हर्क–रवि भिड्दा पुराना दललाई हाइसञ्चो
सारांश
- रास्वपामा बालेन शाह र कुलमान घिसिङको प्रवेशले कोशी प्रदेशमा हर्क साम्पाङलाई चुनौती दिएको छ।
- हर्क साम्पाङले रास्वपाका नेताहरूलाई सहकारी ठगी र एमसीसीको मतियारको आरोप लगाएका छन्।
- विश्लेषकहरूका अनुसार रास्वपा र साम्पाङबीचको प्रतिस्पर्धाले पुराना दलहरूलाई फाइदा पुग्ने देखिन्छ।
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा बालेन शाहदेखि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसमेत प्रवेश गरिसकेका छन् । उनीहरूको मिलनले केन्द्रीय राजनीतिमा तहल्का मच्चाउँदा कोशी प्रदेशमा भने हर्क साम्पाङको क्रेज छुट्टै छ ।
कुलमानसँगै विगतमा प्रदेश १ पुनः नामकरण संघर्ष समितिका नेताहरू पनि रास्वपामा गएका छन् । समितिका संयोजक डकेन्द्रसिंह थेगिमदेखि डाक्टर महेन्द्र लावतीसम्म रास्वपामा सामेल भएका छन् ।
सङ्घीयता र पहिचानको विषयलाई स्वीकार गरेर अघि बढ्ने प्रतिवद्धता रास्वपाले जनाएपछि आफूहरू एकमत भएर अघि बढ्ने सहमति जुटेको तत्कालीन उज्यालो पार्टीका केन्द्रीय सदस्य जीतराम लामाले बताए । ‘अब एजेन्डाको विवाद सकियो । मुद्दामा विवाद थियो, त्यो पनि सकियो,’ रातोपाटीसँगको कुराकानीमा उनले भने ।
तर, रास्वपाका लागि उनीहरूको मिलनमात्रै कोशी प्रदेशमा पर्याप्त छैन भन्ने स्पष्ट देखिँदै आएको छ । एकल ढङ्गले श्रम संस्कृति पार्टी निर्माण गरेर देश दौडाहामा रहेका धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले उनीहरूलाई नै चुनौती दिइरहेका छन् ।
साम्पाङले रास्वपाका नेताहरू रवि, बालेन र कुलमानलाई लक्षित गर्दै सहकारी ठग, सिंहदरबार जलाउने र एमसीसीको मतियार भन्दै चुनौती दिइरहेका छन् ।
_SN3Ehnqyfi.jpg)
नेपालका परम्परागत राजनीतिक शक्तिहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको चुनौती धान्नुपर्ने दबाबका बिच रास्वपाका लागि कोशी प्रदेशमा हर्क साम्पाङ अर्को चुनौती बनेको धेरैले बताउँछन् ।
राजनीतिक विश्लेषक भवानी बराल रास्वपा र हर्क साम्पाङको श्रम संस्कृति पार्टीबिच नै आरोप प्रत्यारोप हुँदा पुरानालाई नै स्वाभाविक नाफा हुने बताउँछन् । ‘नयाँ भनिएका पार्टीहरूले ल्याउने मत पुराना दलको अकर्मण्यतमा आउने नकारात्मक मत हुन् । यस्तो मत विभाजित हुँदा पुराना दललाई फाइदा हुन्छ नै,’ बरालले भने, ‘नयाँ भनिएका दलहरू अहिले नै पनि रक्षात्मक नै छन् । यिनीहरू आफैँमा प्रतिस्पर्धा गर्दा हुने नाफा पुरानालाई नै हो ।’
रास्वपामा पहिचानवादी नेताहरूको प्रवेशलाई बराल गम्भीर गल्ती हुनसक्ने बताउँछन् । ‘कम्पासविनाको पहिचानको जहाज लिएर हिँड्दा बर्मुडा खाडीमा जाकिन बेर छैन,’ उनले भने ।

राजनीतिक विश्लेषक डम्बर खतिवडा भने नयाँ र पुराना भन्ने भाष्य नै गलत हुने बताउँछन् । अहिले नयाँ भनिएकाहरू र पुरानामा कुनै अन्तर नरहेको उनको भनाइ छ । ‘नेपालको राजनीतिमा अहिले विचारधारा र एजेन्डा सिद्धिएको छ । चुनावको मुखमा यस्तो हुँदै आएको मैले दुई–तीन वटा चुनावदेखि देखिरहेको छु । ०६४ सालतिर मान्छेहरू होरे होमा लागेर माओवादीतिर कुदे, ७० को दशकमा ओलीलाई राष्ट्रवादी भनेर ठुलो बनाइदिए । अहिले रास्वपाको लहर चलेको छ,’ उनले भने, ‘यो लहरको केन्द्र रास्वपा नभएर बालेन वा कुलमानहरूले आँट गरेको भए अर्को केन्द्र पनि बन्न सक्थ्यो । कुलमान घिसिङ टिकेनन्, उनको आत्मविश्वास नै कम देखियो । एक–दुई दिनमै उनले लत्तो छाडिदिए । अब ती मान्छेहरू (पहिचानवादीहरू) अलपत्र परेजस्तो भए ।’
खतिवडाले डकेन्द्रसिंह थेगिम र महेन्द्र लावतीहरूको प्रवेशले मात्रै पहिचानवादीको मत रास्वपामा नजाने दाबी गरे । ‘मलाई लाग्दैन कि महेन्द्र लावती वा पूर्वको पहिचानको आन्दोलन गर्नेहरू रास्वपामा जाँदैमा त्यहाँको जनमतले साथ दिन्छ । पूर्वको पहिचानको मुद्दा बोकेको समाज र त्यहाँका मतदाताहरू बरु बिस्तारै अरू पार्टीतिर, हर्कतिर वा नेकपातिर आकर्षित हुन सक्छन् । रास्वपाको स्वीकार्यता पहिचानवादी आन्दोलनमा सहज हुन्छजस्तो मलाई लाग्दैन,’ उनले भने ।
_gwL7pXO3aX.jpg)
खतिवडाले नयाँ र पुरानोको बहस नै अर्थहीन रहेको बताए । ‘म त नयाँ र पुरानो भन्ने बहस नै अर्थहीन देख्छु । नयाँ पनि कुनै गतिला देखिँदैनन्, पुराना पनि कुनै गतिला छैनन् । सहकारी ठगलाई नेता मानेर हिँड्नेहरू, नो नट अगेन भनेर पुरानैसँग सरकार बनाउनेहरू, जेल ब्रेक गर्नेहरूलाई आदर्श मान्नेहरूबाट के आशा गर्ने ?,’ उनले भने, ‘फ* यु अमेरिका, फ* यु चाइना, फ* यु इन्डिया’ भन्नेहरूले कस्तो खालको अन्तर्राष्ट्रिय सम्बन्ध बनाउलान् ? कस्तो खालको विदेश नीति र आर्थिक नीति ल्याउलान् ? म त यिनीहरूको कुनै गतिलो आधार देख्दिनँ ।’
सबैको चरित्र एउटै देखिएको जिकिर गर्दै खतिवडाले जसलाई जताबाट हुन्छ छिटो सत्तामा पुग्न पाए, चुनाव जित्न पाए हुन्थ्यो भन्नेमात्र स्वार्थ रहेको प्रस्ट पारे । रास्वपाले कोशीको पहिचानको आन्दोलनलाई खासै फाइदा नपुर्याउने उनको दाबी छ ।
साम्पाङको श्रम संस्कृति पार्टीले कोशी प्रदेशका १४ वटै जिल्लामा सार्वजनिक सभाहरू गरिरहेको छ । त्यसको तुलनामा रास्वपाको गतिविधि देखिँदैन । बरु पुराना पार्टीहरूकै गतिविधि बढिरहेको छ । हर्क साम्पाङ सहभागी पहाडी भूगोलका कार्यक्रममा ठुलो जनसहभागिता जुट्नुले पुराना दलहरूको संगठनलाई साँच्चै चुनौती दिएको पुष्टि गर्छ । साम्पाङको प्रभाव केवल धरान वा तराईमा मात्र सीमित नभएर पूर्वी पहाडी जिल्लाहरू धनकुटा, तेह्रथुम, सङ्खुवासभा, इलाम, पाँचथर, ताप्लेजुङको कुना–कन्दरासम्म विस्तार भइसकेको देखिन्छ ।
साम्पाङको यो अभियानले पूर्वका ठुला दलहरू एमाले, कांग्रेस र माओवादीलाई मात्रै होइन, नयाँ भनिएकाहरूलाई पनि चुनौती बन्ने निश्चित भएको छ ।
राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेल पनि हर्क साम्पाङको उदय र अभियानले आगामी निर्वाचनमा परम्परागत नतिजा उल्ट्याउन सक्ने संकेत गरेको बताउँछन् । ‘कोशी प्रदेशको विभिन्न ठाउँमा साम्पाङको अभियान राम्रै देखिएको छ । यसपटक मतदाता कुनै पार्टीप्रति पनि प्रतिबद्ध भएर, यो यसको गढ हो भनेर बस्ने अवस्था छैन । मतदाता कतै पनि जान सक्ने अवस्था छ अहिले,’ पोखरेलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
२०२६ विश्वकपमा चम्मिन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण