आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘बोन्डाई बिच’ हत्याकाण्डमा के भएको थियो ?

मङ्गलबार, ०१ पुस २०८२, १२ : २१
मङ्गलबार, ०१ पुस २०८२

सारांश

  • सिड्नीको बोन्डाई बिचमा यहुदी समुदायमाथि गोली चल्दा १५ जनाको मृत्यु र दर्जनौं घाइते भए।
  • १९९६ को पोर्ट आर्थर नरसंहारपछिको सबैभन्दा घातक घटना मानिएको यस हमलामा दुई आक्रमणकारीमध्ये एक जना पक्राउ परे।
  • प्रधानमन्त्रीले यस घटनालाई आतंकवादी हमलाको संज्ञा दिए, बन्दुक कानुन कडा बनाउने प्रतिबद्धता जनाए।

सिड्नी । यसै अक्टोबरको १४ तारिखमा अस्ट्रेलियाको सिड्नीमा रहेका यहुदी धर्ममा आबद्ध केहि मानिस पूर्वी सिड्नीको परिधि क्षेत्रमा रहेको ‘बोन्डाई बिच’ नजिकै रहेको आर्चर पार्कमा भेला भएका थिए । करिब एक हजार हाराहारी सङ्ख्यामा उपस्थित रहेका उनीहरू यहुदीहरूको पर्व ‘हानुक्काह’ को सामूहिक रूपमा पहिलो दिन मनाउनका लागि उल्लसपूर्वक भेला भएका थिए । त्यहाँ ‘हानुक्काह बाई त सी’ नामको सामुदायिक कार्यक्रम चलिरहेको थियो । 

एकाएक भिडलाई लक्षित गरेर गोली चल्न थाल्यो । गोली लागेर एक जना नाबालकसहित १५ जना मारिए र चार दर्जन हाराहारी घाइते भए । सामूहिक गोलीकाण्डका घटना बिरलै हुने गरेको अस्ट्रेलियामा ‘बोन्डाई बिच’ को हत्याकाण्डले संसारभर सनसनी फैलाएको छ । 

यो घटनालाई सन् १९९६ को ‘पोर्ट आर्थर नरसंहार’ पछिको इतिहासमा अस्ट्रेलियाकै सबैभन्दा घातक सामूहिक गोलीकाण्ड तथा आतङ्कवादी हमला मानिएको छ ।

6

  • घटनास्थलमा के भएको थियो ?

१४ तारिखको दिन ढल्कँदै गर्दा नदी किनारामा मानिस उल्लासपूर्वक चाडपर्व मनाउनमा व्यस्त थिए । आफ्नै सांस्कृतिक गतिविधि तथा भेटघाटमा व्यस्त रहेकाहरूलाई सम्भावित गोलीकाण्डबारे कुनै अनुमान थिएन । उनीहरू आफ्नै खुसीयालीमा मस्त थिए । त्यसैबिच नजिकै रहेको पैदलयात्रीका लागि बनाइएको पुलमा कालो लुगा लगाएका दुई जना व्यक्ति आइपुगे । 

उनीहरुले त्यही पुलबाट भीडमाथि अन्धाधुन्ध गोली चलाउन थाले । उनीहरुले करिब ५० भन्दा बढी गोली प्रहार गरेको प्रारम्भिक अनुमान गरिएको थियो । अनुसन्धानको क्रममा एक सय तीन गोली प्रहार भएको पुष्टि भएको छ । 

1

गोली चल्दै गर्दा एक जना निहत्था सर्वसाधारणले साहसिक रूपमा आक्रमणकारीलाई नियन्त्रणमा लिएर उसको हतियार खोसेकाले गोलीकाण्डमा थप हताहत नभएको प्रहरीले जनाएको छ । आक्रमणकारीबाट बन्दुक खोस्ने व्यक्ति अहमद अल अहमद मुस्लिम समुदायका व्यक्ति थिए । 

उनको साहसी कामले ठुलो क्षति टरेको प्रहरीले जनाएको छ । घटनाको केही बेरमै प्रहरी सक्रिय भएर जवाफी कारबाही थालेको थियो । प्रहरीको कारबाहीमा एउटा आक्रमणकारीको घटनास्थलमै मृत्यु भयो भने अर्का आक्रमणकारी पक्राउ परेका छन् । 

घटना लगत्तै प्रहरीले अनुसन्धान तीव्र पारेको छ । आक्रमणकारीको कारमा घरेलु बम फेला परेको पनि प्रहरीले जनाएको छ । यसलाई समेत आधार मान्दै उक्त हमला अझै ठुलो योजनाको हिस्सा हुन सक्ने आशङ्का गरिएको छ ।

अस्ट्रेलियामा विश्वकै कडामध्ये एक मानिने बन्दुक कानुन लागू छ । सन् १९९६ मा भएको ‘पोर्ट आर्थर’ घटनापछि त्यहाँ अर्धस्वचालित हतियारको प्रयोगमा कडाइका साथ प्रतिबन्धित पनि लगाइएको छ । ठुलो स्तरका गोलीकाण्डका घटनाहरू ज्यादै कम भएका थिए । 

3

तर पछिल्लो बोन्डाई आक्रमणले भने, कडा कानुन लागू हुँदा पनि जोखिम भने शून्य हुँदैन भन्ने देखाएको छ । यो काण्डको चिन्ताजनक पक्ष त अझै के छ भने, दुई आक्रमणकारीमध्ये एक जना ‘वैधानिक बन्दुकधारी क्लब’ कै सदस्य रहेको खुलेको छ ।

उनले आफ्नै नाममा दर्ता गरिएका हतियार प्रयोग भएको आशङ्का गरिएको छ । यसले त्यहाँ हतियार अनुमति प्रणाली, निगरानी तथा उग्रवादीको पहिचान गर्ने राज्य संयन्त्रको प्रभावकारितामाथि प्रश्न खडा गरिदिएको छ । 

बोन्डाई क्षेत्र सिड्नीको यहुदी समुदायको केन्द्र मानिन्छ । मध्यपूर्वमा इजरायलले गाजा युद्ध सुरु गरेयता अस्ट्रेलियामा यहुदी समुदायविरुद्ध आक्रमण र धम्की बढ्दै गएका रिपोर्टहरू आइरहेका थिए । यही पृष्ठभूमिमा ‘बोन्डाई’ गोलीकाण्ड भएको अनुमान गरिएको छ । सन् २०२४ मै अस्ट्रेलियाले राष्ट्रिय आतङ्कवादको खतराको स्तर बढेर गएको जनाएको थियो ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले यस घटनालाई ‘अस्ट्रेलियाली यहुदी लक्षित आतङ्कवादी हमला’ भनेका छन् । साथै बन्दुक सम्बन्धी कानुन थप कडा बनाउने प्रतिबद्धता पनि जनाएका छन् । सङ्घीय मन्त्रीपरिषद्ले बन्दुकको स्वामित्वमा थप प्रतिबन्ध लगाउँदै ‘राष्ट्रिय बन्दुक दर्ता प्रणाली’ लागू गर्ने कामलाई तीव्र गतिमा अघि बढाएको छ ।

यसैबिच विश्वभरका नेताहरूले हत्याकाण्डको निन्दा गर्दै यहुदी विरुद्धको घृणा र आतङ्कवादविरुद्ध साझा लडाइँको आवश्यकता रहेको औँल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप