कर्णालीमा रास्वपा : डोल्पा बाहेक सबैतिर वडादेखि जिल्लाको नेतृत्व चयन
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशका डोल्पा बाहेकका सबै जिल्लामा वडादेखि जिल्लासम्म नेतृत्व चयन गरेको छ।
- पार्टीले गत फागुनको निर्वाचनमा कर्णालीमा कमजोर प्रदर्शन गरे पनि अहिले साङ्गठनिक विस्तारमा तीव्रता दिएको छ।
- सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुमपश्चिम, कालिकोट र जुम्ला जस्ता जिल्लामा वडादेखि पालिकास्तरसम्म कमिटी गठन गरी प्रथम अधिवेशन सम्पन्न गरिसकेको छ।
सुर्खेत । गत फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णालीका सबैजसो जिल्ला र गाउँसम्म पुगेको थिएन। जसका कारण निर्वाचनमा अन्य प्रदेशका तुलनामा कर्णालीमा कमजोर रह्यो । प्रत्यक्षतर्फ जम्मा एक सिट जितेको रास्वपा समानुपातिकतर्फ दोस्रो बन्यो।
निर्वाचनमार्फत झण्डै दुई तिहाइ नजिक जनमत पाए देशको बागडोर सम्हालेसँगै कर्णालीमा रास्वपाको साङ्गठनिक अवस्थामा फैलावट आएको छ। अहिलेसम्म सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुमपश्चिम, कालिकोटदेखि जुम्ला लगायतका जिल्लामा वडादेखि पालिकासम्म कमिटी गठन भएका छन् । यस्तै, सोमबार अपराह्नसम्म डोल्पा बाहेकका सबैजसो जिल्लामा प्रथम अधिवेशन सम्पन्न भइसकेको छ।
जस अन्तर्गत दैलेख र रुकुम पश्चिममा चुनावी प्रक्रियामार्फत अधिवेशन सम्पन्न भएको छ भने बाँकी जिल्लामा सर्वसम्मत र शान्तिपूर्ण तरिकाले नेतृत्व चयन भएको रास्वपा कर्णालीका नेता हरि अधिकारीले रातोपाटीलाई बताए।
उनका अनुसार जाजरकोटमा ४ जना नेतृत्वका आकाङ्क्षी थिए । त्यहाँ हात हालाहालको स्थिति आएको थियो । तर अन्तिममा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ । दैलेखमा पनि चार जना आकाङ्क्षी हुँदा सामान्य विवाद चाहिँ भएको थियो।
सुर्खेतमा सभापति र उपसभापति सर्वसम्मत चयन हुँदा सचिव र सह–सचिव पदका लागि चुनाव भयो।
सुर्खेतमा दोहोरिए सापकोटा
रास्वपा सुर्खेत जिल्लाको नेतृत्वका लागि चार जना आकाङ्क्षी थिए । तर आइतबार नै यसअघि सभापति रहेका रमेशकुमार सापकोटा नै सर्वसम्मत भए । उनी गत फागुनमा भएको प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सुर्खेत–२ बाट निर्वाचित भएका थिए । रास्वपाले कर्णालीमा एक मात्र सिट जितेको थियो।
कांग्रेस पृष्ठभूमिका उनी ०८० अघिदेखि नै रास्वपामा आबद्ध भएर सुर्खेतमा पार्टी कमिटीलाई चलायमान बनाउन सक्रिय थिए।
जाजरकोट: सुरुमा हात हालाहाल, अन्तिममा सर्वसम्मत
आइतबारदेखि अधिवेशन सुरु भए पनि जाजरकोटमा सुरुमा निकै विवाद भयो । सोमबार बिहानसम्म ४ जना आकाङ्क्षीका समर्थकबिच हात हालाहालकै स्थिति आएको थियो । तर अन्तिममा यसअघि सभापति रहेका महेश सिंह नै सर्वसम्मत सभापति चयन भए ।
एक नेताका अनुसार, विवाद हुनुका पछाडि घुसपैठ भएको थियो ।यस्तै यहाँ उपसभापतिमा प्रकाशकुमार कार्की, सचिवमा कर्ण प्रसाद जैशी, सह–सचिवमा इन्द्रिजित शाही, कोषाध्यक्षमा प्रमोदजंग शाह चयन भएका छन् । बाँकी सदस्यमा १५ जना चयन भएका छन् ।
चुनाव भएको रुकुमपश्चिममा द्रोण, दैलेखमा बखत
चुनावी प्रक्रियामार्फत जिल्ला नेतृत्व चयन भएको रुकुम पश्चिममा द्रोण खड्का निर्वाचित भएका छन् । उनले ४२ मतसहित विजयी प्राप्त गरे ।
उनका प्रतिस्पर्धी पुस्तक चन्दले ३० मत पाए । यस्तै, उपसभापतिमा रिम प्रसाद शर्मा, सचिवमा दीपेन्द्र राज विष्ट, सहसचिवमा प्रेम बाँठा मगर निर्वाचित भएको रास्वपा रुकुम पश्चिमले जनाएको छ ।
यता दैलेखमा बखतबहादुर भण्डारी ९२ मतसहित सभापति निर्वाचित भएका छन् । अन्य आकाङ्क्षी प्रकाश बुढाले ६९, विनी बहादुर शाहीले ४३ र निवर्तमान सभापति मित्र प्याकुरेलले ४१ मत प्राप्त गरे । यस्तै उपसभापतिमा गणेश शाही, सचिवमा रमेश केसी, सहसचिवमा रामबहादुर शाही निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित भण्डारीले ०७९ मा दैलेख–२ मा रास्वपाबाटै प्रतिनिधि सभा चुनाव पनि लडेका थिए ।
अन्य जिल्लामा को भए सभापति ?
हुम्लामा लक्ष्मण ऐडीको नेतृत्वमा सर्वसम्मतिमा नौ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ ।उनी यसअघि उपसभापति रहेका थिए ।
उपसभापतिमा रिन्जेन लामा, सचिवमा मनोज बाेहरा, सहसचिवमा तीर्थराज बुढा र कोषाध्यक्षमा कमन शाहीलाई चयन गरेको छ ।
कालिकोटमा प्रेमबहादुर केसी सर्वसम्मत सभापति चयन भएका छन्। यहाँ उपसभापतिमा दिनेशबहादुर शाही, सचिवमा भूपेन्द्रबहादुर शाही, सह–सचिवमा जीवनबहादुर शाही र कोषाध्यक्षमा पवित्राकुमारी जैसी चयन भएकी छिन् ।
जुम्लामा मक्करबहादुर भण्डारी सभापति बनेका छन् ।सर्वसम्मत पदाधिकारी चयन भएको यहाँ उपसभापतिमा सुनिलबहादुर रोकाया, सचिवमा जगतबहादुर खत्री, सह–सचिवमा दानबहादुर बुढा चयन भएका छन् । दानबहादुर केही समयअघि कांग्रेस परित्याग गरेका नेता हुन् । उनी २०७९ मा कांग्रेसबाट गुठीचौर गाउँपालिका निर्वाचित भएका थिए ।
यता सल्यानमा प्रकाश नेपाली पुनः सभापतिमा दोहोरिए ।
चुनावमा दोस्रो नम्बरमा मत ल्याएको यो जिल्लामा रास्वपाले आफ्नो साङ्गठनिक अवस्थालाई बलियो बनाइरहेको छ । नेपालीले यसअघि नै जिल्लामा रास्वपा विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सर्वसम्मत दोहोर्याइएको एक नेताले बताए ।
यस्तै, उपसभापतिमा टिकाराम केसी, सचिवमा श्रीकान्त राई, सह–सचिवमा हिरा योगी र कोषाध्यक्षमा सीता मल्ल चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण