बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आईपीएल २०२६ अक्सनः क्यामरन ग्रीनले बनाए कीर्तिमान, वेंकटेश अब बेंग्लुरुमा

मङ्गलबार, ०१ पुस २०८२, १६ : ११
मङ्गलबार, ०१ पुस २०८२

सारांश

  • आईपीएल २०२६ को अक्सनमा अस्ट्रेलियाका क्यामरन ग्रीन आईपीएल इतिहासकै सबैभन्दा महँगा विदेशी खेलाडी बने।
  • कोलकाता नाइट राइडर्सले उनलाई २५ करोड २० लाख भारुमा किनेको छ, जसले मिचेल स्टार्कको रेकर्ड तोडेको छ।
  • वेंकटेश अय्यर, डेभिड मिलर, बेन डकेट र वानिन्दु हसरंगा लगायतका खेलाडीहरू विभिन्न टोलीमा अनुबन्धित भए।

दुबई । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सनमा अस्ट्रेलियाका अलराउन्डर क्यामरन ग्रीनले नयाँ इतिहास रचेका छन् । 

कोलकाता नाइट राइडर्सले उनलाई २५ करोड २० लाख भारुको भारी मूल्यमा खरिद गरेपछि उनी आईपीएल इतिहासकै सबैभन्दा महँगा विदेशी खेलाडी बनेका छन् । उनले यसअघि सन् २०२४ को सिजनमा मिचेल स्टार्कको नाममा रहेको २४ करोड ७५ लाख भारुको कीर्तिमान तोडेका हुन् । अक्सनमा अन्य खेलाडीहरूको बोली लागिरहेको छ । 

भारतीय अलराउन्डर वेंकटेश अय्यरलाई साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले ७ करोड भारु खर्चिएर आफ्नो टोलीमा भित्र्याएको छ । त्यसैगरी दिल्ली क्यापिटल्सले आफ्नो मध्यक्रम बलियो बनाउन दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलर र इंग्ल्यान्डका बेन डकेटलाई समान २–२ करोड भारुमा अनुबन्ध गरेको छ । 

श्रीलंकाका स्पिनर वानिन्दु हसरंगा २ करोड भारुमा लखनउ सुपर जायन्ट्समा गएका छन् भने न्युजिल्यान्डका फिन एलेनलाई पनि कोलकाता नाइट राइडर्सले २ करोडमै खरिद गरेको छ । मुम्बई इन्डियन्सले भने अनुभवी दक्षिण अफ्रिकी विकेटकिपर क्विन्टन डी ककलाई १ करोडको सस्तो मूल्यमा टोलीमा फर्काएको छ । 

महँगा खेलाडीहरू बिक्री भइरहँदा अक्सनको पहिलो चरणमा केही चर्चित नामहरू भने बिक्री हुन सकेनन् । भारतीय ब्याटर पृथ्वी श, न्युजिल्यान्डका भरपर्दा ब्याटर डेभोन कन्वे र इंग्ल्यान्डका लियाम लिभिङस्टोनलाई कुनै पनि फ्रेन्चाइजले खरिद गर्न चासो देखाएनन् ।

लिभिङस्टोन आजको अक्सनमा बिक्री नहुने सातौं खेलाडी बनेका छन् । यद्यपि यी ‘अनसोल्ड’ खेलाडीहरूले अक्सनको अन्तिम चरण वा ‘एक्सिलिरेटेड राउन्ड’ मा खरिदकर्ता पाउने सम्भावना भने बाँकी नै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप