शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

नयाँ क्रियाशील सदस्यता वितरण : १८ देखि ३० वर्षका व्यक्ति प्राथमिकतामा

बिहीबार, २५ मङ्सिर २०८२, १७ : १५
बिहीबार, २५ मङ्सिर २०८२

काठमाडौँ । नेपाली कांग्रेसले १८ देखि ३० वर्ष उमेर समूहका युवाहरूलाई प्राथमिकता दिएर पार्टीको नयाँ क्रियाशील सदस्यता वितरण गर्न मातहतका पार्टी निकायलाई निर्देशन दिएको छ ।

महामन्त्री गगन थापामा १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका क्षेत्रीय समितिलाई बिहीबार परिपत्र गर्दै युवाहरूको प्रतिनिधित्वलाई प्राथमिकतामा राखेर नयाँ क्रियाशील सदस्यता वितरण गर्न निर्देशन दिएका हुन् ।

पुस २६, २७ र २८ गते पार्टीको १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको कांग्रेसले महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता वितरण प्रक्रिया सुरु गरेको छ ।

पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक रहेका महामन्त्री थापाले महाधिवेशनको कार्यतालिकालाई ख्याल राख्दै नयाँ क्रियाशील सदस्यता वितरणको काम तत्काल अघि बढाउन परिपत्र गर्दै निर्देशन दिएका हुन् ।

वडाको जनसङ्ख्या र मतदाता सङ्ख्यालाई आधार मानी महिला, आदिवासी जनजाति, दलित, मधेसी, खस आर्य, थारु, मुस्लिम, अल्पसङ्ख्यक, सीमान्तकृत र अपाङ्गता भएका व्यक्तिको जनसङ्ख्यालाई मध्यनजर गरी समानुपातिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न थापाले परिपत्रमा निर्देशन दिएका छन् ।

समाजमा प्रतिष्ठित बुद्धिजीवी, पेसाकर्मी र सामाजिक अभियन्ताहरूलाई पनि सदस्यता वितरणमा प्राथमिकता दिन उनको निर्देशन छ ।

थापाले परिपत्रमा सदस्यता वितरण र नवीकरणका लागि समयसीमा पनि तोकिएका छन् । सदस्यता वितरण गरी सूची, फारम र शुल्क मंसिर २९ गतेसम्म वडा कार्यसमितिले गाउँ/नगर कार्यसमितिमा बुझाउनुपर्ने समय तोकिएको छ ।

गाउँ/नगर कार्यसमितिले पुस २ गतेभित्र प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई, प्रदेशसभा क्षेत्रीय कार्यसमितिले पुस ४ गतेभित्र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले पुस ८ गतेभित्र जिल्ला कार्यसमितिलाई अन्तिम नामावली बुझाउनुपर्ने समयसीमा कार्यतालिकामा तोकिएको छ ।

परिपत्रमा एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाले पुस १० गतेभित्र र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाले पुस ११ गतेभित्र केन्द्रीय कार्यालयमा विवरण पठाइसक्नुपर्ने समयसीमा छ ।

परिपत्रमा पार्टी विधान, २०१७ (संशोधन सहित) को धारा ४ बमोजिम योग्यता पुगेका कुनै पनि व्यक्तिलाई सहज रूपमा सदस्यता प्रदान गर्न भनिएको छ । ‘कुनै पनि योग्य व्यक्तिलाई सदस्यताबाट वञ्चित नगर्ने,’ थापाले परिपत्रमा लेखेका छन् ।

निर्वाचनमा पार्टीलाई सघाउने, पार्टीका कार्यक्रममा सक्रिय रहने तथा अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गरेका व्यक्तिहरूलाई अनिवार्य रूपमा क्रियाशील सदस्यता उपलब्ध गराउन पनि परिपत्रमा थापाले निर्देशन दिएका छन् ।

थापाले नयाँ क्रियाशील सदस्यको नामावली ‘इन्ट्री’ गर्नका लागि अनलाइन प्रणालीको व्यवस्था गरिएको र क्षेत्रीय सभापतिहरूलाई अनलाइन आईडी र पासवर्ड उपलब्ध गराइने र प्राविधिक समस्या आए सहयोग गरिने उल्लेख गरेका छन् ।

वडा वा तल्लो तहले आग्रह पूर्वाग्रह राखेर विधान बमोजिम योग्यता पुगेका व्यक्तिलाई सदस्यता नदिएमा वा फारम लुकाएमा सम्बन्धित व्यक्तिले पालिका कार्यसमितिमा उजुरी दिन सक्ने व्यवस्था गरिएको पनि परिपत्रमा उल्लेख छ । 

तल्लो तहले सदस्यता नदिएमा केन्द्रीय समितिले वैकल्पिक प्रबन्ध गरेर सदस्यता दिने समेत महामन्त्री थापाले परिपत्रमा उल्लेख गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप