‘एक्सन’मा मुख्यमन्त्री कँडेल, सडक पूर्वाधार अनुगमनका क्रममा दिए यस्तो निर्देशन (तस्बिरहरू)
सारांश
- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेतमा निर्माणाधीन सडक पूर्वाधारको अनुगमन गरे।
- अनुगमनका क्रममा उनले सडक निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाए र कामलाई तीव्रता दिन निर्देशन दिए।
- मुख्यमन्त्रीले विभिन्न सडकखण्डको स्थलगत निरीक्षण गर्दै निर्माण व्यवसायीहरूलाई समयमै काम सक्न आग्रह गरे।
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार दिनभर प्रदेश सरकारद्वारा पश्चिम सुर्खेतमा निर्माण भइरहेका सडक पूर्वाधारहरूको अनुगमन गरे । काममा ढिलाइ भइरहेका गुनासो आइरहेपछि उनी अनुगमनमा निस्किएका थिए ।
मुख्यमन्त्री कँडेलले मदन भण्डारी राजमार्गको बड्डीचौर–खम्बागाडे, बाबियाचौर–जामु हुँदै कर्णाली नदीको सङ्गम कुइने जोड्ने सडक, खम्बागाडे–लखारपाटा र हुर्के–तरङ्गा जोड्ने चार वटा प्रमुख रणनीतिक सडक तथा पुलको अनुगमन गरे । उनीसँगै भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढा, पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक सूर्यबहादुर शाही, सडक हेर्ने इन्जिनियर र पत्रकारहरू अनुगमनमा सामेल थिए ।
बिहान ७ बजे राजधानी वीरेन्द्रनगरबाट पश्चिम सुर्खेत निस्किएका मुख्यमन्त्री कँडेलले सुरुमा पश्चिम सुर्खेतको भाग्य र भविष्यसँग जोडिएको मदन भण्डारी राजमार्ग अन्तर्गत बड्डीचौर–खम्बागाडे खण्डको अनुगमन गरे । १३ किलोमिटर लामो उक्त सडकखण्ड निर्माणमा ठेकदारको लापरबाही र कानुनी उल्झनका कारण विलम्ब भएको थियो ।
४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ लागत रहेको यो सडक निर्माणको जिम्मा सुरुमा जयदेवी जेभी बाँकेले पाएको थियो । कांग्रेसका निवर्तमान सांसद दीक्पाल शाहीको उक्त कम्पनीले ०७९ साउनबाट सुरु गरेको काम २०८१ असार २४ मा सक्नुपर्ने सम्झौता थियो । तर, उक्त कम्पनीले लापरबाही गरेपछि अहिले उसैको लिड कम्पनी अनक कन्स्ट्रक्सनले नेतृत्व लिएर काम अघि बढाएको हो ।
मुख्यमन्त्री कँडेलले कारबाही गर्ने चेतावनी दिएपछि अहिले मुख्य कम्पनी आफैँले धमाधम काम गरिरहेको छ । पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निमित्त प्रमुख सूर्यबहादुर शाहीका अनुसार रुख कटानको प्रक्रिया टुङ्गिएसँगै र दसैँ–तिहार लगत्तै काम द्रुत गतिमा अघि बढेको छ । हालसम्म आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत र वित्तीय प्रगति २५ प्रतिशत पुगेको छ ।
_4dIAT7GkcO.jpg)
आयोजनाको म्याद ०८३ असार मसान्तसम्म छ । अनक कन्स्ट्रक्सनका प्रतिनिधि शंकर रावतले आगामी असारसम्म सडकलाई बाह्रै महिना चल्ने बनाउने प्रतिबद्धता जनाए ।
‘अहिले कटिङदेखि अन्य संरचना निर्माणको काम धमाधम भइरहेको छ,’ मुख्यमन्त्रीसहितको टोली सामु उनले भने, ‘माघभित्र सकिने छ । फागुनदेखि सब–बेस र ग्राभेल बिछ्याउने काम सुरु हुन्छ ।’
रावतले सडकलाई तीन खण्डमा विभाजन गरेर काम भइरहेको र असारसम्म करिब ८ किलोमिटर कालोपत्रे गर्ने योजना रहेको बताए । बाँकी खण्डमा ग्राभेलिङ तथा स्ट्रक्चरको काम सकेर यातायात सहज बनाउने योजना रहेको उनको भनाइ छ ।
सडक निर्माणमा वनको समस्या हल भए पनि विद्युत् पोल व्यवस्थापन मुख्य चुनौती बनेको छ । निर्देशनालयले पोल सार्न गत वर्ष नै २८ लाख रुपैयाँ जम्मा गरे पनि विद्युत् प्राधिकरणले अहिलेसम्म पोल हटाइदिएको छैन ।
‘बड्डीचौरदेखि गिविने खोलासम्मका २–३ वटा पोलमात्र सारिएको छ । गिविनेदेखि खम्बागाडेसम्म सडकको बिच भागमै पर्ने करिब १७–१८ वटा पोल सार्न बाँकी छ,’ शाहीले भने ।
निर्माण व्यवसायी रावतका अनुसार २८ वटा पोल र ४ ठाउँमा रहेका ‘स्टे’ तथा हाइटेन्सन लाइनले काममा बाधा पुर्याइरहेका छन् । पोल नभएको क्षेत्रमा काम भइरहेको र पोल हटाइदिए १५ दिनदेखि एक महिनाभित्र अन्यत्र पनि काम सुरु गर्ने तयारी रहेको उनले बताए ।
खम्बागाडे सडकको अनुगमन पश्चात् पञ्चपुरी नगरपालिकाको मुकाम बाबियाचौरमा खाना खाएर मुख्यमन्त्री कँडेल दक्षिण पश्चिमतर्फको बाबियाचौरदेखि कुइनेसम्मको सडक अनुगमनमा निस्किए ।
_wjHLpQClr7.jpg)
बाबियाचौरदेखि कर्णाली नदीको किनार कुइनेसम्म दुई वटा खण्डमा काम भइरहेको छ । कुइनेदेखि यता ९ किलोमिटरसम्मको प्याकेजमा जलजला निर्माण सेवाले काम गरिरहेको छ । करिब १४ करोड लागतको यो सम्झौतामा हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ । पहिलो कोटमा देखिएका त्रुटि सच्याएर यसै वर्ष दोस्रो कोटको काम सम्पन्न गरिने निमित्त निर्देशक शाहीले बताए ।
त्यस्तै, अर्को ९ किलोमिटर (बाबियाचौरतर्फ) खण्डमा अनक जयदेवीले नै काम गरिरहेको छ । त्यहाँ पनि पहिलो चरणको काम सकिएको र सुधारसहित दोस्रो चरणको काम सम्पन्न गर्ने गरी काम भइरहेको पाइयो । यो सडक अन्तर्गतका केही खोलामा पुलको काम भइरहेको छ भने केहीमा टेन्डरको प्रक्रियामै छ ।
त्यस्तै कँडेलले सोही सडकमा पर्ने तिखाकुना खोलाको पक्की पुलको अनुगमन गरे । ५ करोड १३ लाख लागतमा बन्दै गरेको उक्त पुल गत साउनमा सम्झौता भई काम सुरु भएको हो । ०८४ जेठमा सम्पन्न गर्ने लक्ष्य राखिए पनि काम रफ्तारमै भइरहेकाले त्यसअघि नै सम्पन्न हुने देखिएको ठेकदार कम्पनी यती बिल्डर्सका प्रतिनिधिले सुनाए ।
त्यसपछि मुख्यमन्त्री कँडेल लखारपाटा–खम्बागाडेको नयाँ सडकको भइरहेको कामको अनुगमनमा निस्किए । ५ करोड १० लाख बराबरको बजेटमा बन्दै गरेको उक्त सडकको सम्झौता ०८१ माघमै भएको हो । सम्पन्न गर्नुपर्ने मिति ०८३ असारसम्म छ ।
मुख्यमन्त्री कँडेलका अनुसार, १० किलोमिटरको दुरी रहेको यो सडक चौकुने गाउँपालिकास्थित सूर्यतारा सिमेन्ट उद्योगका लागि आवश्यक कच्चा पदार्थ (लखारपाटाबाट) ढुवानी गर्न कर्णाली प्रदेश सरकारले बनाइदिन लागेको हो ।
यो आयोजनामा हालसम्म ३५ प्रतिशत प्रगति भएको छ । ७ किलोमिटर ट्रयाक खुलिसकेको र बाँकी ३ किलोमिटर ट्रयाक खोल्ने तथा ग्राभेलिङ गर्ने काम यसै वर्ष सम्पन्न गरिने लक्ष्य छ । अन्य आयोजनामा सन्तुष्टि जनाएका मुख्यमन्त्री कँडेलले यो आयोजनामा भने त्यति सन्तुष्टि जनाएनन् । ‘कामको रफ्तार अझै बढाउनुहोस्,’ निर्देशकसँग उनले भने ।
_MJyg9DcfVG.jpg)
उद्योगका लागि प्रदेश सरकारले आवश्यक सडक, खानेपानी लगायतका पूर्वाधारका काम गरिदिन लागेको मुख्यमन्त्री कँडेलले बताए । त्यसपछि उनी बराहताल गाउँपालिकाको हुर्केदेखि–तरङ्गा जोड्ने सडकको अनुगमनमा निस्किए ।
बहुवर्षीय तथा केन्द्र र प्रदेश सरकारको सहलगानीमा बन्दै गरेको उक्त सडक साविक तरङ्गा गाविसका झन्डै ७०० घरधुरीको भाग्य र भविष्यसँग जोडिएको सडक हो । राजधानी वीरेन्द्रनगर नजिकै रहे पनि यो क्षेत्र निकै दुर्गम छ । ५० को दशकमै ट्रयाक खोलिएको यो कच्ची सडकको धुलो, धुवाँ र पानी पर्दाको हिलोले निकै सास्ती दिइरहेको छ । अहिले त्यहाँ खड्का कृष्ण/श्याम, शंकर जेभीले निर्माणको काम गरिरहेको छ ।
०८३ असार १५ गतेसम्म हुर्केदेखि क्युरेनीसम्म कालोपत्रे गरिसक्ने लक्ष्यका साथ काम भइरहेको ठेकदार कम्पनीका प्रतिनिधिले जनाए । अहिले हुर्केदेखि बरडाँडाको खण्डमा कालोपत्रे काम भइरहेको छ । ६१ करोड ५९ लाख लागत रहेको यो सडकमा पनि द्रुत गतिमा काम भइरहेको भन्दै मुख्यमन्त्री कँडेलले खुसी व्यक्त गरे । निर्माण कम्पनीका प्रतिनिधिले जसरी पनि समयमै काम सक्ने प्रतिबद्धता जनाए ।
_DnnmqAdAx6.jpg)
यस्तैगरी, पश्चिम सुर्खेतकै जंगलाघाटदेखि बाबियाचौरसम्मको करिब ३०–३२ किलोमिटर सडक खण्डका लागि २० करोड रुपैयाँको स्रोत सुनिश्चित भई टेन्डरको तयारी भइरहेको निर्देशनालयले जनाएको छ । यी सबै आयोजनाको अनुगमन पश्चात् मुख्यमन्त्री कँडेलले कामको गति राम्रै रहेको समीक्षा गरे । ‘पटक–पटकको निर्देशन र ताकेता पश्चात् काम धमाधम भएको पाइयो,’ उनले भने, ‘ठेकदार साथीहरूलाई मेरो आग्रह छ– काम गर्नुहोस्, भुक्तानीको कुनै समस्या छैन । समस्या भए सिधै म कहाँ आउनुहोस् ।’
बिहान ७ बजे वीरेन्द्रनगरबाट अनुगमनमा निस्किएका मुख्यमन्त्री कँडेल अपराह्न ५ बजे वीरेन्द्रनगर फर्किए । अनुगमनका क्रममा उनले स्थानीयसँग समेत विकास निर्माणको विषयमा चासो राख्नेदेखि लिएर सोधपुछ गर्ने काम गरे । साथै, पूर्वाधारबाट लाभान्वित स्थानीय जनप्रतिनिधिहरूसँग पनि उनले सोधपुछ गर्नुका साथै आफ्नो क्षेत्रमा भइरहेको कामबारे ध्यान दिन निर्देशन दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण