पालिकास्तरीय बाल कचहरीः बालविवाह अन्त्य गर्न माग
म्याग्दी। धवलागिरि गाउँपालिका–३ मुनामा आइतबार सम्पन्न पालिकास्तरीय बाल कचहरीबाट बालअधिकारको सुनिश्चितता, संरक्षण तथा प्रवर्द्धन र बालविवाह न्यूनीकरणका लागि १० बुँदे घोषणापत्र जारी भएको छ।
बाल क्लबका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षक सम्बद्ध सङ्घसंस्था र सरोकारवालाहरूबीच गाउँपालिकामा बालबालिकासम्बन्धी समस्या र समाधानका उपायमा छलफल गरेर घोषणापत्र जारी गरिएको हो।
घोषणापत्रमा बालविवाह, विभेद, बाल मजदुर जस्ता सामाजिक कुसंस्कारका विरुद्ध सामूहिक आवाज उठाउन र त्यस्ता घटनाको न्यूनीकरणमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, बालबालिकाको बाँच्न पाउने, संरक्षण, विकास र सहभागिताको नैसर्गिक अधिकारको परिपालनामा संवेदनशील र कार्यान्वयनमा प्रतिबद्ध रहने उल्लेख छ।
घोषणापत्रका मुख्य प्रतिबद्धताहरू:
- विद्यालयमा बालमैत्री वातावरण र भौतिक संरचनालाई बालमैत्री बनाउने।
- विद्यालयमा सरकारले उपलब्ध गराउने सेनेटरी प्याडको गुणस्तरीयतामा ध्यान दिने।
- बालविवाह गर्ने र गराउनेलाई कानुनी दायरामा ल्याउने।
- गुणस्तरीय शिक्षा कायम गराउने।
- बालबालिकामा अन्तर्निहित प्रतिभा प्रस्फुटनको अवसर दिलाउने।
- विद्यालयमा दिवा खाजालाई पोषणयुक्त र आत्मनिर्भर बनाउन विद्यालयमै करेसाबारी बनाउने।
- विद्यालय तथा समुदायमा हुने सबै किसिमका विभेद तथा भेदभावविरुद्ध शून्य सहनशीलताको रणनीति अपनाइने।
गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नं ३ का अध्यक्ष देवेन्द्र रोकाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बालअधिकारको संरक्षण र बालविवाह न्यूनीकरणमा जोड दिएको बताए। उनले दिवाखाजा र छात्राबासका लागि आवश्यक तरकारी विद्यालयमै उत्पादन गर्ने अभ्यास सुरु भएको जानकारी दिए।
कार्यक्रममा धवलागिरि मावि मुना, बुद्धि विकास मावि मुदी, लमसुङ, हेम नमूना आवासीय मावि र ताकम माविका छ–छ जना विद्यार्थीले जनप्रतिनिधि र सरोकारवालालाई गाउँपालिकामा बालअधिकारसम्बन्धी कार्यक्रम, बालविवाह न्यूनीकरण, विपन्न विद्यार्थीको शिक्षामा पहुँच, शैक्षिक गुणस्तर लगायतका विषयमा जिज्ञासा राखेका थिए।
गाउँपालिकाका उपाध्यक्ष पुन, सामाजिक विकास समितिका संयोजक रोका, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा, स्वास्थ्य शाखा प्रमुख सम्झना खाती, शिक्षा शाखा प्रमुख ख्यामराज सुवेदी, महिला बालबालिका शाखाका पुष्पा दवाडी, ताकम प्रहरी चौकीका प्रमुख विक्रम तिवारीले विद्यार्थीका जिज्ञासाको जवाफ दिएका थिए।
गुड नेवर्स इन्टरनेसनलको आर्थिक तथा प्राविधिक सहयोगमा सङ्गम म्याग्दीद्वारा सञ्चालित एकीकृत विकास परियोजनाको आयोजनामा भएको कार्यक्रममा रामबहादुर रावतले बालअधिकारको अवस्था, चुनौती र आवश्यकताका विषयमा सहजीकरण गरेका थिए। सङ्गम म्याग्दीले सन् २०१३ देखि धवलागिरि गाउँपालिकामा एकीकृत विकास परियोजना सञ्चालन गर्दै आएको छ। सङ्गमले गल्र्स फस्ट फण्डको सहयोगमा धवलागिरि गाउँपालिकामा बालविवाह न्यूनीकरणसम्बन्धी छुट्टै अर्को कार्यक्रम पनि सञ्चालन गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण