ओम ब्लु लोटस हेल्थ होमको पाँचौँ वार्षिकोत्सव सम्पन्न
सारांश
- ब्लु लोटस हेल्थ होमले पाँचौँ वार्षिकोत्सव मनायो, जसमा डा. सुरज कर्माचार्य, डा. प्रसिद्ध खड्गी र बद्री बहादुर कार्कीको उपस्थिति थियो।
- संस्थाका अध्यक्ष डा. कर्माचार्यले सबै नेपालीलाई अकुपञ्चर सेवा प्रदान गर्ने उद्देश्य रहेको बताए, बिरामीको विश्वासले आफूलाई जिम्मेवार बनाएको उनको भनाइ छ।
- कार्यक्रममा डा. खड्गीले ब्लु लोटसको सेवा र व्यवस्थापनको प्रशंसा गरे भने कर्मचारी र उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरिएको थियो।
काठमाडौँ । नेपालमा अकुपञ्चरको विशेषज्ञ सेवा दिँदै आइरहेको देशको पहिलो र एकमात्र अकुपञ्चरको हस्पिटल ब्लु लोटस हस्पिटलको दोस्रो सिस्टर अर्गनाइजेशनको रूपमा स्थापित ओम ब्लु लोटस हेल्थ होम प्रा. लि.ले आफ्नो पाँचौँ वार्षिकोत्सव विशेष समारोहका साथ सम्पन्न गरेको छ।
ललितपुरको एक होटलमा सम्पन्न सो समारोहमा अध्यक्ष डा. सुरज कर्माचार्य, प्रमुख अतिथि डा. प्रसिद्ध खड्गी र प्रबन्ध निर्देशक बद्री बहादुर कार्कीको उपस्थिति रहेको थियो। संस्थाका सबै कर्मचारी, विभिन्न शाखाका चिकित्सक, प्रशासनिक अधिकृत र कर्मचारीहरूले सो कार्यक्रममा सहभागिता जनाएका थिए।
कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष तथा नेपालकै प्रथम अकुपञ्चर विशेषज्ञ डा. सुरज कर्माचार्यले ‘नेपालका सबै नागरिकले सहज र विशेषज्ञ स्तरको अकुपञ्चर सेवा प्राप्त गर्न सकुन्’ भन्ने उद्देश्यले संस्था स्थापना गरिएको बताए। उपचारको क्रममा आफूले कल्पना भन्दा निकै धेरै बिरामीहरूको विश्वास, माया र सद्भाव पाएको अनुभव सुनाउँदै यसले आफूलाई अझ जिम्मेवार बनाएको भावना व्यक्त गरे।
त्यस्तै, प्रमुख अतिथि डा. प्रसिद्ध खड्गीले ब्लु लोटसले छोटो समयमा बिरामीमै केन्द्रित सेवा, अनुभवी चिकित्सक टिम र अनुशासित व्यवस्थापनका कारण आम नागरिकमा विश्वास स्थापित गर्न सफल भएको भन्दै प्रशंसा गरे।
समारोहमा प्रबन्ध निर्देशक बद्री बहादुर कार्कीले प्रबन्ध निर्देशनको भूमिकामा मन्तव्य राख्दै संस्थाको सुरुवाती सङ्घर्ष, अहिलेको सफलता र आगामी लक्ष्यबारे गहिरो भावनात्मक शैलीमा आफ्नो धारणा व्यक्त गरे। उनले सबै कर्मचारीप्रति कृतज्ञता व्यक्त गर्दै भने, ‘ब्लु लोटसको सबैभन्दा ठुलो शक्ति र सम्पत्ति तपाईंहरू नै हुनुहुन्छ। तपाईंहरूको निष्ठा, मेहनत र समर्पणले आजको यो संस्था निर्माण गरेको हो।’
वरिष्ठ चिकित्सकहरू डा. झुलाराम अधिकारी र डा. कमल शर्माले पनि संक्षेपमा मन्तव्य व्यक्त गर्दै संस्थाको प्रगति र अकुपञ्चर क्षेत्रमै पुर्याएको योगदानको चर्चा गरे र व्यवस्थापनलाई बधाई तथा शुभकामना दिए।
सोही अवसरमा अकुपञ्चर क्षेत्रमा योगदान पुर्याउने चिकित्सक तथा कर्मचारीहरूलाई सम्मानपत्र वितरण गरियो। त्यसैगरी, वर्षको उत्कृष्ट कर्मचारीको रूपमा सजिना भण्डारी र सर्वोत्कृष्ट कर्मचारीको रूपमा अस्मिता चौधरी सम्मानित भइन्। कार्यक्रममा साङ्गीतिक प्रस्तुति, सांस्कृतिक नृत्य, केक काट्ने, क्विज र खेलजस्ता बौद्धिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएका थिए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण