरबारको कुर्सीतिर देखाइरहेको छ । त्यो औँलाले भनिरहेको छ, ‘अब तिमीहरूले हामीजस्ता हजारौँ आमाहरूको अधुरो सपना पूरा गर्ने हो । अब तिमीहरूले यो देश चलाउने हो ।’ 

त्यसैले, डियर गल्र्स, आफ्नो मूल्य चिनौँ । आत्मनिर्भर बन्ने हिम्मत गरौँ । स्वतन्त्रतालाई जिम्मेवारीसँग जोडौँ । सामाजिक सञ्जालको क्षणिक मनोरञ्जनबाट बाहिर निस्केर देशको अर्थतन्त्र, समाज र राजनीतिबारे चासो राखौँ । र सबैभन्दा महत्त्वपूर्ण कुरा, यो देशको नेतृत्व गर्ने, सिंहदरबार हाँक्ने सपना देख्ने आँट गरौँ । अहिले सिंहदरबार बनाउने र हाँक्ने जिम्मेवारी आएको छ । 

आगामी चुनावमा सक्षम छोरीहरूलाई अगाडि बढाउन भूमिका खेलौँ र आफैं पनि अगाडि बढ्ने हिम्मत राखौँ । किनकि, जबसम्म सिंहदरबारको नीति निर्माण तहमा हाम्रो पुस्ताको हस्तक्षेप हुँदैन, तबसम्म अर्को पुस्ताकी कुनै छोरीले आफ्नो सपना पूरा गर्न हँसिया चलाउँदा औँला काट्नुपर्ने दुर्भाग्य दोहोरिइरहन सक्छ । अब त्यो चक्र तोड्ने पालो हाम्रो हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप