बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

विश्वकप २०२६ मा अत्यधिक गर्मीको डर

बुधबार, २७ जेठ २०८३, ०५ : ४८
बुधबार, २७ जेठ २०८३

सारांश

  • विश्वकप २०२६ मा अत्यधिक गर्मीले खेलाडीको प्रदर्शनमा असर गर्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।
  • वैज्ञानिकहरूले लामो समयदेखि अत्यधिक गर्मीले खेलकुद प्रतियोगिताहरूलाई प्रभावित गर्न सक्ने चेतावनी दिँदै आएका छन् ।
  • फिफाले गर्मीजन्य जोखिमको योजना तयार गरिसकेको छ, जसमा जलपान विश्राम र वातानुकूलित पूर्वाधार समावेश छन् ।

काठमाडौँ । यसै साता अमेरिकाबाट युरोपेली खेलाडीहरूका गर्मीका कारण प्रशिक्षण गर्न हम्मे हम्मे परिरहेका तस्बिरहरू सार्वजनिक भए । यसले विश्वकपका क्रममा अमेरिकाको चर्को गर्मीबारे चिन्ता र बहस बढाएको छ । 

हुन त पसिनाले भिजेका र कहिलेकाहीँ जर्सीसमेत फुकालेर मैदानमा आराम गरिरहेका फुटबल खेलाडीहरूको दृश्य बिलकुलै नयाँ होइन, तर यस पटक यसले विशेष ध्यान तानेको छ ।

वैज्ञानिकहरूले लामो समयदेखि अत्यधिक गर्मीले खेलकुद प्रतियोगिताहरूलाई प्रभावित गर्न सक्ने चेतावनी दिँदै आएका छन् । गत महिना जलवायु विज्ञहरूले विश्वकपका प्रत्येक चार खेलमध्ये एक खेल अत्यन्त तातोमा हुन सक्ने र त्यसले खेलाडी तथा दर्शक दुवैलाई असर गर्न सक्ने बताएका थिए ।

नभन्दै गत साताका अभ्यास खेल तथा प्रशिक्षणमा त्यस्तै देखियो । विशेष गरी चिसो मौसममा खेल्न अभ्यस्त युरोपेली टोलीका खेलाडीहरू घामले पोलेका अवस्थामा शरीरमा पानी खन्याएर चिसिने प्रयास गरिरहेका दृश्यहरू सामाजिक सञ्जालमा व्यापक रूपमा बाहिरिए । नर्वेको टोलीले त मोरक्कोविरुद्धको मैत्रीपूर्ण खेलका क्रममा घाँटीमा बरफयुक्त कलरसमेत लगाएको थियो ।

तर इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनले गर्मीले खेलाडीहरूलाई कति असर गर्छ भन्ने संकालाई खारेज गर्दै आफ्नो टोलीको विश्वकप तयारीका कारण ‘यो कुनै खास कारक नबन्ने’ बताएका छन् ।

त्यसो भए, विश्वकपका क्रममा बढ्दो तापक्रमले वास्तवमै खेलाडीहरूलाई कति असर गर्ला त ? विश्वकप खेलका क्रममा गर्मीबारे विज्ञहरू के भन्छन् त ? विज्ञका अनुसार सन् १९३० मा प्रतियोगिता सुरु भएयता विश्वव्यापी तापक्रममा आएको तीव्र वृद्धिका कारण विश्वकप २०२६ अहिलेसम्मकै सबैभन्दा ‘तातो’ विश्वकप हुन सक्छ ।

वरिष्ठ मौसमविद् एभर्टन फक्स भन्छन्, ‘झन्डै आधा दर्जन खेलस्थलहरू अत्यधिक गर्मीको जोखिममा छन् । डलास, ह्युस्टन, मियामी तथा मेक्सिकोका खेलस्थलहरूमा अत्यधिक गर्मी हुने सम्भावना छ ।’

ती स्थानहरूमा दिनको औसत तापक्रम २८ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ । यद्यपि डलास, ह्युस्टन र एटलान्टाका रङ्गशालामा वातानुकूलित (एयरकन्डिसन) सुविधा उपलब्ध छ ।

जलवायु वैज्ञानिकहरूको सञ्जाल ‘वल्र्ड वेदर एट्रिब्युसन’का अनुसार, १०४ खेलमध्ये करिब २६ खेल वेट बल्ब ग्लोब टेम्परेचर (डब्लुबिजिटी) सूचकाङ्कमा कम्तीमा २६ डिग्री सेल्सियसमा खेलिन सक्छन् । यो सूचकाङ्कले शरीरले आफूलाई कति प्रभावकारी रूपमा चिसो राख्न सक्छ भन्ने मापन गर्छ । त्यसमध्ये पाँच खेल २८ डिग्री डब्लुबिजिटी वा त्यसभन्दा माथिको अवस्थामा हुने अनुमान गरिएको छ ।

ती २६ खेलमध्ये १७ खेल वातानुकूलिन प्रणाली भएका रङ्गशालामा हुने भएकाले खेलाडी र दर्शक दुवैका लागि जोखिम केही कम हुनेछ ।

उच्च तापक्रमले खेलाडीको प्रदर्शनमा कस्तो प्रभाव पार्छ ?

फक्सका अनुसार बढ्दो आद्र्रता, सौर्य विकिरणको प्रभाव तथा हावाको गतिले प्रत्यक्ष घाममा दौडिरहेका खेलाडीहरूमा तनाव बढाउँछ ।

‘यी सबै कारणले शरीरलाई चिसो राख्न झन् कठिन हुन्छ, किनकि पसिना छिटो वाष्पीकरण हुन सक्दैन,’ फक्स भन्छन् ।

शारीरिक प्रशिक्षक रायन अब्बासीका अनुसार शरीरले आफ्नो आन्तरिक तापक्रम सन्तुलित राख्न पसिना निकाल्छ । तर अत्यधिक गर्मीका कारण धेरै पसिना बग्दा शरीरमा पानीको कमी, मांसपेशी बाउडिने समस्या र थकान बढ्न सक्छ ।

के खेलाडीहरू यस्तो तातोमा अभ्यस्त हुन्छन् ?

अब्बासी भन्छन्, ‘हो, अधिकांश खेलाडीहरू यस्ता गर्मीका अवस्थासँग जुध्न जान्दछन्, किनकि उनीहरू विभिन्न मौसममा प्रशिक्षण र प्रतिस्पर्धा गरिसकेका हुन्छन् ।’

ब्रिटिश क्लब स्वान्सी, वेस्ट ह्याम तथा पाकिस्तान राष्ट्रिय टोलीसँग काम गरिसकेका अब्बासीका अनुसार टोलीहरूसँग शारीरिक प्रशिक्षक र चिकित्सकीय टोली हुन्छ, जसले खेलाडीहरूलाई वातावरणसँग अभ्यस्त बनाउने र प्रतियोगिताका लागि तयार पार्ने काम गर्छ ।

उनको भनाइ ह्यारी केनको अभिव्यक्तिसँग मेल खान्छ । फ्लोरिडाको टाम्पामा तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगेका बेला न्युजिल्यान्डलाई १–० ले हराएपछि केनले पनि टोली तयारी अवस्थामा रहेको बताएका थिए ।

गर्मी मुलुकका खेलाडीहरूलाई फाइदा हुन्छ ?

तातो जलवायुमा नियमित प्रशिक्षण गर्ने मुलुकका खेलाडीलाई अमेरिकाको उच्च तापक्रममा अभ्यस्त हुन केही सहज हुन सक्छ । तर अब्बासीका अनुसार, ‘राम्रो तयारी गर्ने र त्यहि अनुरुप प्रदर्शन गर्ने टोलीहरूले यस समस्यालाई न्यूनतम बनाउन सक्छन् ।’

उनले थपे, ‘गर्मीलाई सकारात्मक रूपमा पनि प्रयोग गर्न सकिन्छ । उत्कृष्ट खेलाडी निर्माणमा गर्मी महत्त्वपूर्ण कारक हो । खेल क्षमता सुधार गर्ने एक उपाय गर्मीमा प्रशिक्षण गर्नु पनि हो ।’

उनका अनुसार यस्ता अभ्यासले शरीरमा आवश्यक अनुकूलन क्षमता विकास गराउँछ, जसले पछि चिसो मौसममा अझ राम्रो प्रदर्शन गर्न मद्दत गर्छ ।

के विश्वकप गर्मी यामबाहेक अर्को समयमा आयोजना गर्न सकिन्थ्यो ?

फक्सका अनुसार अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरू परम्परागत रूपमा युरोपेली घरेलु लिगको विश्राम अवधिमा आयोजना गरिन्छ, र विश्वकप २०२६ पनि त्यही समयमा हुँदै छ । 

उनले भने, ‘यसो हेर्दा हेर्दा अमेरिकाको मौसम वसन्त र शरद ऋतुमा सबैभन्दा अनुकूल हुन्छ । तर वसन्त आँधीबेहरीको मौसम हो भने गर्मीको अन्त्यदेखि शरदसम्मै आँधीको जोखिम रहन्छ । त्यसबाहेक त्यहाँका स्थानीय खेल प्रतियोगिताहरू पनि छन्, जसप्रति स्थानीय दर्शकहरूको बढी चासो हुन्छ ।’

फिफाले खेलाडी र दर्शकका लागि के उपाय अपनाएको छ ? 

फिफाले गर्मीजन्य जोखिमको योजना तयार गरिसकेको जनाएको छ । यसअन्तर्गत प्रत्येक हाफमा तीन मिनेटको जलपानो लागि विश्राम समय, खेलाडी र दर्शकलाई चिसिनको लागि आवश्यक वातानुकूलिन पूर्वाधार, तथा मौसमअनुसार विस्तार गर्न सकिने चकित्सकीय तयारी समावेश छन् ।

फक्सले भने, ‘पूर्ण लाभ लिन जलपान विश्राम अझ लामो हुनुपर्ने हुन सक्छ, तर त्यसो गर्दा खेल दुई हाफको नभई चार क्वार्टरको बन्ने जोखिम हुन्छ ।’ उनले फिफाले खेलहरू मुख्यतः अमेरिका र क्यानडाका उत्तरी क्षेत्रमा सीमित गर्न सक्थ्यो भन्ने पनि तर्क गरेका छन् । 

त्यसो त फिफाले केही खेलहरूको सुरुआती समय पनि परिवर्तन गरेको छ, ताकि खेलहरू दिनको सबैभन्दा तातो समयमा नभई त्यसदेखि फरक समयमा सुरु गराउन सकियोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप