सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल फुड फोरम-२०२५ : ‘कृषि रूपान्तरणको मेरुदण्ड युवा’

सोमबार, २९ मङ्सिर २०८२, १६ : १४
सोमबार, २९ मङ्सिर २०८२

काठमाडौँ । ललितपुरमा नेपाल फुड फोरम-२०२५ भएको छ । नेपालको कृषि खाद्य प्रणालीलाई समावेशी, जलवायु अनुकूल र लगानीमैत्री बनाउने भन्दै फोरमको आयोजना भएको हो ।

फोरमले युवालाई कृषि क्षेत्रको रूपान्तरणकारी शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को संयुक्त आयोजनामा भएको कार्यक्रममा सरकारी अधिकारी, युवा नवप्रवर्तक र विकास साझेदारहरूले युवाको भूमिकालाई केन्द्रमा राखेर छलफल गरेका थिए ।

‘युवा नै कृषिको भविष्य’

कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले युवाहरू नेपालको कृषि क्षेत्रको मेरुदण्ड भएको बताए । उनले सरकारले घोषणा गरेको कृषि लगानी दशकलाई सफल बनाउन युवाको भूमिका निर्णायक हुने उल्लेख गरे । मन्त्री परियारले भने, ‘उत्पादन, प्रतिस्पर्धा र दिगोपनमा सुधार ल्याउन युवाको भूमिका महत्त्वपूर्ण छ ।’

सरकारले सकारात्मक नीति, उद्यमशीलता प्रवर्द्धन, सीप विकास तथा वित्तीय र बजार पहुँचमार्फत युवाका लागि उपयुक्त वातावरण सिर्जना गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

अन्तर्राष्ट्रिय दृष्टिकोण : युवा लाभार्थी होइन, साझेदार र नेता हुन्

एफएओका नेपाल तथा भुटान प्रतिनिधि केन शिमिजुले युवाहरू अब विकासका लाभार्थी मात्र नभई रूपान्तरणका प्रमुख साझेदार र नेता भएको धारणा राखे । उनले युवामा रहेको नवप्रवर्तनशील सोच र उद्यमशील ऊर्जाले जलवायु परिवर्तन, खाद्य असुरक्षा र ग्रामीण बेरोजगारीजस्ता चुनौतीहरूको सामना गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । शिमिजुले युवा नेतृत्वको कृषि व्यवसाय र हरित रोजगारीमा लगानी गर्नु दिगो खाद्य प्रणाली निर्माणको आधार भएको बताए ।

युवा उद्यमीका आवाज र आवश्यकता

फोरममा युवा उद्यमीहरूले आफ्ना नवीन कृषि व्यवसाय र प्रविधिहरू प्रस्तुत गरेका थिए । उनीहरूले आफ्ना प्रयासलाई विस्तार गर्न वित्तीय पहुँच, इन्क्युबेसन सहयोग र नीतिगत सहजताको आवश्यकता रहेको औँल्याए । फोरमका विभिन्न सत्रहरूमा डिजिटल प्रविधिको प्रयोग, प्रकृतिमैत्री कृषि अभ्यास लगायत विषयमा छलफल भएको थियो ।

कार्यक्रममा ठुलो अलैँची, अदुवा, हिमाली मह र याक चीजजस्ता उच्च मूल्यका वस्तुहरूको मूल्य श्रृङ्खलामा लगानीका अवसरहरू पनि प्रस्तुत भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप