शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अगामी चुनावबाट मधेसीले अधिकार पाउँदैनन्, नयाँ ढंगले संघर्ष गर्नुपर्छ – सीके लाल

शनिबार, ०५ पुस २०८२, १७ : ५४
शनिबार, ०५ पुस २०८२

काठमाडौँ । राजनीतिक विश्लेषक सीके लालले आगामी निर्वाचनबाट पनि मधेसी समुदायले आफ्नो पूर्ण अधिकार प्राप्त गर्न नसक्ने ठोकुवा गरेका छन् ।

मधेस एकता समाजले शनिबार काठमाडौँमा आयोजना गरेको ‘परिवर्तनशील समयमा मधेस’ विषयक विचार मन्थन कार्यक्रममा लालले मधेसीको अधिकारका लागि नयाँ ढंगको संघर्ष आवश्यक रहेको बताएका हुन् ।

विश्लेषक लालले हालैको जेनजी आन्दोलनमा मधेसी युवाहरूको सहभागिता रहे पनि त्यसको उपलब्धिमा मधेस कतै नदेखिएको टिप्पणी गरे । उनले भने, 'जेनजी र सरकारबिच भएको सम्झौतामा मधेसीहरू केवल दर्शक मात्र बने । आन्दोलनमा सहभागी भए पनि मधेसीले त्यसबाट केही पाउन सकेनन्, किनभने राज्यले अझै पनि मधेसीलाई पूर्ण रूपमा नेपाली स्वीकार गरिसकेको छैन ।' 

देशको वर्तमान अवस्था मधेसको अनुकूल नरहेको उल्लेख गर्दै उनले अहिलेको परिस्थिति सन् १९९० को जस्तै रहेको बताए । 'युवाहरू परिवर्तनका लागि सडकमा आएका छन्, तर त्यो परिवर्तन कस्तो हुन्छ भन्ने कुरा सोचनीय छ,' लालले थपे, 'अहिलेको अवस्था मधेसका लागि सहज छैन, अनुकूल समयका लागि केही प्रतीक्षा गर्नुको उपाय देखिँदैन ।' 

संविधानका विषयमा उनले मधेसीको रगतबाट लेखिएको वर्तमान संविधान मधेसीकै पक्षमा नरहेको दाबी गरे । उनले यो संविधानको पुनर्लेखन वा व्यापक संशोधन नभएसम्म मधेसीका अधिकार सुरक्षित नहुने स्पष्ट पारे । आगामी निर्वाचनले मात्रै मधेसका समस्या समाधान नगर्ने बताउँदै उनले अधिकार प्राप्तिका लागि नयाँ ढंगले संघर्ष गर्नुपर्ने बताए । 

मधेसको राजनीतिक भविष्य र नेतृत्वबारे चर्चा गर्दै लालले मधेसमा असल नेतृत्व चाहिने र त्यसका लागि केही समय लाग्ने पनि बताए । 'नेतृत्व र नेता एकैदिनमा जन्मिने कुरा होइन, यसका लागि समय लाग्छ,' उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप