शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

कृषि एम्बुलेन्स सञ्चालन गर्न दुई करोड ७० लाख सहयोग

मङ्गलबार, ०२ मङ्सिर २०८२, २३ : २३
मङ्गलबार, ०२ मङ्सिर २०८२

सारांश

  • सरकारले कृषि उपजको बिक्रीका लागि बजारसम्म पहुँच पुर्‍याउन कृषि एम्बुलेन्समा लगानी विस्तार गरेको छ।
  • १८ पालिकामा कृषि एम्बुलेन्स सञ्चालनका लागि मन्त्रालयले २ करोड ७० लाख सहयोग गरेको छ।
  • यस एम्बुलेन्सले किसानलाई दूध, तरकारी, आलु, सुन्तलालगायत कृषि उपजको बजारीकरणमा सहयोग गर्नेछ।

काठमाडौँ । सरकारले कृषि उपजको बिक्रीका लागि बजारसम्म सहज पहुँच पुर्‍याउने उद्देश्यले कृषि एम्बुलेन्समा लगानी बिस्तार गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि एम्बुलेन्स सञ्चालन गर्न केही पालिकामा रु दुई करोड ७० लाख सहयोग गरेको हो । देशका विभिन्न १८ पालिकामा प्रतिपालिका रु १५ लाखका दरले रकम पठाइएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । सङ्घीय सरकार र गाउँपालिकाको लागत साझेदारीमा किसानले उत्पादन गरेका कृषि उपज ढुवानीका लागि एम्बुलेन्स सञ्चालन गरिने उनले बताए ।  

विकट बस्तीका किसानलाई लक्षित गरी उत्पादित दूध, ताजा तरकारी, आलु, सुन्तलालगायत कृषि उपजको बजारीकरणमा सहयोग पुर्‍याउन कृषि एम्बुलेन्स सञ्चालन गर्न सम्बन्धित गाउँपालिकाले आवश्यक कार्यविधि बनाउने छ । 

एम्बुलेन्स सञ्चालनका लागि जनशक्ति, तापक्रम व्यवस्थापन, सेवा शुल्क निर्धारणलगायत विषय स्थानीय तहले नै गर्नेछ । 

किसानलाई खेतीतर्फ प्रोत्साहन गर्न विभिन्न प्रदेश तथा स्थानीय तहलाई पनि कृषि एम्बुलेन्स सञ्चालन गर्न मन्त्रालयले सुझाएको र एम्बुलेन्स प्रभावकारी सञ्चालन गरिएका कतिपय पालिकामा कृषि उपजको बजारीकरण गरी किसान लाभान्वित भएका जनाइएको छ । 

कृषि क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्‍याउन सरकारले किसानलाई व्यावसायिक सीप, तालिम, मल, बीउ बिजन, प्रविधि तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप