बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

कांग्रेसका विशेष महाधिवेशन पक्षधरद्वारा महाधिवेशनको मिति र स्थान तोक्न माग

बुधबार, ०३ मङ्सिर २०८२, १७ : ५१
बुधबार, ०३ मङ्सिर २०८२

सारांश

  • नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेका छन्।
  • गुरुराज घिमिरेको नेतृत्वमा २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापतिलाई बुझाइएको थियो।
  • घिमिरेले पार्टी नेतृत्वलाई पौष २८ भित्रै विशेष महाधिवेशन आह्वान गर्न आग्रह गरे।

काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेका छन् । विशेष महाधिवेशनको हस्ताक्षर अभियानका नेतृत्वकर्ता गुरुराज घिमिरेले बुधबार अनामनगरमा पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेका हुन् ।

घिमिरेको नेतृत्वमा सङ्कलन भएका २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो । घिमिरेले जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिवेशमा नीति–पुनरावलोकन, संरचनागत परिमार्जन र नेतृत्व परिवर्तनका लागि पौष २८ भित्रै विशेष महाधिवेशन आह्वान गर्न आग्रह गरे ।

पत्रकार सम्मेलनमा घिमिरेले विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन आह्वान पार्टी नेतृत्वको ‘बाध्यकारी दायित्व’ भएको बताए । विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने ५५ प्रतिशत प्रतिनिधिको प्राथमिकता निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्ने रहेको घिमिरेले बताए ।

‘यदि १५ औँ महाधिवेशन समयमा गर्न नसकिने हो भने सोही समयमा विशेष महाधिवेशन सम्पन्न गर्ने निर्णय होस् भन्ने हाम्रो माग थियो,’ घिमिरेले भने ।  पत्रकार सम्मेलनमा फागुन २१ का लागि घोषित आम निर्वाचनअघि नै कांग्रेसले नयाँ नेतृत्व निर्वाचित गरिसक्नुपर्ने बताइयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप